दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

डिसी नेपाल
३० साउन २०८० १०:०८
40
Shares

काठमाडौँ। पठन संस्कृतिको प्रवर्द्धनका लागि आगामी भदौ ५ देखि १० गतेसम्म काठमाडौँमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ हुने भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको सहकार्यमा हुने प्रदर्शनीमा चीन, संयुक्त राज्य अमेरिका, इजिप्टलगायत मुलुकका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० ‘स्टल’ रहनेछन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदर्शनीमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

महासङ्घका अध्यक्ष सञ्जयकुमार चौधरीले विदेशी लेखकबाट लेखिएका र विदेशमै प्रकाशित पाठ्यसामग्रीमा मात्र निर्भर रहनुपर्ने अवस्था पार गरी हाल आफूहरू आत्मनिर्भर पुस्तक व्यवसायी हुन सफल रहेको जनाउँदै महोत्सवबाट स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीको आयात, निर्यात र वितरणमा सहकार्य एवं सहजीकरणको वातावारण बन्ने बताए।

महासङ्घका महासचिव शिवसागर शर्माले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति, सञ्चार आदान–प्रदानको माध्यमबाट आपसी सम्बन्ध प्रगाढ बनाउन प्रदर्शनीले भूमिका खेल्ने जनाए।

हाल सो महासङ्घमा १५ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । करेन्ट मिडियाका प्रबन्ध निर्देशक किरण गौतमले शिक्षा क्षेत्रका सरोकारवाला, सामुदायिक र निजी विद्यालय, विद्यार्थी, अभिभावक एवं आम पाठकका लागि तथा शिक्षा, संस्कृति र सञ्चारको एक साझा सङ्गमस्थल हुने भएकाले प्रदर्शनीमा सहकार्य गरिएको जनाए।

महासङ्घले विसं २०६४ देखि ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’, ‘हातहातमा पुस्तक, घर–घरमा पुस्तकालय’ आदि नाराका साथ बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव गर्दै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *