पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि खुल्यो

डिसी नेपाल
१५ असार २०८० १८:३३
280
Shares

चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि सञ्चालनमा आएको छ । पहिरो खसेसँगै ठप्प भएको सडक पहिरो पन्छाउने काम सकिएसँगै सञ्चालनमा आएको हो ।

आज बिहान साढे ८ बजेदेखि नै दुवै तर्फबाट पहिरो पन्छाउने काम भएकोमा अहिले बेलुका ५ बजेदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले बताए ।

इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाइसकिएको र खसेका पहिरा पन्छाउँदै सडक सञ्चालनमा ल्याइएको बताए।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ ।

दुई वटा एक्साभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । सडक सञ्चालनमा आए पनि सवारीको लामो लाइन भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनले आग्रह गरे।

चौबिस घण्टाभन्दा बढी सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनका यात्रु गन्तव्यतर्फ लागेका छन् । एक तथ्याङ्कअनुसार उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *