सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
काठमाडौं । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।
नेपाल र अष्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नुपर्नेमा जोड दिए । उनले उच्चस्तरीय भ्रमणले नेपाल र अष्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनर्स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गरे ।उनले युवा राजनीतिज्ञहरूको भ्रमण आदान–प्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।
सभामुख घिमिरेले दुई देशबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा यथाशीघ्र हस्ताक्षर हुन सके दुई देशबीचको व्यापार तथा लगानीले थप गति लिने विश्वास व्यक्त गरे । उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया महत्वपूर्ण गन्तव्य रहेको बताउँदै सभामुख घिमिरेले नेपाली विद्यार्थीहरुका लागि थप छात्रवृत्ति तथा अध्ययनपछि स्वदेशमै फर्कन प्रेरित गर्न आग्रह गरे ।
अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए । सभामुख डिकले नेपालमा पनि अष्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गदै कानुन निर्माण, बजेट लगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment