एनआरएनए उपमहासचिवका उम्मेदवार प्रविन गुरुङद्वारा १२ बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा

डिसी नेपाल
९ असोज २०८० १०:००

कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३-०२५) को लागि कतार निवासी प्रविन गुरुङले १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

सामाजिक सेवा र व्यावसायिक कार्यमा सक्रिय गुरुङले आगामी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने, विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउने लगायतका एजेण्डाहरु अघि सारेका छन्।

आफ्ना एजेण्डाहरु सार्वजनिक गर्दै गुरुङले भने, “मध्यपूर्व, मलेसिया, जापान,कोरिया र युरोपका केही देशको समस्या तथा सम्भावना लगभग एउटै प्रकारका छन्।

आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। हामीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ।”

उनले वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गर्ने, नेपालमा पर्यटकहरु भित्र्याउन प्रबद्र्धन गर्ने र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने एजेण्डाहरु अघि सारेका छन्।

एनआरएनएमा दोस्रो पुस्ता वा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउने, एनआरएनएको मूल मान्यतालाई कार्यान्वयन गराउने, खेलकुद क्षेत्रको विकास गर्ने र संघको राष्ट्रिय समन्वय परिषद (एनसिसि) मा आबद्ध भएका सबै सदस्यहरुलाई संघको आईसिसी चुनावमा मत हाल्न पाउने व्यवस्थाको लागि पहल गर्ने उनको कार्य योजना छ।

संघको उपमहासचिव पदमा उठ्नु अघि गुरुङले एनआरएनए कतारको उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसिसीको सचिव पदमा बसेर सफल कार्यकाल सम्पन्न गरिसकेका छन्। एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *