एनआरएनएलाई कसरी सुधार्ने?

देवराज न्यौपाने
१९ कार्तिक २०८० ६:४१

यो अहिलेको धेरैको चिन्ता हो। एनआरएनए अभियन्ता हुँ भन्ने सबैलाई मेरो प्रश्नः तपाईलाई म एउटा कांग्रेसी, एमाले या माओबादी भनेर चिनौं कि एनआरएन अभियन्ता भनेर? तपाईं आफूलाई कसरी परिचित गराउन चाहनु हुन्छ?

जब म एउटा एनआरएनको नेताले आफूलाई राजनीतिक रंग दिने र अरुलाई त्यसै हिसावले आफ्नो या दुस्मनको ब्यबहार गरेको पाउँछु मेरो खुन उम्लेर आउँछ। एनआरएनए जस्तो बिशुद्ध सामाजिक संस्थालाई राजनीतिक रंगबाट बिशुद्ध राख्नु पर्छ, अन्यथा यसको उद्देश्य र बिधान बिपरित हुन्छ भन्ने समेत नबुझेका नकचराहरुको बुद्धी देखेर टिठ लागेर आउँछ।

यो एनआरएनए भन्ने संस्था खासगरी अमेरिकामा हिजोका दिनमा एकलौटी जन सम्पर्क समिति (कांग्रेसी) मा राजनीति गरिरहेकाहरुको थियो। कांग्रेसीहरु गुट गुटमा बिभाजित भएर आपसमा लड्न थाले र कमजोर बनेको मौका छोपी एमाले (प्रबासी नेपाली संघ) का र राप्रपाका नेताहरुले अलेली टाउको घुसार्ने मौका पाउन थाले। यसलाई समावेशी या सबैलाई समेटेको भनियो ।

नेपालमा कांग्रेसले बोकेर माओवादी सत्तासिन भएको फाइदा यहाँका माओवादीले नि उठाउँदैछन् अहिले। यसरी यो संस्था बिदेशमा बसेर पनि नेपालकै बिभिन्न राजनीतिक गुट उपगुटमा बिभाजितहरुको सिंगौरी घिनलाग्दो खेल खेल्ने मैदान बनाएका छन्।

सबैको आ-आफ्नो राजनीतिक आस्था या समर्थन हुन सक्छ, त्यो आफ्नो ठाऊँमा छ। कसैको धार्मिक राजनीतिक जे आस्था छ त्यसलाई सम्मान गर्नपर्छ। हिजोका दिनमा हरेकले कतै समर्थन देखाए होला भोट हाले होला, ती कुराहरुको वास्ता नगरी एनआरएनएको भावना र उद्देश्य बमोजिम निःस्वार्थ सामाजिक काममा दत्त चित्त धेरै मानिसहरु छन, एकोहोरो सामाजिक काममा लागिरहेका छन्, समाजमा योगदान पुर्‍याइ रहेका छन् र जसका कारण सामाजिक रुपमा प्रतिष्ठित पनि छन्।

तर यिनीहरुलाई एनआरएनएले समेट्दैन। चुनावी फोहरी खेलमा, गुट उपगुट, किनमेलको फोहरी प्रतिस्पर्धामा प्रवेश गर्न असम्भव छ। यसै कारण हो कि यो संस्थालाई आम प्रवासी नेपालीको नाममा भजाइएको छ र बदनाम गरिएको छ, अनि हामी टुलु टुलु हेर्न र सहन बाध्य छौं।
यो संस्थालाई बिधानमै आमुल परिवर्तन गरेर संगठन निर्माण गर्ने र काम गर्ने कुरामा प्रकृया र सैलीमा आमुल परिवर्तन नगरे सम्म यो बिकृती कायमै रहनेछ।

म राजनैतिक आस्थाको हिसावले एमाले हुँ, लुकाउनु पर्ने कुरा केही छैन। तर जनबर्गीय संगठन बनाएर यहाँ जसरी नेपालका गुटहरुको राजनीति भैरहेको छ, प्रवासमा नेपाली समाजलाई बिभाजित गर्न खोजिएको छ, हरेकलाई एउटा नेपाली भन्दा पनि राजनीतिक लेवल लगाएर हेर्न खोजिएको छ, एनआरएनए र सामाजिक संघ संस्थामा बार्गेनिङ गर्ने, लबी गर्ने हतियार बनाइएको छ र संस्थालाई बिकृत पार्न खोजिएको छ, म यसको बिरोधी हुँ।

म त यसलाई सामाजिक अपराध मान्दछु। सामाजिक संघ संस्थाहरुलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु पर्छ भन्ने मान्यता र इमान्दारिता नेपालदेखि यहाँ सम्मका राजनीतिकर्मीहरुमा नभएसम्म एनआरएनएलाई यो बिकृतीबाट मुक्त गर्न गाह्रो छ। यो कुरा हाम्रो देश नेपालको सम्मुनतिका लागि पनि दुर्भाग्यपूर्ण छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *