प्रधानमन्त्री दाहाल इटालीको रोममा
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन्।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ७ः३० मा त्यहाँ पुगेका हुन्।
प्रधानमन्त्री दाहालले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
अतिकम विकसित राष्ट्रहरुको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन्। हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्युरोको अध्यक्षता ग्रहण गरेको छ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल शनिबार इटालीतर्फ प्रस्थान गरेको थियो। प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन्।
यस्तै प्रधानमन्त्री दाहाल विद्यालय भोजनका बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन्। यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल समेतमा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यसअवसरमा महत्वपूर्ण छलफल हुनेछ। यस्तै, रोममा गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्। प्रधानमन्त्री दाहाल यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।







डिसी नेपाल







Facebook Comment