बालकृष्ण खाँणलाई भेट्न माओवादी सचिव पौडेल र लुम्बिनीका मुख्यमन्त्री केन्द्रीय कारागार पुगे

डिसी नेपाल
७ साउन २०८० २१:४१

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सचिव देवेन्द्र पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी केन्द्रीय कारागार पुगेका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनीहरु केन्द्रीय कारागार गएका हुन् ।

दुवै नेताहरु अलग–अलग दिन गएका हुन् । पौडेल आफ्ना पुराना मित्रलाई भेट्न गएको बताएका थिए भने चौधरी पनि आफ्ना नेतालाई भेट्न त्यहाँ पुगेको जेल प्रशासन स्रोतले जनाएको छ । पौडेल एक साता अघि केन्द्रीय कारागार पुगेका थिए । उनले करिब ४५ मिनेटजती रायमाझीसँग कुराकानी गरेका थिए । माओवादीका नेता पौडेल बाहेका एमालेका कुनै पनि नेताले रायमाझीलाई नभेटेको स्रोतले जनाएको छ ।

उता नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेका बेला चौधरीले खाँणलाई भेटेका थिए । लुम्बिनी प्रदेशनै कार्यक्षेत्र रहेका खाँणका लागि चौधरी सहयोगी नेता हुन् । उनले करिब एक घण्टा खाँणसँग विताएका थिए । खाँणलाई भेट्न नेपाली कांग्रेसका नेताहरु लाइन लागेर केन्द्रीय कारागार पुग्ने गरेका छन् । कांग्रेस बैठकमा खाँणको पक्ष विपक्षमा यतिबेला बहस भैरहेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङ र लक्ष्मी महर्जनबाहेक पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा असार १ गते पुर्पक्षकालागि आदेश दिएको थियो । सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा लगाएको थियो । उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो । हाल उनीहरु केन्द्रीय कारागारमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *