प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु

डिसी नेपाल
३० साउन २०८० १७:१०
780
Shares

काठमाडौं । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ। “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो।

तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन्।

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये ुकु र ुखु श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ।

पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ।

पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *