कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

डिसी नेपाल
१२ असार २०८० २२:४२

दोधारा चाँदनी । कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । “हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लागएका छौँ”, उनले भने, “अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छाँै ।”

उनका अनुसार छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार तीन सय ९३ र पाँच वर्षदेखि १५ वर्षमुनिका एक लाख आठ हजार ६० बालबालिकाले खोप लगाएका हुन् । खोप अभियानका लागि जिल्लाभरिमा पाँच सय ६५ केन्द्र तोकिएको उनले बताए ।

दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई महिनाअघि यहाँको कृष्णपुर नगरपालिकामा ३३ जना दादुरा सङ्क्रमित देखिएपछि स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *