९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

डिसी नेपाल
१५ मंसिर २०८० १३:३८

सिरहा। सिरहा गोलबजार नगरपालिका- ८ चोहर्वाका इनरजित महरा स-साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना भयाे।

उनीसँगै गाएका साथीहरु १८ घण्टा काम गर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आइसके। फर्केर आएकाहरुले सुनाएको कहाली लाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षीया बुधनी महराको आँखा ओभाएको छैन।

बुधनीले भनिन्, ‘साना नानीहरु छोडेर गएका छोराले कमाएर ल्याउला भन्ने आशा गरेको थिएँ। अहिले छोराको जीवन नै धरापमा परेको छ। सुन्छु त्यहाँ काम गर्ने बातावरण नै छैन। १८ घण्टा काम गर्नु पर्छ। साथीभाइसँग बोल्दा पनि कुटपिट गर्छ। शौचालय जाँदा पनि पाले साथ लगाउने र किल्ला ठोकेको काठले कुटपीट गर्ने गर्छ।’

साथीहरुसँगै गएका नरहा गाउँ पालिका-३ खोरीयाका जुग्नु खानकी श्रीमती खात्मा खातुन पनि श्रीमान बन्धक बनाएको खवर सुनेपछि बेचैन छिन्।

राम्रो कमाई हुने भनेर गएको श्रीमान बन्धक भएको खवरपछि श्रीमान फर्काइ दिन गाउँका अगुवाहरु गुहारी रहेकी छिन्। उनी अहिले ३ छोरी र १ छोरासहित घरमा बसेपनि उनको मन श्रीमान् कसरी फर्काउने भन्ने पिरलोमा छिन्।

उनीहरुसँगै गोलबजार नपा-११ का प्रदीप सदा, इन्दल सदा, गोलबजार- ८ चोहर्वाका सोभित उराउँ, इनरजित महरा, सरुण महारा, टेकुवा महतो, नरहा गाउँपालिका-३ खोरियाका जुग्न खान, समशेर खान, इरसाद, गुलजार सहित २१ जनाको समूहमा भारतको पञ्जाव चामल मिलका काम गर्न गएका थिए।

पञ्जाव स्थित राइस मिलमा मासिक २० हजार भारतीय रुपैयाँ र खाने, बस्ने सुविधा दिने सर्तमा सिरहाकै सुखिपुर नगरपालिका-१० का ४० वर्षीय विजय मण्डलले उनीहरुलाई गत भदौको पहिलोसाता भारतको पञ्जाव लगेका थिए। विजयले जाने वेला कतिपय मजदुरलाई घर खर्चको लागि पाँच हजार नगद समेत दिएका थिए।

दैनिक १२ घण्टा काम गर्ने सर्तमा गएका उनीहरुलाई दिनरात काम गराउने, एकछिन ढिलो गर्यो भने कुटपीट गर्ने, राति सुत्दा पनि बाहिरबाट कुण्डा लगाउने गरेकले भागेर घर आउन सफल समिमले बताए।

उनले भने, ‘१८-२० घण्टा काममा लगाउने, शौचालय जाँदा पनि पालेलाई साथ लगाउने, घरमा फोनसमेत गर्न नदिने, साथीभाइको फोनबाट फोन गर्दा मोवाईल फोडिदिने र कुटपीट गर्थे। पशुलाई जस्तै व्यवहार गरेपछि हामी भाग्न विवश भयौं।’

भागेका मध्ये मोहमद मुखतारले दुई तीन दिनदेखि याेजना बनाएकाे र एक दिन राति पानी परेको मौका छोपेर पर्खाल नाघेर भागेकाे बताए। भागेको चार दिनसम्म भोक्कै बसेर ट्रेनमा पनि टीटीसँग अनुनय विनय गरेर घरसम्म आएकाे उनले बताए। गएकामध्ये १२ जना भागेर आए पनि इनरजित महरा, जुग्नु खान, सोभित उराउँ, इरसाद खानसहित ९ जना अझै बन्धक नै छन्।

छोरा बन्धक भएको भन्ने जानकारी पाएपछि इनरजितकी आमा बुधनी महरा र सोभित उराकी आमा-बुबा विल्टौनियाँ देवि र भोरील उराउले अस्थायी प्रहरी पोष्ट, सुखिपुर ७ शिवचौकमा विजय मण्डलको विरुद्ध ठाडो उजुरी दिएका थिए।

उजुरीपछि कात्तिक १७ गते अभिभावक र विजय मण्डलवीच १० दिनभित्र बन्धक रहेका सवै मजदुरलाई घर ल्याइदिने सहमति भएको थियो। सहमति पछि विजयलाई सुखिपुर नपा १० का वडा अध्यक्ष देवनारायण यादवको जिम्मामा लगाइएको थियो।

सहमतिको एकमहिना हुन लागेपनि अहिले विषय सम्पर्कमा छैन। प्रहरीले लामो समय सम्पर्कमा नआएपछि पटक-पटक घरमा गएर खोजीरहेको बताएको छ। तर, प्रहरीले खेजीरहेको भनेपनि कहिलेकाँही गाउँघरमा देखिने गरेको विजयकै एक छिमेकीले बताए।

जिम्मा लिएको वडा अध्यक्ष यादवसँग बुझ्दा उनले सहमति भएको दिनदेखि आफ्नो विजयसँग भेट नभएको बताए। उनले भने, ‘विजयले १० दिनभित्र सवै मजदुरलाई घर ल्याईदिन्छु भनेका थिए, त्यसपछि सम्पर्क भएको छैन, के भएको रहेछ म बुझ्छु।’ फर्केर आएकाहरुले ओहान ओभरसिज जस्टिन लेखिएको कम्पनीमा बन्धक बनाएर राखेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *