अमेरिकामा नेपाली गाउँको नाममा फुड मार्ट र पेट्रोल पम्प

डिसी नेपाल
२० वैशाख २०८१ ६:५७

विराटनगर। संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङ बस्ने दुई दाजुभाइले अमेरिकामा आफ्नो गाउँको नाममा फुड मार्ट र पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन्।

सभापोखरी गाउँपालिका साबिकको धुपु गाविस–१ लेब्राङमा जन्मिएर त्यहाँकै श्री कालिका प्राथमिक विद्यालय हालको कालिका आधारभूत विद्यालयमा अध्ययन गरेका दाजुभाइ मनीष र महेश श्रेष्ठले अमेरिकाको इन्डियाना स्टेट र केन्टकी स्टेटमा आफ्नो गाउँको लेब्राङको नाममा दुईवटा रेस्टुरेन्ट लेब्राङ फुड मार्ट र पेट्रोल पम्प सञ्चालन गरेको महेश श्रेष्ठले जानकारी दिए।

‘हामी दुई दाजुभाइ मनीष र मैले अमेरिकाको इन्डियाना स्टेट र केन्टकी स्टेटमा दुईवटा रेस्टुरेन्ट र पेट्रोल पम्प सञ्चालनमा ल्याएका छौं,’ महेशले राजधानीसँग भने, ‘सानैमा आफ्नो गाउँ छाडेर हिँडियो हरेक दुःख र संघर्ष गरेर यहाँसम्म आइयो अहिले सबै परिवार यहीँ छौं, हामीले गाउँको नाममा लेब्राङ फुड मार्ट सञ्चालनमा ल्याएका छौं ।’

आफूहरूले १९ करोडको लगानीमा अमेरिकामा व्यवसाय चलाएर बस्दा धेरै जनाले ठूलो भएछ भनेर प्रश्न उठाउने गरेको महेशले बताए । ‘हामी सानो गाउँमा जन्मिएको मान्छे, यहाँ आएर यति प्रगति गर्नु चानचुने कुरा होइन,’ महेशले भने ।’ आफूहरूभन्दा पछाडिका भाइबहिनीलाई पनि केही न केही पर्नुपर्ने रहेछ भन्ने सन्देश दिन आफूहरूले व्यवसायमा लगानी गरेको उनले बताए ।

सानो गाउँमा जन्मिएको मान्छेले पनि राम्रो शिक्षा हासिल गर्दा र आफ्नो एउटा लक्ष्य लिएर अघि बढ्दा असम्भव भन्ने कुरा केही नहुने उनको दाबी थियो । आफूहरूबाट पछिका भाइबहिनीलाई पनि राम्रो सन्देश जाओस् भन्ने उद्देश्यले व्यवसायमा हात हालेको मनीषले बताए । उनीहरू संखुवासभादेखि सुनसरीको इटहरी अनि काठमाडौं हुँदै अहिले अमेरिका पुगेर होटल व्यवसायमा जमेका हुन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *