आज गुरुपूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

डिसी नेपाल
१८ असार २०८० ७:२५
116
Shares

काठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख छ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ।

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दे गुरुको विशेष सम्मान गरी मनाइँदैछ। आजको दिनमा गुरुलाई भेट्ने सम्मान गर्ने र उपहार दिएर मनाइने प्रचलन रहँदै आएको छ।

विभिन्न पेशाकर्मीहरुले आफ्ना गुरुलाई भेटेर उपहार दिने र आशीर्वाद लिने प्रचलन अझै छ। शैक्षिक संघसंस्थाहरुमा गुरुपूर्णिका विशेष रुपले मनाइन्छ। विद्यार्थी र शिक्षकहरु एक आपसमा भेटघाट गर्ने र शिक्षकले विद्यार्थीलाई आशिर्वाद दिने चलन छ।

गुरु चेलाको सम्बन्धलाई निकै पवित्र सम्बन्ध मानिन्छ। हिन्दु धर्ममा गुरुको विशेष स्थान छ। द्रोणाचार्य, शुक्राचार्य जस्ता गुरुहरुको विशेष स्थान छ । गुरुको आज्ञापालन गर्ने र गुरुको आशिर्वाद पाउन राजा देखि रंकसम्म प्रयास गर्थे भन्ने धर्मग्रन्थहरुमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *