हमास र इजरायलबीच हिजो भएको युद्धबिराम सम्झौता लागू नहुँदै अचानक स्थगित

डिसी नेपाल
७ मंसिर २०८० १३:२३
1.0k
Shares

काठमाडौं । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता अन्तर्गत लागू गरिएको अस्थायी युद्धविराम अचानक स्थगित भएको छ। यो सम्झौताको पहिलो चरण हो।

यो युद्धविराम स्थानीय समय अनुसार १० बजेदेखि लागू हुनुपर्ने थियो, जसको केही घण्टापछि हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने तय थियो र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेवाला थियो ।

केही समयअघि इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले एक ब्रीफिङमा युद्धविराम कहिले सुरु हुने हो थाहा नभएको बताएका थिए ।

अब इजरायलको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले दुई पक्षबीचको वार्ता अगाडि बढिरहेको र जारी रहने तर बन्धकहरूलाई शुक्रबारसम्म रिहा नगरिने बताइरहेका छन्।

अहिलेसम्म थाहा भएको कुराअनुसार युद्धविराम लागू गर्न महत्त्वपूर्ण ढिलाइ हुनेछ । अब यो सम्झौता २४ घण्टा वा त्योभन्दा बढी ढिलाइ पछि भोलि मात्र लागू हुनेछ।

बुधबार इजरायल र हमासले औपचारिक रूपमा यो सम्झौताको घोषणा गरेका थिए।

सम्झौता अनुसार हमासले चार दिनको युद्धविरामको सट्टामा ५० इजरायली बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले आफूले बन्दी बनाएका १५० प्यालेस्टिनीलाई रिहा गर्नेछ।

इजरायलले जारी गरेको विज्ञप्तिमा थप १० जना इजरायली बन्धकलाई रिहा गरेमा थप एक दिनको युद्धविराम दिइने बताइएको छ । हमासले अक्टोबर ७ मा भएको आक्रमणपछि २ सय ४० इजरायलीलाई बन्धक बनाएको थियो ।

हमासको विज्ञप्ति अनुसार यी चार दिनमा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौं ट्रक गाजा प्रवेश गर्नेछन्। इजरायलले न त कुनै आक्रमण गर्नेछ न त कसैलाई गिरफ्तार गर्नेछ। यस सम्झौतामा कतार, इजिप्ट र अमेरिकाको महत्वपूर्ण भूमिका रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *