नक्कली भुटानी शरणार्थी प्रकरण : आज फैसला हुँदै

डिसी नेपाल
१५ मंसिर २०८० ७:४१

काठमाडौं। उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ बिहीबार सकिएको छ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

जिल्ला अदालत काठमाडाैंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो।

अदालतमा जारी बहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन्। आज आउने फैसालाले खाणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निर्क्याैल हुनेछ।

बुधबार सरकारी पक्षबाट सरकारी वकिलहरूले बहस सकेका थिए। बिहीबार नै फैसला सुनाउने बताइए पनि जवाफी बहस सक्न समय लागेका कारण शुक्रबार फैसला सुनाइने उच्च अदालत पाटनका प्रवक्ता भट्टराईले जानकारी दिए।

अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउनेछ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौँ रकम उठाएर ठगी गरेको प्रकरणमा पूर्व-उपप्रधानमन्त्री र पूर्वगृहमन्त्री सहितका व्यक्ति प्रतिवादी छन्।

नेकपा एमालेका नेता तथा पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *