वडास्तरीय फुटबल : पोखरा-१४ लाई उपाधि
गण्डकी। पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ। पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो।
वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गरे। यामबहादुर खेलको म्यान अफ दी म्याच घोषित भए। विजेता वडा नम्बर १४ ले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्यो।
उपविजेता वडा नम्बर १५ ले रु एक लाख प्राप्त गर्यो। वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भइ रु १५ हजार पुरस्कार पाए।
त्यस्तै वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए। प्रतियोगितामा वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए।
उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ। विजेता खेलाडी तथा प्रशिक्षकलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे। कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भएको उक्त प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडा सहभागी थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment