मन्त्री मोदी र सचिव पुष्करद्वारा स्टाफ कलेजको आकस्मिक निरीक्षण

डिसी नेपाल
५ साउन २०८० १४:०७
132
Shares

ललितपुर। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र सचिव डा. कृष्णहरी पुष्कर एकसाथ पुगेका छन्।

शुक्रबार बिहान १० बजे मन्त्री मोदी र सचिव पुष्कर निरीक्षणका लागि स्टाफ कलेज पुगेका हुन्।

यसअघि विभिन्न सञ्चारमाध्यममा मन्त्री र सचिवकाबीच मेलमिलाप नरहेको भनी प्रकाशित समाचार आइरहेकै बेला मन्त्री र सचिव एकसाथ अनुगमनमा निस्किएका हुन्। अनुगमन सहसचिव कमल भट्टराई पनि उपस्थित थिए।

निरीक्षणका क्रममा मन्त्री मोदी र सचिव पुष्करले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

मन्त्री मोदीले प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि आफूले मन्त्रालय र मातहतका निकायको नियमित अनुगमन गरिरहेको बताए।

“मैले पदभार ग्रहण गर्दाखेरि नै सुशासन कायम गर्ने विषय मेरो प्राथमिकतामा छ भनेको थिए, सुशासन कायम गर्ने सिलसिलामा नै हामीले अहिले मन्त्रालय र मातहतको निकायको नियमित अनुगमन गर्दै आएका छौँ” मन्त्री मोदीले भने।

अनुगमनका क्रममा मन्त्री र सचिवले स्टाफ कलेजको निर्माणधीन संरचनाको पनि निरीक्षण गरेका थिए। स्टाफ कलेजका कार्यकारी निर्देशक डा. राजन खनालले स्टाफ कलेजबाट भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।

मन्त्री मोदीले प्रशासकीय तथा व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार विभिन्न कार्यालयको नियमित अनुगमन गर्दै आएका छन्। उनले यसअघि पटकपटक मन्त्रालय, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय किताबखाना (निजामती) लगायतका कार्यालयको अनुगमन गरिसकेका छन्।

मन्त्री मोदीले कर्मचारी प्रशासन सुधारका लागि चालेका कदमबाट केही सुधार समेत हुँदै आएको छ। उनले बढुवा भएका कर्मचारीसहित अतिरिक्तका कर्मचारीलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउनेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनेसम्मका कामहरु भइरहेको छ।

स्टाफ कलेजले प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सेवा प्रवेश तालिमदेखि निवृत्तिभरण पश्चातको जीवनयापनसम्मका तालिमका कक्षा सञ्चालन र व्यवस्थापन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *