सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्न कांग्रेस प्रचार विभागको निर्देशन

डिसी नेपाल
१८ असार २०८० १८:४५

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस सरकारले गरेका राम्रा कामबारे जनतामाझ पुर्‍याउने निर्णयसमेत भएको छ । ‘विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने’ निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ । विभागले आफ्नै वेबसाइट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने पनि निर्णय गरेको  छ।

‘हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने’ निर्णयसमेत विभागको छ । विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *