अनुहार रंग्याउँदै चित्रकार

डिसी नेपाल
१७ मंसिर २०८० ७:३६

भैरहवा। भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको स्टल नं. आइटी १ र २ मा एक हुल झुम्मिएको थियो।

कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए। भिड देखेर चित्रकारहरुको ब्रस चलाउने रफ्तार पनि तीव्र थियो।

एकै साथ ५-६ जना कलाकारलाई भ्याइ नभ्याई थियो। कोही हेर्नलाई बसेका थिए भने कोही पालो कुरेर। यो दृश्य भैरहवा महोत्सवमा फेस पेन्ट गर्ने जमातको थियो।

हातमा ब्रस र रङ लिएर मेला अवलोकनको अनुहारमा नेपालको झण्डा लगायत विभिन्न आकृतिहरु बनाउने काम चित्रकारहरुले गरिरहेका थिए। ग्राहकको इच्छा अनुसार भनेकै आकृति उनीहरुले दर्शकको अनुहारमा उतार्ने काम गरिरहेका थिए।

यी सबै दृश्य नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीको स्टलमा हो। मेलामा सबैको अगाडि अनुहारमा चित्रकला देखाउने अवसर पाएको संघका अध्यक्ष उज्जवल कुमार दे कास्तले भने, यो हाम्रो लागि ठूलो अवसर हो यस्तो ठाँउ हामीले पाएका छौ जहाँ आफ्नो कला देखाइरहेका छौं।’

उनले भने, ‘पहिलो दिन केही बच्चाहरुको अनुुहारमा राष्ट्रियता झल्किने नेपालको राष्ट्र झण्डो फेस पेन्ट गरेका थियाैं त्यसैबाटै राम्रा सन्देश गएर अहिले भिडभाड हुने गरेको छ।’ आफूहरु मेला, महोत्सवमा यसरी समूहमा कलाकार जुटेर फेसपेन्ट गरेको पहिलो अनुभव रहेको कोषाध्यक्ष बिसन गुरुङले भने।

मुहारमा पेन्ट गर्ने सौख बढ्दै गएको छ। आफूलाई अरूभन्दा पृथक् देखाउन पनि रहरको लागि फेस पेन्ट गर्ने गर्दछन्। महोत्सवमा अनुहारमा यो कलालाई अवलम्बन गर्ने लाइनमा नै बस्ने गर्छन्। फेस पेन्ट पछिल्लो क्रममा फेसन स्टाइलकै रूपमा लोकप्रिय बनिरहेको कोषाध्यक्ष तथा चित्रकार गुरुङले भने।

बच्चा युवा मात्रै होइन, व्यस्कहरु पनि यो स्टाइलमा झुमिएका छन्। गालामा विभिन्न आकृति बनाउदा फेसनेबल त देखाउँछ, अरु भन्दा पृथक् पनि देखाउँछ फेस पेन्ट गराइरहेकी प्रिती क्षेत्रीले भनिन्। आफूलाई लागेको सौख पूरा गरेको उनले भनिन्।

फेसनमा केही अगाडि बढ्दै गएको महोलमा भैरहवामा पनि फेस पेन्टको क्रेज बढ्न लागेको छ। ठूला ठूला कार्यक्रम वा मेला महोत्सव, म्युजिकल कन्सर्टदेखि खेल प्रतियोगितामा मुहारमा विभिन्न आकृति सहितको फेस पेन्ट गर्न धेरैले रुचाउँछन्। मुहार रंग्याउनेले सानो-ठूलो आकृति बनाएर केही शुल्क भने लिने गरेको संघले जानकारी दिएको छ।

अहिले मेलामा पनि फेस पेन्ट बनाउन आउने युवाको डिमान्डले कलाकारलाई पनि भ्याइनभ्याई छ। आफूलाई मन परेका विभिन्न आकृति, नेपालको झण्डा, पुतली, फूल, एङ्ग्री बर्ड, हेल्लो किट्टी, फुटवल, आगोको भिल्का, नामलगायत विभिन्न आकृतिमा फेस पेन्ट गराएको छन्, बच्चादेखि तन्नेरीको रोजाइ नै भिन्नभिन्न आकृतिको फेस पेन्ट भएको छ।

नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले महोत्सवमा सहयोगार्थ स्टल राखेको छ। आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध भएका छन्।

कलासँग सम्बन्धित व्यवसायी स्वरोजगार कलाकारहरूको पेशागत हकहितको रक्षाका लागि हामी एकजुट भएका छौं। फरक फरक व्यापारिक प्रतिष्ठानका संचालकहरु पालै पालो आफ्नो कलालाई मेला अवलोकन कर्ता सामु पुर्याउनका लागि मेला एक थलो बनेको छ।

कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको कलाकारहरु बताउँछन्। पहिलो पटक मेलामा संघले स्टल राखेको छ।

कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको डिजाइनर आकाश चौधरीले भने।

उनीहरुले कला शीप र क्षमताको मूल्यांकन नहुने, जो वास्तविक कलाकार वा श्रमिक छ उसको श्रम शोषण हुने, ठूला पूँजी र गैरआर्टिस्ट वर्गको अधीनभित्र रहेर काम गर्नुपर्दा वास्तविक कलाकार श्रमिकहरूको श्रम शोषण हुने तथा राज्यबाट समेत कलाजिवीहरूको दायरालाई संकुचित पार्ने काम भएको बताए।

संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी-थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *