विश्वकप छनोटको तालिका सार्वजनिक, पहिलो दिन नै नेपालले जिम्बाब्बेसँग खेल्ने

डिसी नेपाल
९ जेठ २०८० १५:४३

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आगामी जुन महिनामा जिम्बाब्बेमा हुने विश्वकप छनोटको समूह विभाजन र तालिका सार्वजनिक गरेको छ । आइसीसीको तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो दिन नै जिम्बाब्बेविरुद्ध खेल्नेछ ।

आइसीसीका अनुसार प्रतियोगिता अर्को महिना जूनको १८ तारिखदेखि सुरु हुनेछ । पहिलो दिन नै नेपालले जिम्बाब्बेको सामना गर्नेछ । खेल स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुनेछ जुन समय नेपाली समयअनुसार दिउँसो पौने १ बजे हो । सोही दिन सोही समयमा अमेरिकाले पनि वेष्ट इण्डिजको सामना गर्नेछ ।

आइसीसीले सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपालसँगै दुई टेष्ट राष्ट्रहरु वेष्ट इण्डिज र जिम्बाब्बेको साथमा अमेरिका र नेदरल्याण्ड पनि छन् । यस्तै समूह बीमा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र युएइ छन् । दुवै समूहले आफ्नो समूहका प्रत्येक टिमसँग एक एक खेल खेलेपछि दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल १८ जूनमा जिम्बाब्बेविरुद्ध खेल्नेछ । त्यसपछि २० जूनमा नेपालले अमेरिकासँग खेल्नेछ । यस्तै २२ जूनमा नेपालले विश्वकपको पूर्व च्याम्पियन वेष्ट इण्डिजको सामना गर्नेछ । २४ जूनमा नेपालले नेदरल्याण्डसँग खेल्नेछ । समूह चरणका ४ खेल खेलिसकेपछि यदि नेपाल आफ्नो समूहमा शीर्ष ३ मा रहन सक्यो भने सुपर सिक्समा प्रवेश गर्नेछ ।

सुपर सिक्सका खेलहरु २९ जूनबाट सुरु हुनेछन् । सुपर सिक्समा यो चरण पुगेका ६ वटै टिमले राउण्ड रोबिन फरम्याटमा ५ वटै टोलीसँग खेल्न पाउनेछन् । सबै टोलीले एक अर्कासँग खेलिसकेपछि अंक तालिकामा शीर्ष २ मा रहने २ टोलीहरु भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् । सुपर सिक्सका खेलहरु सकिएपछि विश्वकपमा छनोट हुन सफल भएका २ टोलीबीच फाइनल हुनेछ । फाइनल ९ जुलाइमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *