एकल व्यक्तित्व समाज, नेपाल बारे

कपिल लोहनी
६ साउन २०८० ७:१४

विश्वको जुनसुकै संस्कृतिले पनि मानवजातिले जन्मे पछि आफ्नो जीवनभर बिताउने बाल्यावस्था, युवावस्था, गृहस्थावस्था, सेवावस्था, निवृत्तावस्ता र वृद्धावस्थाको बखत निभाउनु पर्ने कर्तव्य बारेमा आआफ्ना तवरले सुझाव तथा लक्ष्मण रेखा कोरिदिएको हुन्छ।

समयको साथसाथै समाजमा जे जति परिवर्तनहरू भइरहने भएता पनि यस्ता कुरा बारे बनेका मार्गदर्शनहरूमा खासै परिमार्जन हुने गरेको छैन।

मानिसको वाल्यावस्थामा उसका आमाबुवाले उसको उचित लालन-पालन र पोषण गर्नै पर्‍यो भने युवावस्थामा सो बालकले आफ्नो भविश्यको निम्ति औपचारिक र व्यावहारिक शिक्षा उचित तवरले ग्रहण गर्नै पर्‍यो।

त्यसरी नै अर्धवैंशको अवस्थाबाट वृद्धावस्थामा पुग्दै गएका बाबुआमाको सेवामा लाग्न र भावी पिँढीको उत्पत्ति गराउन पनि उमेर बढ्दै गएका युवाहरूले वैवाहिक बन्धनलाई अँगालेर गृहस्थाश्रम शुरु गर्नु नै पर्‍यो।

आफ्ना लाला-बालाहरू यस धर्तीमा आउन थालेपछि तिनको रेखदेख, शिक्षा र वृत्ति विकास तथा वृहत परिवारबाट आफ्नो गुँड र माना छुट्टाएर नयाँ घर-परिवारको सिर्जना गर्नु पर्‍यो र यो सब कुराको निम्ति कुनै न कुनै माध्यमबाट धन आर्जनको मेलोमा पनि लाग्नै पर्‍यो।

आफू हुर्कँदै र बढ्दै जानु भनेको आफ्ना अग्रजहरू झन् झन् वृद्ध हुँदै जानु पनि हो। बालककालमा आफूलाई बाबुआमाको सहारा र लाडप्यार चाहिए जस्तै बाबुआमा वृद्ध हुँदै गएपछि उनीहरूलाई आफ्ना सन्तानबाट त्यस्तै माया, लाडप्यार, स्नेह र हेरचाहको जरुरत पर्न जान्छ।

यसरी नै संसार चल्दै गएको छ र चल्नु पनि पर्दछ। तर नियम, विश्वास र मान्यता कै रूपमा मात्र विश्व चलेको हुँदैन रहेछ। आफैंले जन्माएका र हुर्काएर ठूला बनाएका सन्तान आफ्नै लागि खतरनाक यमराज बनेका घटना पनि बेला बेलामा सुनिने गर्दछ।

हामी मध्ये धेरै यस्ता घरेलु हिंसाबाट मुक्त छौँ र यसो हुनुको मुख्य कारण हामीले आफ्ना मातापिताको सेवामा कुनै कसर बाँकी नराखेको तथा हाम्रा सन्तानलाई पनि उचित संस्कार सिकाएको कुराले ठूलो भूमिका खेलेको भएर हो।

मान्छे जन्मे पछि मर्नै पर्छ। यो ध्रुवसत्य भएपनि कसको आयु कति छ भन्ने कुरा कसैले पनि ठम्याएर भन्न सक्दैन।

त्यसैगरी एक अर्काको लागि मरिमेट्ने र जीवनभर साथ दिने वाचाका साथ दुई मुटु एक भएर लगनगाँठो बाँधेका दम्पतिहरू मध्ये पनि कोही छिटै यो धर्ती छोडेर जान्छन् भने कुनै कुनै दम्पतिको आयु निकै लामो हुने गर्दछ।

