गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन नभएपछि जहाजको डेमो बनाएर विरोध

डिसी नेपाल
९ मंसिर २०८० १०:४५

भैरहवा। भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल २०७८ कार्तिक ६ गते उद्घाटन भई सञ्चालनमा आएपनि नियमित रुपमा उडान अवतरण नभएपछि व्यवसायीहरु निराश भएका छन्।

निराश पनि किन नहोउन राज्यले विमानस्थल निर्माण र संचालनमा खर्च गरेको भन्दा बढि लगानी निजी क्षेत्रले गरेका छन्।

निजी तथा सामाजिक क्षेत्रका संघसंस्थाहरुको संस्था सिद्धार्थ संजाल रुपन्देहीले पनि कार्तिकको दोस्रो साताबाट विमानस्थल पूर्ण रुपमा संचालनका लागि आन्दोलन गरिरहेका छन । विमानस्थल नियमित सञ्चालन गर्न पटक पटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले उनीहरु आन्दोलनमा उत्रेका हुन्।

आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई एकमहिने अल्टिमेटमसहित ज्ञापनपत्र दिइसकेको छ । त्यस्तै, कात्तिक १५ गतेदेखि सम्बन्धित निकायहरुमा पत्राचार भेटघाट तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउने, आन्तरिक हवाई टिकट विक्री नगर्नका लागि हवाई एयरलायन्सहरुमा पत्राचार गर्ने र विरोधस्वरुप शान्ति र्‍याली निकालिन, आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना दिने, आन्तरिक हवाई उडान बन्द गर्न दबाबस्वरुप धर्ना तथा विरोध प्रदर्शन गर्ने र मंसिर २५ गतेदेखि अनिश्चितकालका लागि आन्तरिक हवाई उडान र बेलहिया नाका पूर्ण रुपमा बन्द गर्न आह्वान गर्ने लगायतको आन्दोलनको तय भएको छ ।

विमानस्थललाई नै केन्द्र बनाई निजी क्षेत्रबाट अर्बौको लगानी भइसकेको र भइरहेको छ । उद्घाटन भएको २ वर्ष बित्दा पनि नियमित रुपमा बिमानहरु आउन नसकेको कारण यहाका उद्योगी ब्यवसायी निराश छन् । अहिले यहाँ निजीक्षेत्रको जुनसुकै कार्यक्रम होस विमानस्थलकै एजेण्डा पहिलो बनने गरेको छ ।

मंसिर ६ गतेबाट भैरहवामा उद्योग ब्यपार संगठन रुपन्देहीको आयोजनामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव हुदैछ, महोत्सवमा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिनका लागि आयोजकले प्रवेशद्वार नै विमानस्थलको अनुभुत हुने गरि बनाएका छन ।

बिरोधको कार्यक्रमलाई जनस्तरमा लैजान एवम अन्र्तराष्ट्रिय बिमानस्थल नियमित रुपमा सञ्चालनमा ल्याउन दबाब दिने उद्देश्यले प्रवेशद्वारमा जहाजको आकृति दिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

बिमानस्थललाई नै हेरेर यहा अर्बौें लगानी भएको छ । काठमाण्डौमा जाम छ तर भैरहवामा तयारी अवस्थामा रहेको विमानस्थल चलाउने तर्फ सरकारले नै उदासिनता देखाएपछि जनस्तरमै दबाब श्रृजना गर्नका लागि जहाजको डेमो बनाएको हो । करिब ५ लाखको लागतमा भारतबाट कालीगढ बोलाएर प्रवेशद्वारमा बिमानको आकृति तयार गरिएको हो ।

मेला अवलोकनका लागि आउने दर्शकको पहिलो नजरमै यहि परोस भन्ने मनसायले पहिलो इम्प्रेशन पार्न बिमान निर्माण गरिएको हो । कतिले यसको व्याख्या फरक गर्लान तर यो बनाउनुको एक मात्र उद्देश्य व्यवसायीहरुको पिडा अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनको लागि दबाब दिनु नै हो ।

‘हामी अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन पर्दछ भन्ने मागसहित आन्दोलनमा छौँ । यसका लागि जहाँबाट पनि हामी सरकारको विरोध गर्दछौँ,’ संगठनका पूर्वअध्यक्ष नारायण भण्डारीले भने ।

यो व्यवसायीहरुको पिडा बोलेको हो गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल बनेपछि रुपन्देहीको पर्यटन क्षेत्रको मुहार फेरिने आसमा बसेका पर्यटन व्यवसायीले विमानस्थललाई लक्षित गरी करिब ४० अर्ब रुपैयाँ होटेल क्षेत्रमा लगानी गरेका छन् । विमानस्थल नियमित सञ्चालन नहुँदा अहिले रुपन्देहीका ३० प्रतिशत होटेल बैंकको लिलामी प्रक्रियामा गइसकेको छ । बैंकको ब्याज र धरपकडले आत्माहत्या गर्ने अवस्थामा पुगेका छन् भने अझै पनि विमानस्थल पूर्ण क्षमतामा नचल्ने हो भने अवस्था भयावह हुन्छ’ उनले भने ।

हामीहरुले जति सक्यो चाडो नियमित अन्तर्राष्ट्रिय उडान भर्न , नेपाल वायुसेवा निगमको जहाजहरुबाट उडान भर्न र कुटनीतिक पहलकदमी सहित अन्य अन्तराष्ट्रिय उडानको माग गरेका छौ । संचालनमा आएको २ वर्ष वित्दा पनि विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान नहुनु हामी सबैको लागि दुखद हो । हामीहरुको एक मात्रै एजेण्डा अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान हुनु रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने।

निजी क्षेत्रको पिडा कसले बुझने हामीहरुको अहिले एकसुत्रीय मुद्धा नै अन्तराष्ट्रिय विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान हुनु नै हो, यसले मात्रै निजी क्षेत्रलाई बचाउन सकिन्छ । यस क्षेत्रको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै भएको लगानी डुब्ने र उद्योगी व्यवसायी सडकमा आउने अध्यक्ष श्रेष्ठले भने । एकातिर निजी क्षेत्रको अर्बौं लगानी खेर गइरहेको छ भने विमानस्थलको लगानी पनि जोखिममा छ।

‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बचाऔँ’ भन्ने नाराका साथ सिद्धार्थनगर– ८ स्थित अञ्चलपुरमा महोत्सव हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *