आ-आफ्ना कूलधर्म नछोड

पृथ्वीविचार धर्मप्रतिको उदार विचार हो। पृथ्वीविचारले कहिल्यै धार्मिक कट्टरतामा विश्वास गरेन र कहिल्यै तेस्तो निर्देशन दिएन।
आफ्ना परम्परागत राम्रा रितिरिवाज र मानी आएको कूलधर्म नछोड्नु भनेर पृथ्वीनारयणले स्वदेशी धर्म र संस्कृतिको झण्डा दृढतापूर्वक उठाउन सबैलाई आग्रह गरेका हुन्।
आ-आफ्ना धर्म संस्कृतिको रक्षा गर्न आफै दह्रोसँग उभिएर खरोसँग प्रस्तुत हुनुपर्छ भन्ने मान्यता हो नेपाल राष्ट्रका निर्माता एवं हाम्रा बडानेताको।
पृथ्वीविचार आफ्ना परम्परा रीतिरिवाज तथा धर्मसंस्कृतिप्रति गौरव गर्ने विचार हो। पृथ्वीनारायणले नेपाललाई असली हिन्दुस्थाना मानेका छन्। अर्थात नेपाल नबिथोलिएका उदार र पवित्र मन भएका असल हिन्दुहरु रहेको मुलुक मानेका छन्।
यति भन्दा भन्दै पनि उनले नेपाल बहुधार्मिक मुलुक हो भन्ने अर्को यथार्थतालाई विर्सेका पनि छैनन्। त्यसैले उनले धार्मिक स्वतन्त्रतालाई जोड दिएका हुन्।
यो असली हिन्दुस्थाना रहेछ भन्नुको तात्पर्य हिन्दुहरुको मुल पहिचान भएको मुलुक हो भन्ने यथार्थता जाहेर गर्दछ। अर्को शब्दमा भन्दा हिन्दु अधिराज्य नेपाल। आ-आफ्ना कूलधर्म नछोड्नुले अरु धर्मको अस्तित्व र धार्मिक स्वतन्त्रतालाई जाहेर गर्दछ।
ईश्वरप्रतिको आस्था र सुकामको समिश्रण भनेको कूलधर्म हो। राम्रो कामको परम्परा र निरन्तरता सबैको कूलधर्म हो। कूलधर्म छोडनेलाई कसैले राम्रो मान्दैनन्। नबिकौं नझुकौं कसैले पनि कूलधर्म नछोडौं। राष्ट्रनिर्माताको कूलधर्म नछोडको मुल मर्म यही हुनुपर्छ।
यसरी पृथ्वीविचारले सबै धर्मप्रति समान र उदार व्यवहार देखाएकाले पनि नेपालमा धार्मिक सहिष्णुता युक्त संस्कृतिको विकासले निरन्तरता पाउन सकेको थियो। यसरी हेर्दा पृथ्वीविचार सबै धर्म संस्कृतिप्रति समान र सम्मानको सिद्धान्तबाट निर्देशित भएको पुष्टि हुन्छ।
पारस्परिक धर्मको सम्मान र समान व्यवहार पृथ्वीविचारको धार्मिक नीतिको सार हो। पैसा खाएर आफ्नो कूलधर्म छोडने र धर्म फेर्नेलाई सजग गराउछ पृथ्वीविचारले आ अप्mनो कूलधर्म नछोड्नु भनेर।
कूलधर्म भनेको पुर्खादेखि मानी आएको मुलधर्म हो। हरेक समुदायको पुख्र्याैली र मौलिक पेवा धर्म भनेको नै कूलधर्म हो। कूलधर्म मौलिक पहिचान र परिचय पनि हो। यो मौलिक संस्कृति र रीतिरिवाज पहिचान र परिचय पनि हो।
पिँढी दर पिढीको शाश्वत संस्कार र संस्कृति पनि हो कूलधर्म। अनेक आस्थाका धर्मावलम्बीहरुका एक वा अनेक कूलदेवता हुन्छन भन्ने विश्वासमा परम्परादेखि कूलपूजा गर्ने चलन छ धेरै जातजातिका नेपालीहरुमा।
कूलधर्म आस्थाहरुको विविधता हो भने कूलपूजा धार्मिक शैलीहरुको विविधता हो। यो आफैंमा आफ्नोपन र मनका मौलिक आध्यत्मिकताको एकता पनि हो। यो आध्यात्मिक विश्वासले पनि नेपाली समाजलाई अड्याएको छ। मिलेर बस्न अह्राएको छ। यो कूलधर्म नेपाली एकताको कडी पनि हो।
नेपाल राष्ट्रका निर्माता एवं बडानेता पृथ्वीनारायण शाहले यही कडी बुझेर नै नेपालीलाई आ-आफ्नो कूलधर्म नछोड भनेर आह्वान गर्नु परेको हो। उनले देखिरहेका थिए अलिपर भारतमा अंग्रेजहरुसामु कूलधर्म बेच्दै र छोड्दै हिँडेका भारतीयहरुले कसरी आफ्नो स्वतन्त्रता गुमाइरहेका छन् भनेर।
कूलधर्म बेच्नेहरुले राष्ट्रपनि बेच्न सक्छन भन्ने चिन्ता पनि हो राष्ट्रनिर्माताको। आफू हिन्दु धर्मको अनुयाई भए पनि उनले अरुलाई आ–आफनो धर्म छोड्दै हिन्दु होउ त भनेनन्। बरु भने आ आफनो कूलधर्म नछोड।
अहिले उच्च स्वरमा एक नेपालीले अर्को नेपालीलाई भन्नु पर्ने भएको छ कि आफ्नो कूलधर्म नछोड। आफूलाई र आफनो धर्म संस्कृतिलाई नबेच। धर्मनिरपेक्षको माग आन्दोलनमा थिएन।
सवाल उठिरहन्छ के पाएर कूलधर्म छोडे नेताहरुले? नेताहरुले बिगारेको कूलधर्म किन न सच्याउने जनताले? पृथ्वीविचार नपढेका र नबुझेका नेताहरुले कूलधर्म छोडेर नेपालमा धार्मिक द्वन्द्वको आधार तयार गरेका छन्।
नेताहरुले कूलधर्म छोडे पछि केही जनतामा कूलधर्म बेच्ने, छोड्ने घातक प्रवृति बडिरहेको छ। धर्मको मखुन्डो ओढेर आएको विदेशीहरुको खतरनाक राजनीति चाल बुझेर नेपाली जनता आ-आफ्नो कूलधर्ममा दह्रोसँग उभिनु पर्दछ।
कूलधर्मको अर्थ गहिरो र व्यापक छ। कूलधर्म भनेको पुर्खादेखि मानी आएको धार्मिक आस्था र पूजाआजा त हो नै। तर त्यो मात्र कूलधर्म होइन। कूलधर्म भनेको राम्रो कुल परम्परा पनि हो। कुलको राम्रो इमान जमान पनि हो।
इमान्दारिता, देशभक्ति,जनसेवी आदि इत्यादि कुलका सदगुणहरुको निरन्तरता पनि कूलधर्म हो। पुर्खाहरुको राम्रो पहिचान र परिचयको अर्को नाम कूलधर्म हो। त्यसैले म नराम्रो काम गर्दिन भनेर दृढतापूर्वक विश्वास दिलाउने अर्काे शब्दको नाम हो म धर्म छोड्दिन।
अर्थात् कूलधर्म छोड्दिन। पुथ्वीनारायण शाहको बुढा मरे भाषा सरेको मर्म पनि कुलका राम्रा परम्पराहरु पिँढी दर पिँढी सार्दै जाउ भनेको हो। अर्थात् अघिल्ला पुस्ताका सद्गुण पछिल्ला पुस्तामा सार्दै जाउ भनेको हो। कूलधर्मको अर्थ र मर्म यो पनि हो।
कूलधर्म भनेको कर्तव्य पनि हो। राज्यको पनि धर्म हुन्छ। राज्यको धर्म भनेको देश र जनताको हित हेर्नु र गर्नु हो। देश र जनतालाई धोका नदिनु, राष्ट्रघात नगर्नु जनता माथि पक्षपात र अत्यचार नथोपार्नु हो।
राज्यका हरेक अंगहरुले खाने सपथ भनेको नै राज्यको कूलधर्म नछाड्ने प्रतिबद्धता हो। राज्यको धर्म भनेको सुशासन दिनु हो भ्रष्टाचार नगर्नु हो। गरिवी अन्त्य गर्दै समृध्दि दिनु हो। देशको सिमानाको रक्षा गर्नु हो। देशको मौलिक धर्म संस्कृतिको सभ्यताको रक्षा गर्नु हो।
राज्यले आफ्नो कूलधर्म छोड्यो भने यी केही पनि गर्न सक्दैन। कूलधर्म भनेको मूल धर्म र मूल कर्म हो। सर्म छोडेर राज्य कूलधर्म छोडेर भूलधर्ममा गयो भने मूलकर्ममा विचलन आउँछ। पुलिसको काम चोर समाउने हो।
तर पुलिस आफै चोर्न थाल्यो भने बुझे हुन्छ पुुलिसले कूलधर्म छोड्यो। त्यसरी ने सेनाको धर्म सिमानाको रक्षा गर्नुु हो। हरेका काम र व्यवसायका आआफना धर्म हुन्छन्।
जस्तो लेखकको साहित्यकारको धर्म, व्यापारीको धर्म,वकिल, शिक्षक कलाकार व्यापारी आदि यस्ता अनेक तह तप्काहरुको व्यवसायिक इमान्दारीता कर्तव्य बाट विचलित नभै काम गर्नु भनेको नै धर्म नछाड्नु हो।
आदि सबैको व्यवसायिकता र इमान्दारीताको निरन्तता भनेको नै धर्म नछोड्नु हो। जब यो परम्परा र इमान्दारीताको अविराम श्रृंखला भएर आउँछ अनि यो कूलधर्म भएको मानिन्छ।
ईश्वरप्रतिको आस्था र सुकामको समिश्रण भनेको कूलधर्म हो। राम्रो कामको परम्परा र निरन्तरता सबैको कूलधर्म हो। कूलधर्म छोडनेलाई कसैले राम्रो मान्दैनन्। नबिकौं नझुकौं कसैले पनि कूलधर्म नछोडौं। राष्ट्रनिर्माताको कूलधर्म नछोडको मुल मर्म यही हुनुपर्छ।
कूलधर्म मूल्य मान्यता आस्था आदर्श र व्यवहारको समष्टि हो। आफूलाई परधर्ममा बेच्नु भनेको आत्माघात पनि हो परिवार, समाज,समुदाय र राष्ट्रघात पनि हो। कूलधर्म भनेको आफ्नोपन र शुद्धदमन हो। कूलधर्म छोड्नु भनेको आफूलाई र सबैलाई धोखा दिनु हो, विश्वासघात र बेइमान गर्नु हो। पतनमार्ग पक्रनु हो।
इमान्दारीताको विश्वास दिलाउने शब्द हो धर्म। कसैले आफूप्रति विश्वास गराउन जोड दिएर बोल्ने शब्द हो धर्म। म बेइमान गर्दिन धोका दिन्न बोलेको काम इमान्दारी पूर्वक गर्छु भन्ने बाचालाई विश्वास दिलाउन म धर्म छोड्दिन भन्छन् मान्छेहरु। अर्थात् धर्म इमान्दारीताको पर्याय हो। धर्म र कूलधर्मको यसर्थ पनि अर्थ महत्व व्यापक छ।
परहरुको विषालु लड्डु खाएर कसैले पनि कूलधर्म बेच्नु छोड्नु हुँदैन। परहरुले अनेक मुलुकहरुमा धर्मान्तर गराएर सामाजिक द्वन्द्व बढाएका छन्। धर्मको आवरणमा घुसपैठ गरेर अन्तरध्वंस मच्चइदिएर सामाजिक अशान्ति बढाइदिएका छन्।
आफ्ना निहीत राजनीति तथा आर्थिक स्वार्थ पूरा गराएका छन्। त्यो मुलुकको वैभव लुटेका छन्। सभ्यता र संस्कृतिलाई ध्वस्त बनाएका छन्। उपनिवेस बनाएका छन्। योबाट सबैले पाठ सिक्नुपर्दछ। कूलधर्म आफैंमा आन्तिरिक शक्ति हो,देशभक्ति पनि हो।
त्यसैले राष्ट्रनिर्माताले कूलधर्म नछोड भन्नु परेको हो। कूलधर्मबाट देशवासीर्लाइ विचलित गराएर राष्ट्रिय एकताको मूल मर्ममा प्रहार गराउलान् भनेर हाम्रा राष्ट्रनिर्माताले फिरंगी पादरीहरुलाई देश निकाला गरेका थिए।
यी सबै काम उनले सबैको कूलधर्म जुगानुजुग बाँचोस् भनेर नै गरेका थिए। सबैको मौलिक पहिचान जोगिएर नेपालको एकमुष्ठ मौलिक पहिचान जोगियोस् भनेर नै गरेका र भनेका थिए।
उनको विश्वास थियो जन समुदायले आआफना कूलधर्म बचाउन सकेनन् भने राज्यले आफनो धर्म र संस्कृति बचाउन सक्तैन। आफनो धर्म र सांस्कृति बचाउन नसक्ने राष्ट्रले आफूलाई पनि बचाउन सक्तैन। नेपाल अहिले यही खतराको बाटोमा छ।
हाम्रो कूलधर्मको अर्को नाम अटल हिमाल जस्तै उच्च र स्वच्छ नेपाली जातीय तथा अन्तरघुलन सांस्कृतिक एकता र सहकार्य पनि हो सबैमा चेतना भया।
Facebook Comment