त्यस्तै आजको नयाँ युगमा जीवनसम्बन्धि दर्शनमा तालमेल नमिलेर र एकापसमा विश्वास र वफादारीताको कमीले गर्दा जीवनभर साथ दिने वाचा र आपसी सम्बन्धमा आँच आएर पति तथा पत्नी अलग हुन जान्छन्।

यस्ता व्यक्तिहरूले कि त आफ्नो नयाँ घरजम बसाउँछन् या त बाँकी जीवन एकल नै भएर बिताउने निधो गर्दछन्। अर्को एक थरी भने विभिन्न कारणवश गृहस्थीको अभ्यास गर्न नपाउँदै उमेरले डाँडा काट्दै गइसकेको कारण जीवनभर एकल भएर बस्छन्।

अझ अर्को थरी हिजोआज विवाह विनै सँगै बस्ने अर्थात् ‘लिभिङ टुगेदर’ भन्ने र कुमार कुमारी भएरै सन्तानका बाबुआमा बन्ने पनि गर्दछन्। झनै एक अर्को थरी त समलिङ्गी माया-मोहमा विश्वासका साथ भरजम गर्ने खालका पनि छन् यो समाजमा।

मेरो पनि एउटा व्यथारुपी कथा छ। युवावस्थामा एकजना आफूभन्दा भिन्दै जातकी शिक्षित युवतीसँग प्रेम सम्बन्ध बसेर निकै संघर्षका साथ विवाह बन्धनमा बाँधिएर हामी पनि एक छोरी र एक छोराका आमा-बाबा बन्यौं।

जीवनमा निकै ठोकर खाएर, दुःख भोगेर तथा संघर्ष गरेर आफ्ना लालाबालालाई हुर्कार्यौं, आफ्नो खुट्टामा अड्न सक्ने बनायौँ, पछि दुवै पट्टिका हाम्रा अभिभावकहरूको चित्त पनि बुझाएका नै थियौँ, सेवा पनि गरेकै थियौँ र त्यसपछिको जीवन सुखका साथ नै चलिरहको थियो।

बिस्तारै ५० कटेर अब बाँकी जीवन एकसाथ घुमफिर गरेर, रमाइलो गरेर बिताउनु पर्छ भन्ने प्रण पनि गरेकै थियौँ। तर दैवलाई किन इष्र्या लाग्यो वा के भयो कुन्नि, मेरी उनलाई भयानकको रोगको शिकार बनाएर हामी सबबाट चटक्कै खोसेर लगिदियो।

निकै बिलाप गर्‍यौँ, तर उसको याद बाहेक हामीसँग केही पनि रहेन। तैपनि हामी बाँकी परिवारजनले ठूलो धैर्यका साथ जीवनरुपी डुङ्गालाई खियाइ नै रहेका छौँ।

कलाकार हरिवंश आचार्यलाई आफूले प्रेम गरेर ल्याएकी पत्नीसँगको विछोड भएको ३ महिना पनि कट्न नपाउँदा डिप्रेसनको वहानामा अर्कीसँग जीवन बिताउने इच्छा भयो र आज उनी निकै प्रसन्न पनि देखिन्छन्।

उनी जस्ता धेरै साधारण सोचका मानिसहरू छन् यस धर्तीमा र उनीहरूले गरेका निर्णय पनि सायद ठीकै होलान्। तर यस धर्तीमा हामी जस्ता अर्का असाधारण प्राणी पनि रहेछन् जो आफ्नो सुख भन्दा पनि आफ्नो चोखो प्रेमको खातिर बाँकी जीवनमा आउन सक्ने जस्तोसुकै व्यवधान र दुःखको पनि सामना गर्छु भन्ने हिम्मत बोकेर हिँडेका छन्।

त्यस्तै कैयन् व्यक्तिहरू आफ्नो वैवाहिक जीवनमा अन्य कारणले आएका व्यवधानको कारण एकल हुन पुगेको तर अबको बाँकी जीवन एकल नै रहेर बिताउने प्रणका साथ अघि बढ्दै छन्।

जीवनरुपी सुपर हाइवेमा जीवन साथी विना एक्लै हिँड्ने हिम्मत गर्नु भनेको पनि गाइड विनै सगरमाथा चढ्न खोज्नु जस्तै हो। त्यस्ता अधिकांश आरोही असफल हुन्छन् भने हामी जस्ता हिम्मतीलाले निकै अवरोधहरूको सामना गर्नु पर्ने हुन्छ।

चाडवाडको बेला, विरामी पर्दा, कुनै सल्लाहको जरुरत पर्दा, घुमफिर गर्दा वा अन्य धेरै अवसरहरूमा आफ्नो जीवन साथी नहुँदाको पीडा बल्झेर आउँदो रहेछ।

तर या त हरिवंश जस्तो साधारण मानिस बन्ने तिर लाग्नु पर्‍यो या त बुद्ध, गान्धी वा मण्डेला जस्तै हरेक कुरामा असाधारण व्यक्तित्वको विकास गरेर आफ्नो भन्दा पनि लोकको सेवा गर्ने चेष्टा गर्नु प¥यो।

यस्तै कुरामा घोत्लिँदै गर्दा मैले आफूजस्तै विभिन्न कारणले एक्लो गृहस्थी जीवन बिताइरहेका मानिस समाजमा के कति रहेछन् त भनेर खोजी गर्दा आफ्नै इर्द गिर्दमा पनि धेरै त्यस्ता व्यक्तिहरू भेटेँ।

आआफ्ना अध्ययन र परिवेश मुताविकका व्यवसायमा लागिरहेका, बाहिरबाट हेर्दा खुशी नै देखिने तर भित्र भित्र ठूलो बेदनाको हुरीलाई नियन्त्रणमा राखिरहेका त्यस्ता व्यक्तित्वहरूसँगको निरन्तर अन्तरकृया पछि हामीले एउटा यस्तो संस्थाको स्थापना गर्ने निर्णय गर्‍यौँ, जसमा विवाह पश्चात पति वा पत्नीको निधन भएको, विभिन्न कारणवश पति-पत्नीको पारपाचुके भएको वा आधा जीवन बितिसक्दा पनि घरजम नगरेका र अबको जीवन एकल व्यक्तित्वकै रूपमा जिएर बस्ने र आफू जस्तै अन्य व्यक्तिहरूको सेवामा जीवनभर आफ्नो समयको केही हिस्सा व्यतित गर्ने व्यक्तिहरू अटाउन्।

अनि नाम पनि फुर्‍यो- ‘एकल व्यक्तित्व समाज, नेपाल।

एकल व्यक्तित्व समाज, नेपालका संस्थापक सदस्यहरूमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ। संगीत तथा कला क्षेत्रका विज्ञ, चिकित्सक, इन्जिनियर, अधिवक्ता, पूर्वउच्च सुरक्षाकर्मी, साहित्यकार, व्यवसायी, बुद्धिजीवी, अर्थशास्त्री, वित्तीय सेवा प्रदायक, समाजसेवी, खेलाडी तथा गृहस्थ व्यक्तित्वहरू पनि हुनुहुन्छ।

त्यस्तै हाम्रो संस्थालाई विभिन्न प्रकारले निरन्तर सहयोग गर्न चाहने संघ–संस्था तथा व्यक्तित्वहरू पनि हाम्रो सम्पर्कमा आउन थाल्नु भएको छ। भविष्यमा हाम्रो संस्थामा मुलुकभरबाट नै एकल व्यक्तित्वहरू सदस्यका रूपमा आवद्ध हुँदै जानु हुने नै छ।

हामी एकल व्यक्तित्व भएपनि हामीमध्ये कतिपयका मातापिता, दिदीबहिनी, दाजुभाई तथा सन्तान पनि छन् र सबैले हामीलाई माया गर्छन् पनि।

तर समाजमा हामी जस्तै कतिपय एकल व्यक्तिहरू छन्, हो तिनीहरूले खासगरी वृद्धावस्थामा दर दरका ठोकर खाइरहेका छन्, कति जना एक्लोपनाले गर्दा डिप्रेसनले पीडित छन्, कतिपय यस्ता व्यक्तित्वहरू आजको समाजमा हेय, हिंसा र उत्पीडनको शिकार पनि भइरहेका छन्।

कतिपयको उपचारको उचित व्यवस्था छैन। कतिपय व्यक्तिहरू शिक्षित हुनुका साथै शिप र अनुभवका धनी भएर र गोजीमा जीवन निर्वाहको निम्ति केही रकम भएता पनि उनीहरूको गाँस, बास र कपासको राम्रो प्रवन्ध छैन।

कतिपय एकल वृद्धवृद्धालाई नेपालमा एक्लो छोडेर उनका बुढेसकालका लट्ठी बन्नु पर्ने सन्तानहरू विदेशमा कमाउन र राम्रो जीवनयापन गर्न उतै बसेका छन्। यस्तै अनेकन कुराहरूलाई ध्यानमा राखी हामीले यस संस्थाको स्थापना गर्ने जमर्को गरेका हौँ।

कोभिडको लामो महामारीले हाम्रो जमघट समेत पातलो बनाइ दिएको थियो भने संस्था दर्ता गर्न पनि निकै व्यवधानहरूको सामना गर्नु पर्‍यो। त्यस्तो हुँदा हुँदै पनि हामीले धेरै चोटी हाम्रा जमघट, छलफल र विभिन्न कार्यक्रमलाई निरन्तरता दिई नै रह्यौँ।

कोभिडको शुरुवातसँगै नेपालमा निशुल्क मास्क वितरण गर्ने पहिलो संस्था हाम्रो नै भयो भने यस्तै बेलामा विभिन्न खाले आश्रयस्थलहरूमा हामीले खाद्य सामग्री, औषधि, लत्ताकपडा तथा मनोरञ्जनको निम्ति टेलिभिजन आदि पनि वितरण गर्‍यौँ।

सदस्यहरूका लागि विभिन्न खालका जानकारीमूलक कार्यक्रमहरूको पनि आयोजना गर्‍यौँ। एउटा पुस्तकालयको स्थापनाको निम्ति हाम्रा सदस्यहरूबाट हामी विभिन्न विषयका पुस्तक र पत्रपत्रिकाहरू पनि संकलन गर्ने क्रममा छौँ।

संस्था दर्ता नभइसकेकोले आधिकारिक रूपमा विभिन्न सामाजिक कार्यहरू गर्न नसकेका हामीहरूले २०८० साल श्रावण १ गतेका दिन यो संस्थाको विधिवत दर्ता गराउन सफल भयौँ।

अब छिटै संस्थाको कार्यालय र पुस्तकालयको स्थापना, सदस्यता तथा परिचय पत्र वितरण र विभिन्न नियमित कार्यक्रमहरूको आयोजना गर्न हामीलाई बाटो खुलेको छ।

भविश्यमा मुलुकका सातै प्रदेशमा एकल व्यक्तित्वहरूको हित हुने विभिन्न कार्यक्रम सञ्चालन गर्ने हामीले वृहत उद्देश्य राखेका छौँ। आशा छ, यो संस्थाले व्यापकता पाएर एकल व्यक्तित्वहरूको हितका निम्ति धेरै काम गर्नेछ।

यस्ता कार्यको निम्ति एकल व्यक्तित्व मात्र नभई समाजका विभिन्न क्षेत्रसँग सम्वद्ध व्यक्तित्वहरूबाट सल्लाह, सुझाव तथा सहयोग समेत प्राप्त हुनुका साथै सबै थरी व्यक्तित्व तथा संस्थाहरूले हाम्रो सुकार्यमा हातेमालो गर्नुका साथै सहभागिता जनाउने छन् भन्ने आशा गरेका छौँ।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *