भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध

डिसी नेपाल
४ साउन २०८० ७:१०

काठमाडौं । माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा फेरि अर्को विवादमा तानिएका छन् ।

१० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु लुई हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन छोरा राहुलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइल सम्पर्क गरेपछि भएको प्रहरी अनुसन्धानमा महरा र उनका छोराको चिनियाँ सुन तस्करसँग अस्वाभाविक उठबस देखिएको खुलासा भएको हो ।

महरापुत्र राहुलले प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई मोबाइलमा फोन गरी लिलामी प्रक्रिया’bout चासो राखेको विषय हो, १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) । खासमा व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याइएको भन्दै त्यो ‘भेप’ जफत गरिएको थियो ।

त्यस दिन बिहान ७ः१० बजेदेखि अपराह्न १२ः०० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको यात्रु शाखाको प्रमुखको हैसियतमा श्रेष्ठ ड्युटीमा खटिएका थिए ।

चिनियाँ यात्रु ली हानसोङले लिएर आएको लगेजमा ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट (भेप) रहेको भनी उनलाई ड्युटीमा खटिएकी नासु सुवर्णाप्रभा केसीले जानकारी गराएकी थिइन् । व्यापारिक प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने भन्दै जफत गरिएपछि प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखिएको थियो ।

त्यसको दुई–तीन दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले यात्रु शाखामा आई श्रेष्ठलाई भेटेर सो मालवस्तु तोकिएको राजस्व बुझी जाँचपास गरिदिन भनेका थिए । श्रेष्ठले न्यौपानेलाई जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएका थिए ।

त्यसकोे भोलिपल्ट आफूलाई श्यामसुन्दर साह भनी चिनाउने व्यक्तिले यात्रु शाखामा आई जफत भएको इलेक्ट्रिक सिगरेट (भेप) जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगका लागि ल्याइएको भन्दै राजस्व दाखिला गरी जाँचपास गरिदिन अनुरोध गरेका थिए ।

जवाफमा श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएका थिए । यात्रु शाखाबाट बाहिर निस्केपछि पनि साहले श्रेष्ठलाई मोबाइलमा फोन गरी राजस्व दाखिला गरी जाँचपास गरिदिन पुनः अनुरोध गरेका थिए । भन्सार एजेन्ट न्यौपाने र साहको प्रयास सफल नभएपछि महरापुत्र राहुलले श्रेष्ठलाई मोबाइल सम्पर्क गरेका थिए ।

त्यसबेलाको घटनालाई लिएर त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्रेष्ठले प्रहरीसँगको बयानमा भनेका छन्, ‘आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११११…नम्बरबाट मेरो ९८५७०३५… नम्बरको मोबाइलमा फोन गरी जफत भएको सो इलेक्ट्रिक सिगरेट (भेप) को लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ भनी सोधपुछ गरेकामा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ ।’

महरापुत्र राहुलले जफत गरिएको भेप’bout बढी चासो राख्नुको कारण त्यसभित्र रहेको सुन नै भएको विषय त्यसपछिका दिनमा घटित घटनाबाट पुष्टि भइसकेको छ । इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहका पाँच जनालाई सोमबार मात्रै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

यस प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, कागेश्वरी मनहरा–९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की र पोखरा गैरापाटन बस्ने २२ वर्षीय निर्मलकुमार विक थिए । जसमध्ये अमृत कार्कीलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

यस्तै, यस प्रकरणमा जोडिएका सिन्धुपाल्चोक घर भई कागेश्वरी मनोहरा–९ बस्ने २९ वर्षीय दीपेश बस्नेत, ४२ वर्षीय गोपाल सुवेदी र काभ्रेको बनेपा–१० घर भई थापागाउँ बस्ने ५५ वर्षीय रामकेशव थापा भने फरार छन् ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा राहुलले बारम्बार सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)कै अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध देखिएको र जफत भएको भेप लिलामीमा राहुलले चासो देखाएको समेत उल्लेख छ ।

सिआइबीले यस घटनाको अनुसन्धान गर्ने क्रममा कसको कोसँग सम्पर्क भएको थियो भनेर एउटा चार्ट नै बनाएको छ । सो चार्टमा महराको सम्पर्क शंकास्पद चिनियाँ नागरिकसँग र उनका छोरा राहुलको सम्पर्क अरू चिनियाँ नागरिक र भन्सार अधिकृत श्रेष्ठसँग भएको देखिन्छ ।

तर, अचम्मलाग्दो विषय यो छ कि, सुन तस्करहरूसँग महरा बाबुछोराको प्रत्यक्ष सम्पर्क देखिए पनि सुन तस्करीमा उनीहरूको संलग्नता छ कि छैन भनी प्रहरीले त्यति खोजबिन गरेको पाइँदैन । राहुल आफैंले भन्सार अधिकृतलाई सम्पर्क गरी लिलाम प्रक्रिया’bout चासो राखेका भए पनि उनी सुन तस्करीमै संलग्न छन् कि छैनन् ? भनेर प्रहरीले खोजबिन गरेको समेत देखिँदैन, बयान त टाढाकै कुरा भयो ।

सञ्चारमाध्यममा ती चिनियाँ व्यापारीसँग जोडेर आफ्नो विषयमा समाचार आएपछि पूर्वसभामुख महराले ‘सामान्य चिनजान’को व्यक्ति मात्र भएको प्रष्टीकरण दिएका छन् । तर, भेप बरामद भएको १० पुसदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा पूर्वसभामुख महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको देखिएको छ ।

सुन तस्करीमा संलग्न भनी किटान गरिएका चिनियाँ नागरिक लुईसँग महराले ११ पटक र अर्का तस्कर दाओजिन वाङसँग त्यति नै पटक कुराकानी गरेको देखिएको छ ।

त्यस्तै, सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति वाङ र राहुल महराबीच यस अवधिमा १ सय ९५ पटक कुराकानी भएको पाइएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गर्दा राहुलले वाङलाई १ सय ३१ पटक टेलिफोन सम्पर्क गरेका छन् । वाङले अर्का तस्कर लुईसँग १३ पटक मोबाइलमा कुराकानी गरेका छन् । त्यसैगरी, वाङ र उनका चालक लोकेन्द्र पौडेलबीच ६ सय ५१ पटक कुराकानी भएको पाइएको छ ।

सोही अवधिमा वाङले भन्सार एजेन्ट भनिएका खुवाप्रसाद न्यौपानेलाई ५४ पटक, श्यामसुन्दर साहलाई ५२ पटक टेलिफोन गरेका छन् । साहले वाङलाई २ सय एकपटक टेलिफोन सम्पर्क गरेका पाइएको छ । साह तिनै व्यक्ति हुन्, जो राजस्व तिरेर वा लिलामी मिलाएर भेप छुटाउने भन्दै भन्सार अधिकृतलाई भेट्न गएका थिए ।

सुन तस्कर दाओजिन वाङले लुई, लुईका चालक लोकेन्द्र पौडेल, श्याम साह र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेलगायतलाई समेत बारम्बार सम्पर्क गरेको भेटिएको पाइएको छ ।

नेता महराका छोरा राहुल महराले वाङका चालकसमेत रहेका लोकेन्द्र पौडेललाई ३६ पटक, राहुलले अशिन भन्ने व्यक्तिलाई तीनपटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक सम्पर्क गरेको पाइएको छ ।

वाङका सवारीचालक लोकेन्द्र पौडेल र श्याम साहबीच सो अवधिमा ९३ पटक कुराकानी भएको देखिएको छ । श्याम साह र खुवाप्रसाद न्यौपानेबीच १ सय ३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले अनुसन्धान प्रतिवेदनसहित गोप्य मिसिलमा समावेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा पेस भएको गोप्य मिसिलमा पनि सुन ल्याउने तस्करको समूहसँग महरा बाबुछोराको बारम्बार सम्पर्क भएको कल डिटेल्स रिपोर्ट (सिडिआर) पेस गरिएको छ ।

लुईले तस्करीका लागि दाओजिन वाङ भन्ने व्यक्तिलाई परिचालन गर्ने गरेको र वाङले नेता महरा तथा उनका छोरा राहुललाई बारम्बार सम्पर्क गर्ने गरेको कल डिटेल्स रिपोर्टमा देखिएको छ ।

को हुन् वाङ ?

चिनियाँ व्यापारी दाओजिन वाङ र माओवादी नेता कृष्णबहादुर महराबीचको सम्बन्ध निकै पुरानो रहेको छ । बलात्कार अभियोगमा जेलमा रहेका बेला महरालाई भेट्न वाङ धेरैपटक गएका थिए । उनी सामान्य नेपाली भाषासमेत बोल्ने गर्छन् ।

महरापुत्र राहुल महरासमेतका व्यक्तिहरूको सहयोगमा उनले सुनसरीमा मासु प्रशोधन गर्ने उद्योगसमेत खोलेका थिए । त्यहाँको मासु प्रशोधनपछि चीनसमेत पठाइने गरिएको थियो । तर, सो उद्योगले क्वारेन्टाइनलगायतका समस्या झेलिरहेको थियो ।

उनले उद्योग सञ्चालन गरिरहेका बेला जडीबुटीको तस्करीसमेत सुरु गरेका थिए । प्रतिबन्धित जडीबुटीसहित यार्सागुम्बालगायतका जडीबुटीको तस्करी गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि सरकारले सो उद्योग बन्द गराएको थियो ।

उनी त्यसपछि रेडिमेट कपडाको व्यापारमा लागेका थिए । रेडिमेट कपडा व्यापारमा लागिरहेको बेला उनले भित्रभित्रै सुनको तस्करी गर्ने गरेको प्रहरीको दाबी छ । पछिल्ला दिनमा भने उनी महरापुत्र राहुलसँग निकट थिए । राहुलले नै वाङलाई माओवादी नेताहरूसँग भेटाउने गरेका थिए । तर, राहुल भने वाङसँग आफ्नो सामान्य चिनजान मात्रै भएको बताउँछन् ।

विवादको शृंखला

माओवादी नेता कृष्णबहादुर महरा र विवाद पर्याय जस्तै देखिन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछिको आजका दिनसम्म उनी कयौं विवादमा परिसकेका छन् । चिनियाँ नागरिकसँगको टेप प्रकरण, भुरा माछासम्बन्धी अभिव्यक्ति, लडाकु शिविरको रकम हिनामिना, महिलामाथि बलात्कार आरोपमा उनी मुछिइसकेका छन् ।

२०६७ भदौमा महराले चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो नै सार्वजनिक भएको थियो । प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने भन्दै ५० करोड रुपैयाँ मागिएको अडियोमा सुनिन्थ्यो ।

उनले मूल्य नै तोकेर छिमेकी देशका नागरिकसँग रकम मागेको विषयले त्यसबेला ठूलो चर्चा पाएको थियो । तर, महराले अडियोमा बोल्ने आफू नभएको र प्रविधिको युगमा कसैले त्यस्तो अडियो बनाएको हुनसक्ने भन्दै बचाउ गरेका थिए ।

२०७३ पुसमा अर्थमन्त्री रहेका बेला महराले पोखरामा आयोजित एक कार्यक्रममा त्यतिबेलाको चर्चित ३३ किलो सुनकाण्ड’bout बोल्दै आफू भुरा माछा मात्रै भएको विवादित अभिव्यक्ति दिएका थिए ।

‘पछिल्लो सुन तस्करी काण्डमा मेरो त नाम पनि जोडिएर आएको छ, हामी त फगत पात्र हौं, म सबै कुरा अहिले भन्न चाहन्नँ, यसमा धेरै ठूलाठूला माछा छन्, हामी त भुरा माछा मात्र हुन्छौंं,’ उनले भनेका थिए । उनको यस अभिव्यक्तिले अर्थमन्त्री नै तस्करीमा संलग्न भन्दै विरोध भएको थियो । तर, त्यसले उनलाई कुनै प्रभाव परेन ।

माओवादी लडाकु शिविरको रकम हिनामिना आजसम्म पनि तत्कालीन माओवादी नेतृत्वलाई टाउको दुखाउने विषय बनिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाअघि संसदमै लडाकु शिविरमा कुनै घोटाला नभएको, भएको अवस्थामा आफूले जस्तोसुकै सजाय भोग्ने अभिव्यक्ति पनि दिएका थिए । तर, उनको यस अभिव्यक्तिपछि पनि माओवादी लडाकु शिविरमा घोटाला नभएको भनेर पत्याउने जमात बनिसकेको छैन । शिविर घोटालामा महराको नाम जोडिनुको कारण रकम उनले बुझ्ने गर्थे ।

त्यसपछि उनीमाथि संसदकी कर्मचारीमथि यौन दुव्र्यवहारको आरोप लाग्यो । आरोप लागेपछि सभामुख पदबाटै राजीनामा दिनुपर्‍यो । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पनि पठायो तर पछि उनले सफाइ पाए ।

उनी पहिलोपटक सञ्चारमन्त्री भएका बेला फ्रिक्वेन्सी बिक्री विवादमा पनि परेका थिए ।

भएको के थियो ?

१० पुस २०७९ मा फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक लुई हानसङले ल्याएको लगेजमा ठूलो संख्यामा भेप (विद्युतीय चुरोट) भेटियो । लगेजमा ७३ बट्टामा ७ सय ३० वटा भेप थिए । त्यसपछि भन्सार कर्मचारीले व्यापारिक मालवस्तु हुनसक्ने र भन्सार राजस्व असुल गर्नुपर्ने भनेर रोके ।

ठूलो परिमाणमा भेप देखेपछि प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले कर्मचारीलाई जफत गर्न आदेश दिए । त्यसपछि एउटा भेप चिनियाँ नागरिक हानसङलाई नै दिएर बाँकी भेप जफत गरियो । जफत गरिएको सो भेप १० पुसदेखि प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखिएको थियो ।

जफत भएको केही दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपाने, श्यामसुन्दर साहले प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई भेटेर राजस्व दाखिला गरी जाँचपास गर्न अनुरोध गरे । माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुलले पनि यस विषयमा चासो राखे ।

जफत गरिएको ती भेप २९ पुसमा मुद्दा शाखामा कानुनी कारबाहीका लागि पठाइयो । नासु सरोज श्रेष्ठले दुईवटा सुटकेस लिएर जाँदैगर्दा सुरक्षागार्ड निर्मलकुमार विकको सहयोग मागे ।

मुद्दा शाखामा पुर्‍याएपछि सामान हेर्न एउटा सुटकेसको लक फुटाइयो । लक फुटाएर बन्द गर्दा एउटा सुटकेसको चेन राम्ररी लागेको थिएन । त्यसपछि सुरक्षागार्ड विकले मुद्दा शाखाबाट सँगै रहेको गोदाममा सो सुटकेस बोकेर लगे ।

त्यतिबेला सुटकेसबाट एउटा भेप झर्‍यो । उनले त्यसलाई खल्तीमा हाले । कोठामा पुगेपछि भेप प्रयोग गर्न खोजे । तर, धुवाँ नआएपछि उनले विभिन्न प्रयास गरे । तर, पनि धुवाँ आएन । त्यसपछि उनले खोलखाल गरे, भित्र प्लास्टिकले प्याक गरी राखेको पहेंलो सुनजस्तो धातु देखे । सो धातुलाई ग्यासमा तताए, तर पनि पग्लेन ।

त्यसपछि सुरक्षागार्ड विकले भन्सार कार्यालयका उपसचिवका चालकलाई देखाए । सो धातुलाई भाँचेर एक टुक्रा विक आफंैले राखे । त्यसपछि उपसचिवका चालकले चिनेको सुन पसलमा गए । पसलमा जाँच गर्दा पहेंलो धातु सुन नै भएको पुष्टि भयो । त्यो सुनको उनले सिक्री बनाए

त्यसपछि विक थप लोभिए । उनको मनमा अरू पनि भेपमा सुन छ भन्ने लाग्यो । अन्य भेप कसरी हत्याउन सकिन्छ भन्ने योजना बनाउन उनी लागे ।

विमानस्थलमा जफत भएको सामान लिलामी प्रक्रियामा जाने हुनाले विकले लिलाम भएका सामान उठाउने बब्लु गुप्ता नामका व्यक्तिलाई सम्झिए । विकले नै बब्लुलाई जफत भएको भेपभित्र सुन रहेको जानकारी दिए ।

विमानस्थलमा कार्यरत सुब्बा रेवन्त खड्का र दिनेश बस्नेतसँग बब्लुको चिनजान थियो । दिनेश भन्सारको लिलाम प्रक्रियामा सहभागी भएर लिलाम सकार्ने काम गर्थे । त्यसपछि विकले बब्लुसँग भेप भएको ठाउँसम्म आफूलाई पनि लिएर जान आग्रह गरे ।

भेप कोठा नम्बर ११ मा राखिएको थियो । बब्लुले भेपमा सुन भएको कुरा रेवन्तलाई जानकारी गराए । रेवन्तले आफैं पछि हेर्ने जानकारी गराएपछि उनीहरू त्यहाँबाट निस्किए ।

भेपमा बहुमूल्य धातु सुन रहेको कुरामा पूर्णतः विश्वस्त बनिसकेका थिए रेवन्त । उता, दिनेशले पनि भेपभित्र सुन रहेको थाहा पाइसकेका थिए । उनले सुन बेच्न व्यापारीसमेत खोजिसकेका थिए ।

केही दिनपछि मुद्दा शाखामा रहेका लिलामी गर्नुपर्ने र नष्ट गर्नुपर्ने सामानलाई छुट्याइयो । भेप भने रेवन्तले गोदामबाट १ सय ११ नम्बरको कोठामा सार्न लगाए । रेवन्तले दिनेशलाई ‘जे गर्नु पर्छ गर’ भनेर निर्देशन दिए ।

त्यसपछि लगभग नौ दिन लगाएर सुन झिकियो । लगभग ९ किलो सुन निस्किएको थियो । अनि, त्यो भेपको साटो अर्कै ब्रान्डको भेप त्यहाँ राखियो । दिनेशले आफ्ना भिनाजु गोपाल सुवेदी र दिपेश बस्नेतसँग मिलेर सुन बेचे । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कार्गो एजेन्टका रूपमा काम गर्ने दीपेश दिनेशका सहोदर भाइसमेत हुन् ।

गोपाल र दीपेशले वेदप्रकाश अग्रवालमार्फत् सुन व्यवसायी साहेब राज मरगसम्म पुगे । उनकै पसलमा उनीहरूले ९ किलो सुन बेचे । सम्पूर्ण सुन बिक्रीको रकम हिसाब गर्दा ६ करोड २१ लाख भनिएकामा ६ करोड मात्रै दिनेशलाई दिए ।

पछि भन्सार कार्यालयमा ती भेपको खोजी भयो । सुरुमा मुचुल्का उठाउँदाको भेप र कोठा नम्बर १ सय ११ मा भएको भेप उस्तै नभएको देखिएको प्रमुख भन्सार प्रशासक अम्बिकाप्रसाद खनाललाई जानकारी गराइयो ।

भन्सार प्रशासक खनालले रेवन्तलाई कार्यालयमा बोलाएर सोधपुछ गर्दा घटनाको पटाक्षेप भयो । त्यसपछि अनुसन्धान गर्न भन्सार कार्यालयले गत २६ वैशाखमा सिआइबीलाई पत्राचार गर्‍यो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *