विश्वकप छनोटअघि नेपाल एक्लैले मात्रै टेष्ट राष्ट्रसँग अभ्यास खेल खेल्न नपाउने

डिसी नेपाल
१० जेठ २०८० १२:१८

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमै नेपालले आयोजक राष्ट्र जिम्बाब्बेसँग खेल्नेछ । जिम्बाब्बे टेष्ट मान्यता प्राप्त राष्ट्र हो ।

आइसीसीले विश्वकप छनोटको प्रतियोगिता सुरु हुनुभन्दा अगाडि सहभागी सबै देशहरुको लागि अभ्यास खेल पनि राखिदिएको छ । यो प्रतियोगितामा कूल १० राष्ट्रहरु खेल्नेछन् । सबैले प्रतियोगिता भन्दा अगाडि २–२ अभ्यास खेल खेल्न पाउनेछन् ।

१० टिममध्ये ४ वटा टेस्ट मान्यता प्राप्त हुन् भने ६ वटा एसोसिएट राष्ट्र हुन् । प्रतियोगिताअघि अरु पाँचवटै देशले कुनै न कुनै टेष्ट राष्ट्रसँग अभ्यास खेल खेल्न पाउने भए पनि नेपाल एक्लैले मात्रै टेष्ट राष्ट्रसँग खेल्न पाउने छैन ।

आइसीसीको तालिकाअनुसार जेठ ३० गते मंगलबार पहिलो अभ्यास खेल हुनेछन् । यसमा वेष्ट इण्डिजविरुद्ध स्कटल्याण्ड, जिम्बाब्बेविरुद्ध ओमान, नेपालविरुद्ध युएइ, श्रीलंकाविरुद्ध युएइ र आयरल्याण्डविरुद्ध अमेरिका खेल्नेछन् । वेष्ट इण्डिज, जिम्बाब्बे, श्रीलंका र आयरल्याण्ड टेष्ट राष्ट्र हुन् तर नेपाल र उसको प्रतिद्वन्द्वी युएइ दुवै एसोसिएट हुन् ।

दोस्रो अभ्यास खेल जेठ ३२ गते बिहीबार हुनेछ । यस दिन नेपालविरुद्ध ओमान, वेष्ट इण्डिजविरुद्ध युएइ, जिम्बाब्वेविरुद्ध स्कटल्याण्ड, आयरल्याण्डविरुद्ध नेदरल्याण्ड र श्रीलं्रकाविरुद्ध अमेरिका खेल्नेछन् । यस्तोमा पहिलो अभ्यास खेलमा नेपाल प्रतिद्वन्द्वी पाएको युएइले पनि दोस्रो दिन टेष्ट राष्ट्र वेष्ट इण्डिजसँग खेल्नेछ । तर, नेपालले दोस्रो दिन पनि एसोसिएट देश ओमान प्रतिद्वन्द्वी पाएको छ । ओमानले पहिलो दिन नै टेष्ट राष्ट्रजिम्बाब्वेसँग खेलिसकेको हुनेछ ।

यस्तोमा ६ वटा एसोसिएट राष्ट्रमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग अभ्यास खेल्न पाउने छैन । यसबाहेक ओमान र युएइले एउटा खेल मात्र टेष्ट राष्ट्रसँग खेल्न पाउनेछन् । अन्य ३ एसोसिएट देशहरु स्कटल्याण्ड, नेदरल्याण्ड र अमेरिकाले भने दुवै अभ्यास खेल टेष्ट राष्ट्रसँग खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *