कोशी छिर्‍यो एमालेको समृद्धिको लागि संकल्प यात्रा, सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
२६ मंसिर २०८० ११:१३

काठमाडौं। १३ दिनदेखि झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा चलाईरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आजबाट कोशी प्रदेश प्रवेश गर्ने भएको छ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्दै छ।

आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदै छ। घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने छ। एमाले अध्यक्ष ओली नेतृत्वको टोली मंगलबार उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गर्नेछन्।

एमालेको यात्रालाई अवरोध पुर्‍याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन्। उनीहरूले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टि राख्ने समूहलाई अवरोध गर्ने बताएका छन्।

पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुने संकल्प यात्राको क्रममा मंगलबार उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिने एमाले कोशीले जनाएको छ।

बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि आरम्भ भई आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने उक्त यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीसहित दैनिक नियमित कम्तीमा दुई सयको सङ्ख्यामा नेता कार्यकर्ता एउटा जिल्लामा जनसभा र जनस्तरका संवाद सकेर बास बस्दै अर्काे दिन अर्काे जिल्लामा पुगेर कार्यक्रम गर्न व्यस्त हुने गरेका छन्।

यात्रामा छिमेकी जिल्लाका टोली थपिँदा दैनिक पाँच सय यात्रु हुने गरेका तथा बास बस्ने र खाना खाने समयमा उक्त संख्या दैनिक दुई हजारसम्म हुने गरेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्ने एमालेको यो यात्राका क्रममा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विकासका बीच पहाडी क्षेत्रमा तीव्र बसाइँसराइँ बन्न गएकाले समृद्धिको अभियानअन्तर्गत उक्त क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभियानका क्रममा अवलोकन गरिने एमालेले जनाएको छ।

एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ। नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ।

गत फागुन १७ गते तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि पहिचानवादीहरु आन्दोलित बनेका छन्। उनीहरुले पहिचानका आधारमा लिम्बूवा, किरात, खुम्बुवानलगायतका नाम राख्नुपर्ने माग गर्दै आएका छन्।

कोशी प्रदेशमा अवरोध नगर्न आग्रह

कोशी प्रदेशसभाबाट पारित भएको कोशीको नामकरणप्रति असन्तुष्टि जनाउँदै एकल पहिचान पक्षधरले सो प्रदेशमा एमालेको यात्रालाई रोक्न बन्दलगायतका कार्यक्रम सार्वजनिक गरेका छन्।

घुर्मीदेखिका कार्यक्रममा अवरोध हुने त होइन भन्ने प्रश्नमा नेता गौतमले एमाले कसैसँग लड्न र भिड्नका लागि नभई जनतासँग विकास निर्माणका विषयमा जागरणका लागि हिँडेकाले अवरोध र बन्द गर्नुपर्ने कुनै कारण नभएको बताए।

“प्रदेशसभाबाट सर्वदलीय सहमतिका साथ कोशीको नामकरण भएको हो। यसमा असन्तुष्टि भए संवैधानिक र कानुनी प्रक्रियाबाट प्रदेशसभामै प्रस्ताव लैजानुपर्ने हुन्छ। जो कोहीले पनि आफ्ना असन्तुष्टि शान्तिपूर्णरुपमा राख्न पाउँछन्। तर अरुका कार्यक्रमलाई विथोल्ने र ढुंगामुढा गर्ने धम्की दिनु राम्रो होइन। कसैको उक्साहटमा अवरोध भएमा हामी त्यसलाई जनताको बलमा तोडेर अघि बढ्छौं”, सङ्खुवासभाका पूर्वसांसद गौतमले भने, “जनतासँग घुलमिल हुने एमालेको अभियानबाट कतिपयको टाउको दुखेको हुनसक्छ। तर हामी जनताबाट अलग हुन सक्दैनौं। कुनै राजनीतिक मुद्दा भए आपसी संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिन्छ, त्यसका लागि एमाले तयार छ। हामी सहमतिका आधारमा मुलुकको समृद्धि र विकासका पक्षमा छौं।”

पहिचान पक्षधरले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै आएका छन्। नेता गौतमले पहिचान पक्षधरलाई बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरे।

एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *