एनआरएनए आइसीसी उपाध्यक्षमा कतारबाट राजु रेग्मीको उम्मेदवारी घोषणा

डिसी नेपाल
१७ असोज २०८० ११:०८

कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिबेशनका लागि कतारबाट युवा उपाध्यक्ष राजु रेग्मी ‘राज’ले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।

यूरोप भ्रमणमा रहेका रेग्मीले कर्मथलोमा उम्मेदवारी घोषणा कार्यक्रम हुँदा प्रत्यक्ष सहभागी हुन नपाए पनि जुममार्फत उम्मेदवारीको घोषणा गर्दै साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।

कतारबाट आरके शर्माले अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्दा मध्यपुर्वका एनआरएनए अगुवा तथा अधिकांश एनसीसीको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा रेग्मीले उम्मेदवारी घोषणा गरेका सबैलाई सफलताको शुभकामना दिदै आफुले पनि आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको सार्वजनिक गरेका हुन ।

विगत २ दशकदेखि कतारलाई आफ्नो कर्मभूमि बनाउँदै आएका युवा व्यवसायी रेग्मी एनआरएन अभियानमा उदयमान तथा उर्जाशिल व्यक्तिका रुपमा चिनिन्छन । एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।

‘विशेष गरेर मध्यपूर्व वा श्रमिकको मुलुकबाट पनि एनआरएनएमा चासो राख्ने, राम्रो लिडरशिप गर्न सक्ने क्षमताका व्यक्तित्व पनि छन् भन्ने देखाउनुपर्ने अवस्था आएको छ,’ रेग्मीले भने । रेग्मीले यसअघि एनआरएनए आइसीसी मध्यपूर्वका युवा संयोजक, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका युवा उपाध्यक्ष र विभिन्न टास्क फोर्सका संयोजकको जिम्मेवारी निभाई सकेका छन ।

उनले एनआरएनएलाई एक सुढृढ, सफल र सक्षम संस्थाको रुपमा विकास गर्ने दृढ संकल्प बोकेको जनाएका छन । जसको लागि उनले केही एजेण्डाहरु अघि सारेका छन् ।

एनआरएनएमा सबैको अपनत्व बोध गराई युवा पुस्ताको मुद्दा स्थापित गराउने, एनआरएनएमा पद्दति र पारदर्शिता बढाउने, एनआरएनएमा दोस्रो पुस्ताका नेपालीलाई आकर्षित गर्ने, एनआरएनएका सीप, स्रोत र दक्षतालाई नेपालमै प्रयोग गर्ने वातावरण बनाउने र नेपालमा पर्यटन प्रवद्र्धनसँगै सुरक्षित लगानी मैत्री वातावरण निर्माणका लागि सहयोग गर्ने लगायत उनले अगाडी सारेका एजेन्डा  हुन ।

उम्मेदवारी घोषणासँगै उनले सामूहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता जनाउँदै आएका छन् ।

उनले भने,  ‘नेपालको सम्भाव्य क्षेत्रको पहिचान गरी गैरआवासीय नेपाली संघको अभियानमार्फत सामुहिक लगानी गरेर छिटो भन्दा छिटो हाम्रो देशलाई समृद्ध बनाउनु छ । त्यो नै मेरो मुख्य एजेन्डा हो ।’

दोश्रो पुस्तालाई एनआरएनसँग जोड्ने ग्लोवल एनआरएन सिंगिङ आइडलका परिकल्पनाकार समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *