युद्धको मैदानपछि अब रुस र युक्रेन अदालतमा आमनेसामने, आइसीजेमा आजदेखि सुनुवाइ

डिसी नेपाल
१ असोज २०८० १५:५५

काठमाडौं । अहिलेसम्म रणभूमिमा लडिरहेका रुस र युक्रेन अब विश्वकै ठूलो अदालतमा आमनेसामने हुने भएका छन् । रुस र युक्रेन युद्धबारे अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा सोमबार सुनुवाइ हुँदैछ ।

गत वर्ष २४ फेब्रुअरीमा रुसी आक्रमणको केही दिनपछि युक्रेनले आईसीजेमा यो विषय उठाएको थियो । युक्रेनले यो आक्रमणलाई नाजायज ठहर गर्दै रुसले अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाइरहेको बताएको छ ।

युक्रेनको आरोपमा रुसले युक्रेनमा भइरहेको नरसंहार रोक्न आक्रमण गर्ने निर्णय गरेको दाबी गरेको छ । अब रुसले अन्तर्राष्ट्रिय अदालतमा आफ्नो दाबी पेश गर्नेछ।

गत वर्ष २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘विशेष सैन्य अभियान’ भन्दै युद्धको घोषणा गरेका थिए । त्यसयता यी दुईबीच युद्ध चलिरहेको छ । रुसले युक्रेनमा नरसंहार भइरहेको र त्यसबाट जनतालाई बचाउने जिम्मेवारी आफ्नो भएको दाबी गरेको छ ।

रुसले युक्रेनमाथि पटकपटक नरसंहार गरेको आरोप लगाउँदै आएको छ । रुस अन्तर्राष्ट्रिय अदालतले यो मुद्दा खारेज गरियोस् भन्ने चाहन्छ । यस मुद्दाको सुनुवाइ २७ सेप्टेम्बरसम्म हुने छ । रुसले युक्रेनले आफ्नो सैन्य कारबाहीको औचित्य प्रमाणित गर्न यो मुद्दालाई भ्रामक बनाउन प्रयोग गरिरहेको बताएको छ।

तर, युक्रेनले यसै वर्षको मार्चमा अन्तर्राष्ट्रिय अदालतबाट ठूलो राहत पाएको छ । किनभने प्रारम्भिक निर्णयमा आईसीजेले रुसलाई युक्रेनमा तत्काल सैन्य कारबाही रोक्न आदेश दिएको थियो। तर, रुसले यस विषयमा कुनै पनि आदेश जारी गर्नु अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकारमा नपरेको बताएको छ । योसँगै युक्रेनले आईसीजेले यसमा हस्तक्षेप गर्न सक्ने बताएको छ । युक्रेनको यो तर्कलाई अरु ३२ देशको समर्थन छ ।

रुसले अहिलेसम्म अन्तर्राष्ट्रिय अदालतको निर्णयलाई बेवास्ता गरेको छ तर विज्ञहरूका अनुसार अदालतको अन्तिम फैसला युक्रेनको पक्षमा आयो भने भविष्यमा क्षतिपूर्तिको दाबी गर्न सक्छ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका कानूनका प्राध्यापक जुलिएट म्याकइन्टायरले समाचार एजेन्सीलाई बताएअनुसार यदि अदालतले रुसले गरेको सैन्य कारबाहीलाई नरसंहार महासन्धि अन्तर्गत न्यायोचित नभएको पायो भने युक्रेनले भविष्यमा क्षतिपूर्ति दाबी गर्न सक्छ।

संयुक्त राष्ट्रसंघको १९४८ को नरसंहार महासन्धि अन्तर्गत कुनै राष्ट्र, जाति वा धार्मिक समूहलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने उद्देश्यले कुनै अपराध भएमा त्यसलाई नरसंहार मानिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *