गगन सहभागी नहुने भएपछि एक दिन पर सर्‍याे शेखर समूहको बैठक

शेखर समूहको बैठकमा विश्वप्रकाश शर्मालाई बाइपास

डिसी नेपाल
२६ मंसिर २०८० ७:४९

काठमाडौं। कांग्रेसभित्रको फरका धारको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाले आजलाई बोलाएको आफ्नो समूहको बैठक एकदिन पछि सारेका छन्।

मंगलबार दिउँसो एक बजे अनुपम फुडल्याण्डमा बस्ने गरी डा.कोइरालाले बैठक बोलाएका थिए। तर बैठकमा महामन्त्री गगन थापा अनुपस्थित हुने भएपछि कोइरालाले बैठक एक दिनपछि सारेका हुन्।

कोशी प्रदेशमा पार्टीबाट विद्रोह गरेर एमालेको सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा आफूसँग छलफल नगरेको भन्दै थापा कोइरालासँग असन्तुष्ट छन्। त्यसयता यी दुई नेताबीच भेटघाटसमेत नभएको बताइन्छ।

मंगलबारका लागि तय भएको बैठकमा महामन्त्री गगनलाई पनि बोलाइएको थियो। तर थापा बैठकमा सहभागी नहुने सन्देश कोइरालालाई पठाए।
त्यसपछि कोइरालाले गगनका ससुरासमेत रहेका नेता अर्जुननरसिंह केसीमार्फत मनाउने प्रयास गरे।

केसीले गगनसँग कुरा गरेपछि बुधबार बैठक राख्ने गरी सहमति भएको स्रोतले जनाएको छ। गगनको मंगलबार जनकपुरमा पूर्व निर्धारित कार्यक्रम भएका कारण सो कार्यक्रम सार्न नमिल्ने भएपछि डा. कोइरालाले आफ्नो समूहको बैठक एक दिन पर सारेका हुन्।

तर डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने जिल्लाबाट महत्वपूर्ण नेताहरु आउन बाँकी रहेकाले बैठक एक दिन पर सारिएको बताए। ‘अहिले बाहिर जसरी प्रचार भइरहेको छ, त्यस्तो केही पनि होइन, महामन्त्री गगन थापा पनि बैठकमा सहभागी हुनुहुन्छ। तर केही साथीहरु जिल्लाबाट आउन बाँकी रहेकाले बैठक एक दिन पर सारिएको हो,’ थपलियाले डिसी नेपालसँग भने।

बैठकमा अर्को युवा नेता प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भने बोलाइएको छैन।
बैठकमा आफू निकटका केन्द्रीय सदस्य, सांसद, गत महाधिवेशनमा आफ्नो प्यानलबाट निर्वाचन लडेका पदाधिकारी, प्रदेश समापतिमा निर्वाचित र पराजित दुवैलाई बोलाइएको छ।

राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कोइराला निकट नेताहरुले बताएका छन्।
महामन्त्री गगन थापालाई बैठकमा बोलाइए पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भने बोलाइएको छैन। शर्मा औपचारिक रुपमा आफ्नो समूहमा नआएको भन्दै शर्मालाई बैठकमा नबोलाइएको हो।

गत महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका थिए। त्यसअघिसम्म उनी संस्थापन पक्ष निकट मानिन्थे। तर सभापति शेरबहादुर देउवाले टीममा समावेश नगरेपछि उनी नेता सिंहको प्यानलबाट महामन्त्रीमा लडेका थिए। र निर्वाचित पनि भए।

पार्टी रुपान्तरणको पक्षमा आवाज उठाउँदै आएका शर्माले संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई साथ लिएका थिए भने अन्य कतिपय मुद्दामा पनि उनले थापालाई साथ दिँदै आएका छन्।

जतिबेला महामन्त्री थापा डा. कोइरालाको समूहमा थिए। त्यसअर्थमा शर्मा पनि कोइराला समूहमा जान सक्ने चर्चा चलेको थियो। तर उनले आफू कुनै पनि समूहमा संलग्न नहुने अभिव्यक्ति दिएपछि डा. कोइरालाले शर्मालाई विश्वास गर्न नसकेको उनी निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *