वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक (भिडियो)
काठमाडौं।सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ।
भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए। सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए ।उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए।
केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन्। परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए।कार्यक्रममा कलाकार कविता आलेले आफूले सुरेशलाई कहिल्यै नभेटेको भएता पनि छायांकनको क्रममा आफूछेउ आएको जस्तै भान भएको बताइन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका संगीतकार संघ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई सांगीतिक चलचित्रमा उतार्नु जोखिमपूर्ण काम भएको तर निर्देशक यसमा सफल भएको बताए।सापकोटाले भिडियो मार्फत आफ्नो सन्तान गुमाउन पर्दा परिवारलाई परेको आघातलाई जस्ताको तस्तै उतारेर समाजमा ठुलो सन्देश छोडेको बताए।
यस सांगीतिक चलचित्रको गीतमा शब्द रचना बिक्रम साम्पाङको रहेको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । यसमा राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ । गीतलाइ विश्व अधिकारीले एरेन्ज गरेका हुन्।
२० मिनेट लम्बाइको यस चलचित्रलाई देव जङ्ग थापाले निर्देशन गरेका छन् । माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको ‘हे दैव’ मा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र विवेक उप्रेतीको सम्पादन रहेको छ। प्रोडक्सन डिजाइन दिपेन गौतम ‘माइकल’ले गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment