वार्षिक नाटक मञ्चन कहिले सुचारु होला ? पर्खाइमा छन् रामपुरवासी

नारायणप्रसाद घिमिरे /रासस
१० कार्तिक २०८० १४:१५

रामपुर (ओखलढुंगा) महान् चाड बडादशैं पर्वका अवसरमा हरेक वर्ष रामपुर गाउँ स्थित वरुणेश्वर माविको प्राङ्गणमा मञ्चन गरिँदै आइएको वार्षिक नाटक लामो समयदेखि बन्द हुँदा स्थानीय बुद्धिजीवी, कलाकर्मी, साहित्यकार र कलाप्रेमीहरुले चिन्तित भएका छन्।

२०१८ सालदेखि सुरु भएर लगातार ४५ वर्षसम्म चलेको वार्षिक नाटक मञ्चन २०६३ सालमा बन्द भएको थियो।

स्थानीय बुद्धिजीवी पुष्पराज दाहाल भन्छन्, “स्थानीय अग्रजको नेतृत्वमा हामीले नै नाटक मञ्चन सुरुआत गरेका थियौं। हामी अब वृद्ध भयौं। धेरै वर्षदेखि वार्षिकरुपमा हुने कार्यक्रम बन्द भएको पनि लामो समय भयो। यस्तो महत्वपूर्ण कार्यक्रम बन्द भएकामा मलाई दुःख लागेको छ।”

पूर्वशिक्षक तथा समाजसेवी बलभद्र दाहाल आफू पनि सोही पुस्ताको भएको र २०२७ सालसम्म आफूले नाटक अभिनय गरेको अनुभव सुनाउँछन्। नाटक मञ्चनको उद्देश्य के थियो भन्ने प्रश्नमा उनी राजनीतिक चेतना तथा शैक्षिक जागरणकै लागि नाटक मञ्चनको थालनी भएको बताउँछन्।

समाजसेवी पुष्पराज दाहाल नाटक गाउँलेका लागि मनोरञ्जन दिनका गरिएको बताउँछन्। उनले भने, “दशैंको बेला विशेषगरी नवमीको राति (बेलुका ७ देखि १२ बजेसम्म) आयोजना हुने नाटक दशैंमा सहरबाट घर फर्किने दाजुभाइहरुलाई रमाइलो गराउने महत्वपूर्ण माध्यम थियो।”

उनीहरु नाटक मञ्चनको व्यवस्थापन गर्न विद्यालयका तत्कालीन प्रधानाध्यपक नन्दलाल अधिकारी र शिक्षक वासुदेव दाहाल को भूमिका महत्वपूर्ण रहेको सम्झन्छन्। “नाटकमात्र होइन, विद्यालय स्थापना र शैक्षिक उन्नयनमा प्रअअधिकारी भूमिका अविस्मरणीय छ,” पूर्व शिक्षक बलभन्द्र भन्छन्।

नाटक बन्द हुनाका कारणमा बलभद्र र पुष्पराजको धारणा एकै छ-नयाँ र छिटो मनोरञ्जन दिने सूचना प्रविधिको विकास। नयाँ प्रविधिप्रति नयाँ पुस्ताको अति लगावका कारण उनीहरुले नाटकलाई कम महत्व दिएको उनीहरुको तर्क छ।

समाजसेवी बलभद्रले भने, “शैक्षिक केन्द्रका रुपमा रहेको गाउँमा दशैंका बेला नाटक हेर्न रातका समयमा वारिपारिका आधा दर्जनभन्दा बढी गाउँबाट हजारौं मानिस भेला हुन्थे।”

कलासंस्कृतिको जगेर्ना गरी प्रतिभा प्रस्फुटन गर्न नाटक महत्वपूर्ण माध्यम हो। तर, राजनीतिक तथा शैक्षिक जागरणका हिसाबले जिल्लाकै अग्रस्थान मानिएको गाउँ रामपुरमा नाटक मञ्चन बन्द हुनु चिन्ताको विषय बनेको छ।

यद्यपि नाटक मञ्चनको सुरुआती र पछिल्लो दुवै पुस्ता पुनः सञ्चालन होस् भन्ने पक्षमा छन्।

‘सेन्सर’ पास गर्नुपर्ने नियम

प्रजातन्त्र पुनस्र्थापनापश्चात् आएको शैक्षिक लहरको सिलसिलामा सुरु भएको नाटक दलविहीन पञ्चायतकालमा पनि निरन्तर आयोजना गर्न भने त्यति सहज थिएन।

समाजसेवी बलभद्र भन्छन्, “नाटक (पटकथा) लेखेर प्रमुख जिल्ला अधिकारीलाई पहिल्यै बुझाउनुपर्थ्याे। त्यहाँबाट सेन्सर पास भएपछि मात्रै नाटक खेल्न पाइन्थ्यो। शिक्षक नन्दलाल अधिकारीले पनि हामीलाई एक महिना अगावै ‘अभ्यास’ गराउनुहुन्थ्यो।”

त्यसबेला देखाइने नाटक प्रायः धार्मिक कथामा आधारित हुन्थे। तर कतिपय अवस्थामा बहुदलको पक्षका लागि पनि नाटक खेलेको बलभद्रलाई राम्रो सम्झना छ। उनको समूहले २०२८ सालमा ‘पुनर्जागरण’ नामको राजनीतिक सन्देश बोकेको नाटक खेलेको उनी बताउँछन्। सोही वर्ष दुईओटा नाटक देखाइएको थियो। यसो गर्दा तत्कालीन प्रधानपञ्च गंगा दाहालले पनि सहयोग गरे।

नाटकलाई समावेशी बनाउन चाहे पनि महिलाको भूमिकामा महिला पात्र नै खडा गर्न ठूलो समस्या थियो। त्यसैले, पुरुषहरुले महिलाको भेषमा महिलाको भूमिका खेल्नुपर्थ्याे।

महिला शिक्षामा गाउँ अगाडि भए पनि नाटकमा महिला पात्र पाउन अहिले पनि कठिन रहेको पछिल्लो पुस्ताका सक्रिय नाटक लेखक तथा निर्देशक खिलानाथ दाहाल बताउँछन्।

नृत्य र संगीतका लागि वाद्यवादन नहुँदा उत्तिकै अप्ठ्यारो पर्थ्याे। कतिपय अवस्थामा मादलले मात्रै काम चलाउनुपर्थ्याे। मादल बजाउन दलित समुदायले सहयोग गर्दथे।

ब्राह्मण, क्षेत्री, आदिवासी जनजाति र दलितको संलग्नताले भने नाटक सहभागितामूलक नै हुन्थे।

त्यस्तै, राति देखाइने नाटकका लागि उज्यालो व्यवस्थापन पनि चुनौतीपूर्ण नै थियो। घनश्याम दाहाल, बलभद्र दाहाल, पुष्पराज दाहाल, पुष्पराज दाहाल (भुसुने), लीलाबल्लभ दाहाल, बालकृष्ण दाहाल, रुद्र दाहालहरुको समूहपश्चात् पछिल्लो पुस्तामा नाटक मञ्चन जारी राख्नमा शिक्षक खिलानाथ र गाउँका युवाहरुकोे सक्रियता उल्लेख्य छ।

विसं २०३७ पछि खिलानाथ दाहालले थुप्रै नाटक लेखन तथा निर्देशन गरे। उनका अनुसार वार्षिक नाटक बन्द हुनुमा केवल आधुनिक सूचना प्रविधिको प्रभावमात्र होइन। उनी भन्छन् “राजनीतिक र आर्थिकरुपमा सहयोग पाए नाटक पुनःसञ्चालन गर्न सकिन्छ। सामाजिक सहनशीलता पनि उत्तिकै आवश्यक छ।”

शिक्षक खिलानाथ दाहाल आफूले नाटकसम्बन्धी औपचारिक अध्ययन नगरे पनि नाटक पढेर, अघिल्लो पुस्ताबाट सिकेर र समाजको आवश्यकता बुझेर नाटक लेखेको, निर्देशन गरेको र अभिनय गरेको बताउँछन्।

उनी पनि नाटक मञ्चनलाई ४५ वर्षसम्म अविरल सञ्चालन गर्नमा अग्रजको भूमिका विशेष रहेको स्वीकार्छन्। यस सिलसिलामा देवमणि काफ्ले, धर्मराज अधिकारी, रामप्रसाद अधिकारीको भूमिका पनि अहं रहेको थियो ।

“वरुणेश्वर माविका तत्कालीन प्रधानाध्यापक रामशरण यादवले पनि नाटक लेखन तथा निर्देशन गर्नुभयो। उहाँले पनि मलाई नाटक लेख्न र आयोजना गर्न हौस्याउनु भयो,” खिलानाथले भने।

उनी नाटकको उद्देश्य राजनीतिक चेतनाभन्दा पनि शैक्षिक जागरण नै बढी भएको बताउँछन्। पछिल्लो समय विशेषगरी तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको बेला वार्षिकरुपमा नाटक जारी राख्न समस्या भयो। डराउँदै डराउँदै केही नाटक आयोजना गरिए, तर पूर्णरुपमा बन्द भएनन्।

“मलाई २०६३ सालतिर गरिएको नाटक नै अन्तिम होजस्तो लाग्छ,” २०६३ सालपछि नाटक पुनःसञ्चालन हुन नसकेकामा दुःख लागेको जनाउँदै खिलानाथ भन्छन्, “विश्वासिलो नेतृत्व, नयाँ सन्दर्भ अनुसारको नाटक लेखन तथा भौतिक पूर्वाधार, आर्थिक सहयोग, राजनीतिक सहनशीलता, विचारगत दबाबको अन्त्य र युवाको सक्रियता भए नाटक पुनः सञ्चालन गर्न सकिन्छ।”

अनेक बाधाका बीच पनि २०३७ पछि आफूले लामो समय नाटकलाई निरन्तरता दिएको बताउने उनको जिकिर छ-टिकटक, फेसबुक र युट्युबले नाटक प्रतिस्थापन गर्न सक्दैन।

कुनै बेला नाटकमा छोटो भूमिका खेलेका तेजप्रसाद घिमिरेले पनि खिलानाथले भने झैँ युवाहरु सक्रिय भए नाटकलाई निरन्तरता दिन सकिने बताए। “नाटक लेखन र निर्देशन भए आफू र केही युवा साथीहरु अभिनयमा सहयोग गर्नेछौं,” उनले भने।

समाजको चित्रण र जागरणको माध्यम नाटक यसरी बेवास्तामा परेको कुरा एक साहित्यकारलाई जानकारी गराउँदा उनले पनि यस्तो सुन्दा अन्यन्त दुःख लागेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *