अदालतको काममा असर नपर्ने गरी बारको आन्दोलन जारी

डिसी नेपाल
१९ असार २०८० १५:२५

काठमाडौं। नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटिएको घटनामा कानुन व्यवसायीलाई पक्राउ गरिएपछि भएको विरोधमा आज अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने जनाएको छ ।

बारको आन्दोलन चलिरहे पनि आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा कामकारबाही रोकिएको छैन । बारले सोमबार भने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी गरेको थिएन ।

बारका महासचिव अञ्जिता खनालका अनुसार उक्त विवादमा आन्दोलन जारी रहको भए पनि अदालतको कामलाई असर नपर्ने गरी आफ्ना मागहरू यथावत् रहेको र सेवाग्राहीलाई असर नपर्ने गरी खाजा समयमा मात्र विरोध कार्यक्रम गरेको हो।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विषयमा बारले विरोध गरेको हो।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग गरेको छ ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो।

उक्त विषयमा आजै ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्मचारीले सर्वोच्च अदालतमा उक्त विषयमा छलफल समेत गरेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *