प्रधानमन्त्रीपत्नी सीताको काजकिरिया बारे के भन्छ सचिवालय
http://i.imgur.com/OXd4DCk.jpg
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको बुधबार अन्तेष्टि पछि काजक्रिया गर्ने बारे परिवारजनमा अन्योलता देखिएको छ।
उनको बुधबार हिन्दु धर्म संस्कार अनुरुप अन्त्येष्टि गरिए पनि त्यसपछि गरिने काजकिरिया गर्ने बारे प्रधानमन्त्रीको सचिवालयले यस बारेमा कुनै जानकारी गराइएको छैन।
अधिकांश कम्युनिष्ट नेताहरुले आफ्ना परिवारका सदस्य मरणोपरान्त परम्परागत धार्मिक विधि अनुरुप संस्कार गरेको पाइँदैन।
प्रधानमन्त्री दाहालका यसअघि निधन भएका पुत्र प्रकाश दाहाल र पुत्री ज्ञानु दाहालको निधनमा कुनै पनि धार्मिक विधि बमोजिम काजकिरिया गरिएन। यद्यपि अन्त्येष्टि हिन्दु धार्मिक विधि अनुसार नै गरिएको थियो।
बुधबार पत्नी सीताको निधन भएपछि हिन्दु धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो। प्रधानमन्त्रीपत्नीको हैसियतमा उनलाई राजकीय सम्मानसहित सैनिक सलामी अर्पण पनि गरिएको थियो।
तथापि उनको काजक्रिया गर्ने बारे प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी गराएको छैन। उनलाई श्रद्धाञ्जली अर्पण गर्नेहरुका लागि सचिवालयले प्रधानमन्त्री सरकारी निवासमा समय निर्धारण गरेको बुधबार जानकारी गराएको थियो।
कम्युनिष्ट पार्टीका नेताहरु आफूलाई भौतिकवादी बताउँदै नास्तिक भएको दाबी गर्दछन्। उनीहरुले कुनै पनि धर्म पक्षधरता दर्शाउन नहुने सार्वजनिक रुपमा बताउँछन्।
माओवादी उपध्यक्ष कृष्णबहादुर महराको पत्नी सीता महराको निधनमा उनको परिवारले हिन्दु धर्म अनुसार १३ दिनसम्म काजकिरिया गरेका थिए। महराका दुई पुत्रहरुले उनको हिन्दु धार्मिक विधि अनुरुप काजक्रिया गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री पत्नीको अन्त्येष्टि पछिको काजक्रिया गर्ने बारेमा कुनै जानकारी नभएको बताएको छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार हालसम्मै पत्नी सीताको काजकिरियाबारे कुनै तयारी गरिएको छैन।
प्रधानमन्त्रीको पत्नीका हैसियतले समवेदना व्यक्त गर्ने समय निर्धारण गरिएको तर काजकिरियाको बारेमा कुनै तयारी नभएको उनले बताए।







डिसी नेपाल







Facebook Comment