गालेर सकियो तस्करीको सुन, तौल सार्वजनिक गरिँदै
काठमाडौं। मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै ताैल सार्वजनिक गरिने भएकाे छ।
मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो। गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
यसअघि सोमबार ब्रेक सुबाट छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ। भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो। उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment