बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

डिसी नेपाल
१८ जेठ २०८० १३:५०

चन्द्रौटा। कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ। बाणगंगा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो।

बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए।

आज बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार गरिएको थियो। तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएको थियो। उनीहरू दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरूमाथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए। चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते भएका थिए। बमबहादुरको जीतपुरमा उपचारका क्रममा र अञ्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोहन र अञ्जनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ। हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *