राजसंस्थाका सदाबहार सारथि कमल थापा फर्किए पुरानै एजेण्डामा

शरद रिजाल
८ भदौ २०८० ११:५७

काठमाडौं। नेपाली राजनीतिका सदाबहार पात्र कमल थापालाई सन्काहा र रिसाहा स्वभावको भएको आरोप लाग्ने गर्दछ।

नेपाली राजनीतिका अनेक कालखण्डमा आफूलाई उपस्थित गराएका उनलाई सक्षम पात्रको रुपमा समेत उनको प्रशंसा हुने गर्दथ्यो।

विगतमा राजतन्त्रको अन्त्यपछि प्रतिकूल अवस्थामा पनि राजसंस्थाको एजेण्डा बाकेर हिँडेका थापा अनयासै उक्त एजेण्डा परित्याग गरेपछि उनको परिचय विस्तारै धुमिल बनेको थियो।

सक्रिय राजतन्त्रकालीन कालमा पटक पटक मन्त्री बन्दै राजसंस्थाको कट्टर पक्षपोषकका रुपमा चित्रित थापा एकाएक राजसंस्थाको एजेण्डा परित्याग गरेको दृष्यले सबैलाई अचम्मित तुल्याएको थियो।

नेपाली राजनीतिमा राजसंस्थाको पर्यायका रुपमा चिनिने उनको पछिल्लो कदमले उनका शुभचिन्तकमा समेत असन्तुष्टी बढिरहेको थियो।

उनको राजसंस्था परित्यागको घोषणा अन्तर्मनबाट भएको पक्कै थिएन। राप्रपाको गत महाधिवेशनमा पार्टीका नेता राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछिको आक्रोश स्वरुप राजसंस्थाको विरुद्धमा अभिव्यक्ति दिन थालेका हुन्।

महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी लिङ्देनले पराजित गरेपछि थापा राजसंस्थासँग आक्रोशित बनेका हुन्। उनले आफूलाई पराजित गर्न निर्मलनिवासले व्यापक चलखेल गरेको आरोप लगाएका थिए।

जीवन पर्यन्त राजसंस्थाको पक्षमा पैरवी गरेका थापा उत्तराद्र्धमा रुष्ट बन्दै टाढिएका थिए। उनले पार्टीको एजेण्डा सनातन हिन्दु राष्ट्र तय गर्दै राजसंस्था पुनर्स्थापनको एजेन्डा छाडेको घोषणा गरेका थिए।

नेपालमा राजनीतिक परिवर्तन भएको २०६२ ⁄६३ को जनआन्दोलन ताका गृहमन्त्री भएका थापा तत्कालीन अवस्थामा उनको समग्र पार्टी नै गणतन्त्रको पक्षमा सडकमा उर्लिँदा उनी भने राजतन्त्रको प्रतिरक्षा गर्दै आन्दोलन दबाउन उद्धत थिए।

राजतन्त्रको औपचारिक अवशान गराउने उक्त जनआन्दोलनमा देशव्यापी उभार आइरहँदा थापा भने आन्दोलन विरुद्ध सरकारी संयन्त्र परिचालमा व्यस्त देखिन्थे।

तथापि थापाको जोडबलले आन्दोलन मत्थर नभएर झनै उर्लँदो भेल आयो। फलतःनेपालबाट राजतन्त्रको औपचारिक बहिर्गमन हुन पुग्यो।

सोही जनआन्दोलन पछि बनेको सरकारले गरेको संविधानसभाको निर्वाचनले नेपालबाट २०६५ जेठ १५ गते राजतन्त्रलाई औपचारिक रुपमा बिदाइ गर्यो।

मुलुक सम्पूर्ण रुपले गणतन्त्रमय हु्ँदा पनि थापा किमार्थ विचलित भएनन्। उनी त्यस बखत पार्टीविहीन अवस्थामा थिए। उनी आवद्ध राप्रपाले थापालाई कारबाही गरेको थियो।

राजनीतिक रुपमा पार्टीविहनताको सिकार भएका थापाले राप्रपा नेपाल पुनर्गठन गरी देशव्यापी सञ्जाल बनाउन सफल भए।

उनकै अथक मेहनतले हालको नेपाली राजनीतिको परिवर्तनको विन्दु दोस्रो जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेका थापा यही व्यवस्थामा संसदीय चौथो शक्ति समेत बन्न पुगे।

जनआन्दोलनको उपजको रुपमा रहेको गणतान्त्रिक व्यवस्थामा आफ्नो पार्टीलाई चौथो दलको रुपमा उपस्थिति गराउन थापाकै महत्वपूर्ण भूमिका छ।

तत्कालीन संविधानसभाको रुपमा रहेको व्यवस्थापिकामा थापाले राजसंस्थाको पक्षमा व्यक्त गरेको अभिव्यक्तिले उनी जस्तो सुकै प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तमा अडिक रहने पात्रको परिचय बनाएका थिए।

दोस्रो जनआन्दोलन पछि शून्यबाट राजनीति सुरु गरेका थापाले मूलधारका दलहरुको हैसियतमा आफूलाई उभ्याएका थिए। तर, २०७८ मंसिरमा भएको पार्टीको महाधिवेशनमा पराजित भएको झोकमा राजसंस्थाकाृे एजेण्डा परित्याग गर्दै नयाँ दल गठन गर्न पुगेका थापाको राजनीति एजेण्डाविहीन बन्न पुगेको थियो।

गत मंसिरको निर्वाचनमा देशभरबाट लज्जास्पद परिणाम हात पारेको उनको दलले कतै उपस्थिति देखाउन सकेन। उनले परित्याग गरेको राप्रपाले देशभरबाट १४ सिट जित्दा थापाले एमालेको चुनाव चिन्ह लिएर निर्वाचन लड्दा पनि परिणाम उनको पक्षमा आउन सकेन।

यसरी नेपालको राजनीतिमा आफ्नो अडानमा अविचलित नेताको परिचायक बनेका थापा पछिल्लो समय अवसरको खेती गर्ने नेताको मानक बनाउन पुगे। राजसंस्थाको एजेण्डा प्रतिकूल अवस्थामा अनेक चुनौतीका सामु नछाडेका उनले महाधिवेशनमा पराजित भएपछि परित्याग गर्न पुगे।

२०६२ ⁄६३ को जनआन्दोलन पछि गणतन्त्रवादीहरुको  अनेकौं अवरोधका सामु राजसंस्थाको पक्षमा चट्टानी अडान कायम गरेका थापा आफ्नै सहकर्मी लिङ्देनसँग पराजित भएपछि आफ्नो एजेण्डाबाट विचलित हुँदै नयाँ पार्टी गठन गरे।

विगत प्रतिकूलतामा अंगीकार गरेको राजसंस्थाको एजेण्डा सहज अवस्थामा परित्याग गरेपछि उनलाई पत्याउने जमातको कमी हुन थाल्यो र उनको राजनीतिले उल्लेख्य गति हासिल गर्न सकेन।

अहिले यही यथार्थलाई आत्मसात गर्दै थापा राजसंस्थाको पक्षमा फर्कन लागेका छन्। उनले राजसंस्थासहितको हिन्दु अधिराज्यको एजेण्डा पार्टीले तय गर्न लागेको छ।

उनको पार्टीका महामन्त्री राजेन्द्र वर्तौलाले दिएको जानकारी अनुसार राजसंस्थाको कार्यनीति पार्टीले तय गर्न लागेको हो। राजासहितको प्रजातन्त्रको कार्यनीतिक एजेण्डा वहन गर्न लागिएको बारे राप्रपा नेपालले सार्वजनिक घोषणा गर्दैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *