आयतले थला पर्दै गएको अर्थतन्त्र र बदल्ने मन्त्र

खगेन्द्रराज सिटौला
१४ असार २०८० ११:५०

नेपालको एकीकरण चरण अघि बढिरहेको तर सम्पन्न नभइ सकेको अवस्थामा नै नेपालको भावी आर्थिक नीतिको स्पष्ट खाका आइसकेको थियो।

नेपाल एकीकरण अभियानका नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाली अर्थतन्त्रको मुल चरित्र निर्यात मुलक हो र त्यसैलाई जोड दिनुपर्ने नीति विचार अघि सारेको थिए।

अर्थात् नेपाली उत्पादन तथा वस्तुहरु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने र अर्थतन्त्र बलियो बनाउने भन्ने थियो। व्यापार घाटाको अर्थतन्त्र नभएर नाफाको अर्थतन्त्रको पक्षमा थियो स्वदेशवादी अर्थतन्त्रको पक्षपाति पृथ्वीविचार।

तर आज त्यस्को उल्टो भएको छ नेपाली अर्थतन्त्रको दिशा र दशा। हाम्रो निर्यात क्षमता अत्यान्तै कमजोर भएर गएको छ भने असन्तुलित आयतले गर्दा हाम्रो नेपाल विदेशीहरुको बजार भएर गइरहेको छ। जसले नेपालको व्यापार घाटालाई दिन २ गुना रात चौगुना बढाएर लगिरहेको छ। राष्ट्रनिर्माताले भनेको भन्दा ठिक उल्टो आयत गर्नु नगद बाहिर पठाउनु भएको छ। उनको त वस्तु तथा उत्पादन बाहिर पठाएर नगद देशभित्र भित्र्याउनु भन्ने थियो।
राजनीति परिवर्तनको सार र धार भनेको देशको उत्पादन क्षमता र निर्यात क्षमतालाई कमजोर बनाउनु भन्ने त अवश्य होइन वरु हो त्यसलाई झन बलियो बनाएर लानु। तर त्यसो भएको छैन नेपालमा।

हाम्रो उत्पादन क्षमता र निर्यात क्षमता कमजोर भएर गइरहेको छ हरेक राजनीति परिवर्तन पछि। हामी हाम्रै उत्पादनले आत्मनिर्भर भएर निर्यात समेत गरिरहेका उत्पादन समेतमा पर निर्भर भएका छौं।

हिजो निर्यात गरिरहेका वस्तुहरु पनि आज आयत नगरी बाँच्न नसक्ने अवस्थामा गइरहेका छौं। तथ्यांक केलाऔं व्यापार घाटाको उल्टो यात्रालाई सुल्टो बनाउने उपायाको खोजी गरौं। जुन उपायाले नेपाली अर्थतन्त्रलाई बलियो बनाउन सकोस्।

कृषि उत्पादनबाट सुरु गरौं। यता पछिल्लो समयमा नेपालमा विदेशबाट अरबौंको खाद्य पदार्थ आयत भइरहेको छ। भनिन्छ नेपाल कृषि प्रधान मुलुक हो। विडम्बना यही कृषिप्रधान मुलुकमा नै यति धेरै खाद्यान्न आयत गरेर नेपालको व्यापार घाटा बढाउन योगदान दिइरहेको छ।

नेपालको सधैं यो अवस्था थिएन। हिजोका निरंकुश भनिएका राणा शासन र पञ्चायती शासनको समयमा नेपाल यो अवस्थामा थिएन। त्यसबेला नेपालले खाद्य पदार्थ निर्यात गर्दथ्यो। यही खाद्यान्नको निर्यात भएको कारणले त्यसबेला नेपाल अहिले जस्तो व्यापार घाटामा नभएर नाफामा थियो। विगतमा फर्केर हेर्दा यस्तो तथ्यांक हामी देख्न पाउछौं जसलाई पत्याउन गाह्रो पर्दछ।

सन १९१३/१४मा अर्थात् राणाकालमा नेपालको भारतसँगको व्यपार घाटा नाफाको सन्तुलन नेपालको पक्षमा थियो। अर्थात् भारतसँगको व्यापारमा नेपाल नाफामा थियो भने भारत घाटामा थियो।

त्यसबेलाको मूल्यमा नेपालबाट भारतमा ४ करोड भन्दा बढी मुल्यको वस्तुहरु निर्यात भएको थियो भने भारतबाट २ करोड भन्दा बढी मुल्यका वस्तुहरु नेपालमा आयात भएका थिए।

त्यो एउटै आर्थिक वर्षको तथ्यांकले पनि समग्र राणाकालको नेपाल भारत व्यापार आयत निर्यात वा नाफा घाटाको एउटा झलक दिन्छ। राणाकालमा नेपालबाट भारतमा निर्यात हुने प्रमुख वस्तुमा कृषि उत्पादन नै थियो।

अर्थात् तेसबेलामा नेपालबाट भारतमा निर्यात हुने प्रमुख वस्तुहरुमा धान,चावल, दाल, जुट आदि थिए। यसले प्रमाणित गर्दछ कि खाद्यान्नमा नेपाल मुखिया थियो भने भारत दुखिया थियो।

राणकालमा मात्र होइन पञ्चायतकालमा पनि खाद्यन्नको लागि नेपाल मुखिया र भारत दुखिया भएको निरन्तरतालाई जाहेर गर्दछ नेपालको खाद्यान्न निर्यात र व्यापार नाफाको इतिहास र तथ्यांकले।

सन २०२०/२१ मा नेपालको भारतसँगको व्यापारमा नाफा घाटाको सन्तुलन नेपालको पक्षमा थियो। अर्थात् त्यो आर्थिक वर्षमा नेपालले भारतमा गरेको निर्यातले तीन करोड भन्दा बढी नाफा नेपालको पक्षमा थियो।

त्यसबेला नेपालबाट भारतमा ६ करोड जतिको वस्तु निर्यात भएको थियो भने भारतबाट नेपालमा २ करोड ८० लाख भन्दा केही बढीको आयत भएको थियो।

सन् १९७० को दशकसम्म नेपालबाट ठूलो परिणाममा चामल निर्यात गरिन्थ्यो भारतमा। पञ्चायतकालको अन्त्यसम्म पनि नेपालबाट निर्यात भएको धान चावलको परिणाम धेरै नै थियो।

नेपालबाट धेरै धान, चामल, दाल, तेल जुुुट या यसका तयारी सामान आदि भारतमा धेरै नै निर्यात भएको तथ्यांकले बताउँछ। त्यसबेला नेपालका तराइमा धेरै नै ठूल ठूला धान मिलहरु थिए। चौबिसै घण्टा ती मिल चलेका हुन्थे। धान चामल लोड अनलोड भइरहेका हुन्थे।

किसानहरुबाट खरिद गरिएका धानका रासहरु साना साना पहाडका ढिस्का जस्ता देखिन्थे। अर्थात् धान चामलको उत्पादन र व्यापार राम्रैसँग चम्केको थियो नेपालमा।

तर यता पछिल्लो दिनमा आर्थिक उदारीकरणको लहर नेपालमा पसेपछि नेपालको खाद्य बजार सबै विदेशी उत्पादनले ढाकेर लगिरहेको छ। कृषि पेशाबाट नेपालीहरु पलायन भइरहेका छन्। अन्न उत्पादन हुने खेतहरु या त बाँझो भएर बसेका छन् या त प्लटिङ भइरहेका छन्।

भारतलाई खाद्यान्न पठाउने नेपाल आज भारतबाट खाद्यन्न आयत गर्ने भएको छ। भारतबाट खाद्यान्न आयत भएन भने नेपाली भोकै बस्नुुपर्ने अवस्था आएको छ।

केहीवर्ष अघिको अर्थात २०७२/७३ को आर्थिक वर्षमा भारतबाट मात्र नेपालमा करिव २४ अर्ब रुपियाँको चामल भित्रिएको थियो। १० अर्बको मकै भित्रिएको थियो। ५ अर्बको गहु भित्रिएको थियो।

सवा अर्बको माछा भित्रिएको थियो। त्यसरी नै अर्बौंको फलफूल तरकारी भित्रिएको थियो। यसरी भारतबाट मात्रै ४० अर्ब जतिको खाद्यन्न भित्रिएको थियो नेपालमा।

यसरी नेपालमा नै उत्पादन गरेर आत्मनिर्भर हुनसक्ने खाद्य पदार्थमासमेत यति धेरै आयात भएको छ भने नेपालमा उत्पादन नभएका अन्य उत्पादनमा झन डरलाग्दो अवस्था छ।

नेपालमा उत्पादन नहुने सवारी साधन, पेट्रोलियम पदार्थ, कृषि औजार मेसिनरी औजार फलाम तथा स्टिल, औद्योगिक कच्चा पदार्थ आदिको आयतले नेपालको व्यापार घाटा तथा सन्तुलन झनै खराब बनाएको छ।

२०६२/६३ मा भारतसँगको व्यापार घाटा ६६ अर्बको थियो। त्यसबेला नेपालबाट ४० अर्बको सामान निर्यात भएको थियो भने भारतबाट एक खर्ब सात अर्बको सामान नेपालमा आयत भएको थियो। २०७१ सम्म आइपुग्दा भारतसँगको व्यापार घाटा बढेर ६ खर्ब रुपैयाँ पुगि सकेको छ।

०७२ं/७३ को आर्थिक वषर्मा नेपालबाट भारतमा ४१ अर्बको सामान निर्यात भएको थियो भने भारतबाट ६ खर्ब ४१ अर्बको सामान नेपालमा आयत भएको थियो।

अर्थात् त्यो १२ वर्षको अवधिमा भारतीय वस्तुको आयत ५ खर्ब ३५ अर्बले बढिसक्दा पनि नेपालको निर्यात भने एक अर्बले मात्र बढेको पाइन्छ। यसरी भारतीय वस्तुको नेपालमा आयात उच्च दरले बढेको तर नेपालको वस्तुको भारतमा निर्यात कमजोर भएकोले भारतसँगको व्यापार घाटा नराम्रोसंग बढिरहेको छ।

सो वर्ष मात्र भारतसँगको व्यापारघाटा एक खर्ब ६२ अर्बले बढेको देखिन्छ। भारतसँग नेपालको व्यापार घाटा बढाउनेमा पेट्रोलियम पदार्थको पनि प्रमुख योगदान देखिन्छ। एक वर्षमा मात्र भारतबाट एक खर्ब चलिस अर्बको पेट्रोलियम पदार्थ नेपालमा भित्रिएको थियो।

त्यसरी नै ९३ अर्बको फलाम तथा स्टिल, ७५ अर्बको सवारी साधन तथा पाटपुर्जा नेपालमा आयत भएको थियो। कृषि उत्पादनको आयत बारे माथि नै भनिएको छ। गणतन्त्रको उदयपछि नेपाल झन धेरै भारत निर्भर भएर गइरहेको छ।

गणतन्त्रले आर्थिक तथा राजनीति दुबै क्षेत्रमा भारत निर्भर बनाइरहेको छ नेपाललाई। ७४/७५को आर्थिक वर्षमा यो क्रम झन डरलाग्दो भएर बढेको छ। यो क्रम हरेक आर्थिक वर्षमा बढेर गएको छ र यता पछिल्लो वर्षमा त झन डरलाग्दो अवस्थामा छ।

भारतसँगको व्यापार घाटा घटाउने उपाय नेपालले निकालेन भने नेपालले सबै क्षेत्रमा घुँडा टेक्ने दिन टाढा छैन। नेपालको राजनीति क्षेत्र गम्भीर भएर लागेमा भारतसँगको व्यापार घाटालाई नाफामा बदल्न सक्छ।

भारतसँगको व्यापार घाटा बढाउनेमा पेट्रोलियम पदार्थ र खाद्य पदार्थको आयतको निर्णायक योगदान भएको माथिको तथ्यांकले बताइ सकेको छ। नेपालको ध्यान यिनै २ वस्तुको आयत घटाउन सकेमा मात्रै पनि नेपालले भारतसँगको व्यापार घाटामा सुधार गर्न सक्छ।

नेपालको ध्यान यसैमा केन्द्रित हुनु पर्दछ। खाद्यान्न र पेट्रोलियम पदार्थको आयत घटाउने उपाय बारे छलफल बढाऔं जसले यी वस्तुहरुको अनियन्त्रित आयतलाई रोक्न सकियोस र नेपालको व्यापार घाटालाई सन्तुलनमा ल्याउन योगदान दिन सकोस्। कसरी घटाउन सकिन्छ त नेपालमा भारतबाट खाद्यान्न र पेट्रोलियम पदार्थको आयत यसै बारे तल्लो अनुच्छेदमा थप छलफल बढाऔं।

विगतमा नेपालको व्यवसायिक हिसावले परिचय दिँदा नेपाल एउटा कृषि प्रधान मुलुक भनिन्थ्यो। नेपालको राष्ट्रिय आयको र आत्मनिर्भरको बलियो पाटो कृषि उत्पादन नै थियो।

त्यसरी नै हरियो वन नेपालको धन भनिन्थ्यो। अहिले त्यो पनि रहेन। र, नेपाल जलस्रोतको धनी देश भनिन्थ्यो र अहिले पनि जलस्रोत सुकेको छैन। तर नदी माथिको हक भने सुक्दै गएको छ।

कृषि उत्पादनलाई विशेष योजना बनाएर, विशेष अभियान चलाएर सरकारले बढाउने कार्यक्रम ल्याउनु पर्दछ। नेपाललाई व्यापार घाटाबाट उकास्न ४ ज लाई जोड दिनु पर्दछ।

जमिनशक्ति, जलशक्ति, जनशक्ति र जंगलशक्तिलाई एउटै प्याकेजको योजना बनाएर आय र उत्पादनमा जोड्न सकेमा यसले व्यापारघाटा घटाउने मात्र होइन कि नेपाललाई सम्पन्न पनि बनाउन सक्छ।

अझै पनि नेपालमा जलशक्ति छ। त्यसलाई सदुपयोग गर्न नेपालले सकेको छैन। ठूलठूला बाँध बाँधेर जलासय बनाउने पर्याप्त विद्युत उत्पादन गर्ने त्यसैले विद्युत रेल, बस, अन्य सवारी साधन चलाउने रणनीति नेपालले बनाउनु पर्दछ।

त्यो विजुलीले सडकबाट पेट्रोल डिजेल विस्थापित गर्दछ। हरेक चुल्होबाट ग्यास विस्थापित गर्दछ। स्वभाविक छ यसले भारतबाट आउने अर्बौंको पेट्रोलियम पदार्थको आयतलाई विस्थापित गर्दछ। जसले नेपालको व्यापार घाटा घटाउन मदत गर्दछ।

नहरका सन्जाल बनाएर जल ढुवानी सिचाइ एउटै योजनाले दिन सक्छ। यस्ता बाँधहरुले एकैपल्ट माछापालन र पर्यटनलाई व्यवसाय दिएर आम्दानी दिन सक्छ। कृषि उत्पादन बढाउन सक्छ जंगलको हरियाली बढाउन सक्छ। जंगल र जडिबुटी आफैंमा नगद तान्ने र व्यापार घाटा घटाउने माध्यम बन्दछन्।

विदेशमा गएर यति कडा श्रम दिन सक्ने नेपालको जनशक्ति छ। यसलाई सदुपयोग गर्ने राष्ट्रिय आय र उत्पादनमा जनशक्ति लगाउने योजना, कार्यक्रम र वातवरण दिन राज्यले सकेमा निश्चयनै नेपाल व्यापार घाटामा होइन कि नाफामा जान सक्छ। के जवाफ दिने गणतन्त्रले तानशाही राणाशासन र पञ्चायत शासनलाई हामी त व्यापार नाफामा थियौं भारतसंग भन्दा?

राजनीतिमा इमान्दारिता, इच्छाशक्ति र देशभक्ति भयो भने यति धेरै संभावना भएको नेपाल घाटाको नेपाल भइरहँदैन। अहिलेको व्यापार घाटा नेपाली अर्थतन्त्रको डरलाग्दो पाटो हो।

यही क्रम रोकिएन भने नेपाल थला पर्छ। तर नेपालले सही नेतृत्व र योजना र सुशासन प्राप्त गर्न सकेमा नेपाल समृद्ध हुने छ नेपाली सुखी हुनेछन्।

नेपालको हितको दीर्घकालीन आर्थिक रणनीति बनाउन सबै दलहरु एकैठाउँमा बस। त्योसँग सबै जोडिएर आउने छन् विदेश नीति, लगानी नीति, सहयोग नीति, जलस्रोत नीति कृषि नीति आदि सबै।

के राष्ट्रिय सहमतिको अनिावार्य क्षेत्र यो होइन र? तलाई यी पद मलाई यी पद सबैलाई यी सुविधा के को राष्ट्रिय सहमति? आशा गरौं नेताहरुको ध्यान यतातिर तानिने छ। आयतले थला पर्दै गएको अर्थतन्त्रबाट मुक्तिको जुक्ति भनेको नै पृथ्वीविचारको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको पाटो र बाटो नै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *