पछिल्लो समय मुलुकमा किन बढ्दै छ धार्मिक द्वन्द्व?

डिसी नेपाल
१७ असोज २०८० ८:२८

काठमाडौं। केही समय अगाडि पूर्वी नेपालको धरानमा विभिन्न बहानामा समाजिक सद्भावन बिथोल्ने प्रयास असफल भएपछि सोही प्रकृतिको घटना नेपालगञ्जमा देखिएको छ।

सदियौंदेखि मिलेर बसेका विभिन्न सम्प्रदायबीच विभिन्न बहानामा द्वन्द्व बढाउने चलखेल भइरहेका बेला मुलुकका विभिन्न स्थानमा धार्मिक द्वन्द्व बढाउने घटनाले पश्रय पाउन थालेका छन्।

केही समयअघि धरानमा गोरु काटेर खाएको विषयले उग्र रूप लिएको थियो। धरानमै मन्दिरअगाडि चर्च बनाइएको विषय पनि निकै उचालिएको थियो। उस्तै प्रकृतिको घटना सर्लाहीमा पनि दोहोरिएको थियो ।

सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा अर्को समुदायले अवरोध गरेपछि बढेको विवादले उग्र रूप लिएको थियो। विवाद बढ्दै गएर झडपकै स्थिति बनेको थियो।

सर्लाही र धरान दुवैमा स्थिति नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु लगाउनु परेको थियो। त्यसअघि रौतहटको जानकी मन्दिरका पूजारीलाई आक्रमण, क्रिश्चियन धर्म प्रचार गरेको भन्दै जनकपुरमा हिन्दू सम्राट् समूहले कालोमोसो दल्ने लगायतका घटना भएका थिए।

अहिले नेपालगञ्जमा फेरि उस्तै प्रकृतिको घटना दोहोरिएको छ। नेपालगञ्जलमा ‘मोहम्मद डे’को दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लिएर नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच विवाद बढेको हो। त्यसयता नेपालगञ्ज अशान्त हुँदै आएको छ।

मंगलबार ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा इँटा प्रहार भएपछि भिड अशान्त बनेको थियो। यस्ता गतिविधि देशैभरि स–सानो रूपमा थाहा नपाउने गरी भइरहेका छन्।

यिनले अहिलेसम्म जातीय, धार्मिक र सामाजिक सद्भावमा रहेको नेपाली समाज क्रमशः विघटित हुँदै जान थालेको संकेत गर्छ। कुनै न कुनै रूपमा नेपाली समाजमा रहेको शान्ति र सद्भाव भड्काउने सुनियोजित प्रयत्न भइरहेको पनि यी घटनाले संकेत गर्छ।

नेपालगञ्जमा धार्मिक द्वन्द्व बढ्दै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव नभड्काउन हिन्दू र मुस्लिम समुदायलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा जबराले नेपालगञ्ज सद्भावको सहर रहेको भन्दै सामाजिक सद्भाव नभड्काउन हिन्दू र मुस्लिम समुदायलाई आग्रह गरे।

सांसद जबराले दुई समुदायबीच उत्पन्न तनावको कारण सामाजिक सञ्जाल भएको भन्दै साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन्।

सरकारले पनि धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अपिल गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले धार्मिक, साम्प्रदायिक वा अरू आधारमा घृणा वा द्वेष हुने काम कारबाही नगर्न अपिल गरेको हो।

सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पु¥याउने काम नगर्न सरकारले अपिल गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। शर्माका अनुसार धरानमा जस्तै फेरि बाँकेको नेपालगञ्जमा पनि धार्मिक तनाव उत्पन्न हुने कार्य भएको भन्दै सरकारले सबैलाई यस्ता कार्य नगर्न अपिल गरेको छ।

‘सामाजिक सञ्जाल प्रयोग गर्दा आधाररहित कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पु¥याउने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, शान्ति सुरक्षाको कार्यलाई भंग हुन बढावा दिने, वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न तथा नगराउन नेपाल सरकार हार्दिक अनुरोध गर्दछ,’ मन्त्री शर्माले भनिन्

नेपालगञ्जमा मंगलबार दिउँसो हिन्दू ओमकार समाजको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरमा जम्मा भएर जयश्रीराम झन्डा लिएर न्युरोड, सेतुविकचोक हँुदै सुर्खेतरोड, बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा अनियन्त्रित भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि सुरु भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरिएको छ ।

प्रदर्शनका क्रममा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गत आइतबार मुस्लिम समुदायले आफ्नो धार्मिक आस्थामा चोट पुर्‍याउनेगरी कुनै व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै विरोध जनाएको थियो।

यद्यपि, सो स्टाटसका ’मा ती युवाले नै सामाजिक सञ्जालमा माफी मागेर हटाएको बताइएको छ। विरोध जनाउनेक्रममा उनीहरूले हिन्दू समुदायलाई लक्षित गरी गालीगलौज गरेको भन्दै मंगलबार ओमकार समुदायको अगुवाइमा सो र्‍याली भएको थियो ।

हल्लैहल्लाको पछि लागेर विरोधमा उत्रिएको भन्दै हिन्दू समुदायले आइतबार भएको मुस्लिम समुदायको प्रदर्शनको जवाफ दिन मंगलबार ओमकार समाजले विरोध र्‍याली आयोजना गरेको थियो।

सो विषयमा सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक बसेर सामाजिक सद्भाव र भाइचारा कायम गर्नुका साथै मंगलबार बिहान नेपालगन्जमा सद्भाव र्‍यालीको आयोजना गर्ने निर्णयसमेत भएर बिहान सद्भाव र्‍याली निकालिएको थियो।

नेपालगन्जमा भएको झडपलाई हिन्दू मुस्लिम धार्मिक रूप लिन नदिन कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । मंगलबार बिहान मात्र नेपालगन्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै सद्भाव र्‍यालीसमेत निकालिएको थियो।

उता  हिन्दू राष्ट्र कायम गराउने, गौहत्यालाई कारवाही गर्ने तथा सनातन धर्ममाथिको आक्रमण रोक्नुपर्ने लगायत ११ वटमा माग राखेर राष्ट्रिय सन्त सभाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।

पछिल्लो समय सनातन हिन्दु धर्ममाथि चौतर्फी आक्रमण हुँदासमेत राज्य चुप लागेर बसेको भन्दै सन्त सभाले राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाएको हो।

सन्त सभाले धरानलगायत मुलुकका विभिन्न स्थानमा भएको गौहत्याका दोषीलाई कानुन बमोजिम कारवाही गर्नपर्ने, धरानस्थित बालगोपाल मन्दिर नजिक झुक्याएर बनाइएको चर्चलाई तत्काल स्थानान्तरण गर्नु वा बन्द गर्नुपर्ने लगायतका माग राखेको राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएको हो।

सन्त सभाले सनातन हिन्दु राष्ट्रमाथि सिलसिलाबद्ध आक्रमण हुन लागेको यही क्रम जारी रहे आफूहरु चुप लागेर नबस्ने चेतवनी समेत दिएको छ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले सनातन हिन्दु धर्ममाथि भएको आक्रमणका विषयमा आफूले सरकारलाई सचेत गराउने बताएका थिए। उनले विभिन्न शक्ति केन्द्रले विभिन्न मिशनमार्फत मुलुकमा समाजिक सद्भाव खलल पुर्याउन खोज्ने गरेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहनु पर्ने बताएका थिए।

‘विगतदेखि नै विभिन्न शक्ति राष्ट्रपतिहरुले विभिन्न मिशनमार्फत यहाँ (नेपाल) खेल्ने गरेका छन्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एक जना सहभागीले भने, ‘त्यसतर्फ हामी सबै सचेत हुनुपर्छ। तपाईंहरुको मागका विषयमा म सरकारलाई सचेत गराउँछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *