बंगलाचुली गाउँपालिकामा ‘एक घर एक रोजगार’ कार्यक्रम

डिसी नेपाल
८ असार २०८० १४:४७
60
Shares

दाङ। दाङको विकट पहाडी गाउँपालिकाका रुपमा चिनिने बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘एक घर एक रोजगार’ कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम सहितका नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको हो । पालिकाले शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । यसअनुसार गाउँपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ ।

यस क्षेत्रका बेरोजगार युवा शक्तिलाई विभिन्न कार्यक्रमका माध्यमबाट रोजगार सिर्जना गरी पालिकाका सम्पूर्ण नागरिकलाई रोजगारीसँग जोड्ने नीति सो पालिकाले लिएको हो । भौगोलिकरुपमा विकट रहेको यस गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम पारित गर्दै आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली बत्ती पु¥याइ गाउँपालिकाको अन्धकारलाई हटाउने संकल्प लिएको जनाएको छ।

पहाडी भूबनोटका कारण अझै पनि धेरै बस्ती क्षेत्र बिजुली सेवाको पहुँच बाहिर रहेकाले अबको दुई वर्षभित्र विद्युतीयकरणको बृहत्तर विकास गरी उज्यालो गाउँपालिका घोषणा गरिने सो कार्यक्रममा राखिएको गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले जानकारी दिए।

गाउँपालिकाले नीति कार्यक्रममा ‘हामी सबैको इच्छाः विद्यार्थीलाई गुणस्तरीय शिक्षा’ भन्ने नारा समेटी विद्यालय जाने उमेर समूहका सवै बालबालिकालाई विद्यालयको पहुँच सुनिश्चित गर्ने जनाएको छ ।

विकासको सूचकमध्येकै महत्वपूर्ण सूचक शिक्षासमेत रहेकाले शैक्षिक विकाससँगै गाउँपालिकालाई समृद्ध बनाउने योजना नीति कार्यक्रममा समावेश गरिएको छ । यसैगरी गाउँपालिकाले कृषिलाई जोड दिँदै ‘बङ्गलाचुली समृद्धिको अभियानःआत्मनिर्भर कृषि र किसान’ भन्ने नारा पनि अघि सारेको छ ।

यसमार्फत पालिकाका वडामा वातावरण र भौगोलिक अनुकूलताका आधारमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

गाउँपालिकाले टिमुर, किबी, कागती, सुन्तला तथा कफी खेतीको पकेट क्षेत्रका रुपमा गाउँपालिकाकै पहलमा अगाडि बढाइने नीति पनि लिएको छ । गाउँपालिकाले उपलब्ध साधन स्रोतको सीमाभित्र रही कृषकलाई उत्पादनमा आधारित अनुदान सहयोगसमेत उपलब्ध गराउने भएको छ ।

बिहीबार गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा सो नीति तथा कार्यक्रम प्रस्तुत गरी सर्वसम्मतिले पारित गरिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *