सरकारले अब यति हिम्मत गरोस्

पूर्ण ओली
२७ मंसिर २०८० ८:०४

देशमा अहिले भ्रष्टचारले पराकाष्टा नाघिसकेको छ। प्रमुख नेता र उनीहरुका परिवार नै ठूला भ्रष्टचारमा संलग्न सप्रमाण बाहिर आइसकेका छन्। यसको सुरुवात नेपाली काँग्रेसका तात्कालीन सभापति र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट सुरु भएको हो।

उनकी छोरी सुजाता जोष्ट जर्मनबाट फर्केर आएपछि बाबुको शक्तिको दुरुपयोग गरी अकुत सम्पति कमाइन्। उनले आफ्ना बंगलादेशी ज्वाइँ रुबेल चौधरीलाई समेत भ्रष्टचारमा सगाइन्।

पछि जनतामा ब्यापक बदनाम भएपछि रुबेल बंगलादेश गए। त्यसपछिका प्रधानमन्त्री शेरबहादुरको पालामा ठूला ठूला भ्रष्टचार काण्ड भए। त्यसमा उनकी पत्नी आरजू राणा हरेकजसो भ्रष्टचार काण्डमा संलग्न भएका मिडियामा छताछुल्ल भइरहेको छ।

त्यसपछि देशको लागि केही राम्रा काम गरेका केपी ओली दोश्रो पटक प्रधानमन्त्री भएपछि धेरै नीतिगत भ्रष्टचारमा मुछिएका खवर बाहिर आए। केपी ओलीको परिवार भ्रष्टचारमा मुछिएको नदेखिएपनि उनका पिए नक्कली भुटानी शरणार्थी काण्डमा पैसा लिएको कुरा बाहिर आएको छ।

हालका प्रधानमन्त्री प्रचण्ड क्यान्टोन्मेन्ट काण्डदेखि अहिले सुन काण्डमा पूरा भासिएका छन्। उनका भाटभटेनीलगायत धेरै ब्यापारमा शेयर भएको कुरा बाहिर आएका छन्।

यदि समयमै सरकारले जनताको हितमा ठोस नीति बनाएर कार्यन्वयन नबनाउने हो भने नेपालमा युवा शून्य हुने दिन आउने छ। बाँकी भएका केही झोले पनि भड्किएर सरकारको बिरुद्धमा बिद्रोह गर्ने संभावना बढ्दै छ। सरकारले हिम्मत गरेर राष्ट्र र जनताको हितमा ठोस निर्णय गरोस्।

एनसेल काण्डमा ठूला दलका सबै प्रमुख नेताहरु संलग्नता भएको कुरा संचार माध्यममा देखिन्छ। काँग्रेस र माओबादीका नाम चलेका नेताहरु पनि भुटानी शरणार्थी काण्ड र सुन काण्डमा संलग्न भएका पाइए।

नेपालमा अबैधरुपमा सुन आउन थालेको पञ्चायती ब्यबस्थादेखि नै हो। त्यतिखेर पनि केही बरिष्ठ ब्यक्ति बाहिरबाट आउँदा सुन बोकेर ल्याउनेमा सामेल भएका पाइएका थिए। नेपाली एयरलाइनको बैंकक, हङकङ उडानमा जाने पाइलट, एयर होस्टेजले आफ्ना ब्यागमा सुन हालेर ल्याउँथे भन्ने सुनिन्थ्यो।

पछि एकजना एयर होस्टेजले खाजा खाने नाममा रोटी भित्र लुकाएर ल्याएको सुनपछि मारवाडीको भएको बुझियो। तर त्यतिखेर निकै सीमित मात्रमा थियो। अहिले दैनिक जसो दर्जनौं किलोका किलो सुन आइरहेको सुनिन्छ।

यो सबै सरकार कै सेटिङमा भएको कुरा निर्बिबाद छ। यसबाट सरकारमा बस्ने प्रमुख व्यक्तिदेखि सम्बन्धित मन्त्री, सचिव, प्रहरीका हाकिम तथा भन्सारका कर्मचारीले पैसा कमाउने अवसर पाइरहेका छन्।

जसरी खुला सिमानाबाट चोरी छिपी ल्याउने सामानबाट सम्बन्धित प्रशासन प्रहरी तथा बिभागीय मन्त्री सचिवले फाइदा लिइरहने कुरा लुकाइरहनु पर्दैन। पञ्चायती व्यवस्थामा बिदेशी सामान भारतमा चोरी निकासी हुने गथ्र्यो। यसबाट भारतीय रुपैयाँ आउने हुँदा सरकारले पनि चुपचाप तरिकाबाट स्विकृति गरेको बुझिन्थ्यो।

अब नेपालमा यसरी कहिले नरोकिने गरेर अवैधरुपमा सुन तस्करी भइरहने कुरालाई अब सरकारले वैध गरे हुन्छ। किनकि अवैधरुपमा आउँदा सम्बन्धित तस्कर व्यापारी र केही नेता कर्मचारीलाई मात्र फाइदा भइरहन्छ भने कानुनीरुपमा ल्याउँदा राष्ट्रलाई करबाट राजस्वमा धेरै फाइदा हुनेछ।

सुनको वैध ब्यापारबाट नेपाललाई कुनै बेफाइदा छैन। यदि भारतले बिरोध गरेमा हामी सुरक्षा निकायलाई बढी सतर्क गराएर उक्त रकम आतंककारीको हातमा पर्न दिने छैनौं भन्न सक्नुपर्छ।

शायद हाम्रो देशमा यसरी सुनलाई खुला रुपमा आउन जान दिने हो भने धेरै रकम वैधरुपमा नेपालको आम्दानी हुनेगर्छ। जसरी स्विजरल्याण्डमा जति रकम सुन जम्मा गरेपनि पाइन्छ तर त्यो रकम प्राय गोप्य हुन्छ।

यसरी रकम जम्मा गर्न दिएर आज स्विजरल्याण्ड धनी भएको छ। यो बिषयमा कानुनविद् स्वागत नेपालको भनाइ पनि बाहिर आएको छ। त्यस्तै गरेर रक्त चन्दनलाई पनि सरकारले राजश्व लिएर आयत र निर्यात गरे हुन्छ।

अब सरकारले यस्ता बिषयमा ध्यान देओस् जुन देशको आम्दानीमा बढोत्तरी हुन्छ त्यस्ता कार्यमा बिचार गरेर नीति तथा कानुन ल्याओस्। यति हिम्मत गर्न सरकारले लाज मान्नु पर्दैन। राजस्व बढ्ने कुराले देशको हितमात्र गर्ने होइन यसबाट सरकारप्रति जनताको समर्थन बढ्ने छ।

त्यस्तै गरेर नेपालमा उत्पादन हुने गाँजा खेतीलाई पनि कुनै लाज नमानी अब बैधता प्रदान गरियोस्। यसबाट धेरै किसान लाभान्वित भएर देशलाई बिदेशी मुद्रापनि प्रशस्तै आम्दानी हुनेछ।

पहिला अमेरिकाको दवावमा रोकिएको गाजा खेती अहिले अमेरिका लगायत धेरै बिकसित देशमा खुला गरिसकिएको छ। अत्यन्त महत्वपूर्ण औषधिको रुपमा प्रयोग हुने गाँजा अहिले औषधिको लागि हामीले बिदेशबाट आयत गर्न बाध्य हुनु परेको छ। यसबाट उत्पादन हुने कपडा निकै महँगा पनि हुन्छन्। गाँजालगायतको बस्तु निर्यात बढेर देशको ब्यापार घाटा घट्ने छ।

यसको सदुपयोग गर्न सके देशको राजश्व धेरै बढ्ने छ। यसको लागि कडा नियम बनाइ तोकिएको स्थानमा स्थानीय निकायको समन्वयमा सरकारबाट ठेक्का पट्टा गरी नियन्त्रित रुपमा उत्पादन र निर्यात गर्न सकिन्छ।

आज हाम्रा युवाहरु स्वदेशमा रोजगारी गर्न नपाएर अरब मलेसियामा मात्र होइन युद्ध भइरहेको देशसमेत ज्यानको बाजी लगाएर गइरहेका छन्। भरखर मात्र रसिया युक्रेनको युद्धमा नेपाली ६ जना युवा मरेको खवर आएको छ।

यो अत्यन्त दुखदायी घटना हो। अहिले कतिपय युवाहरु लाखौं रुपैयाँ खर्च गरेर ज्यानको बाजी राखेर अमेरिका युरोप पुगिरहेका छन्। यी सबै आफ्नो परिवार पाल्नको लागि हो। हाम्रा कम्युनिष्ट नेताहरु कुनै दिन बिदेशी भर्ती केन्द्र बन्द गर भनेर ठूलो ठूलो स्वरमा नारा लगाउँदै थिए।

भारतीय बिस्तारबाद, अमेरिकी साम्राज्यबाद भनेर घनघोर बिरोध गर्ने आज उनीहरुको बोली र ब्यबहार ठिक उल्टो भएको छ। युवाहरुलाई बिदेश जान प्रोत्साहन गरिन्छ। नेताहरु बिदेशीको चाकडी गर्छन्। उनीहरुको हितमा देशलाई बन्दक राख्छन्।

स्वदेशमा युवालाई रोकेर राख्ने बिभिन्न आयमुलक खेती, ब्याबसायतर्फ युवाहरुलाई प्रोत्साहन गर्न कुनै सहयोग र सल्लाह दिएको देखिँदैन। कमसेकम गाँजा खेतीलाई वैध गर्ने हो भनेपनि धेरै युवाहरु स्वरोजगार गरेर आफ्नै गाउँमा बस्न पाउने छन्।

गाँजा खेतीको लागि जंगली पशु बाँदरबाट सुरक्षा गरिरहनु नपर्ने हुन्छ। अरुजस्तो धेरै पानी पनि लगाइरहनु नपर्ने सजिलो खेती हो। अहिले १-२ केजी गाँजा बेचेर केटाकेटीको स्कुलको फी तिर्ने किसानलाई प्रहरीले पक्राउ गरेर जेलमा सडिनु पर्ने हुन्छ। अनि ठूला तस्करलाई भने सम्मान गरिन्छ।

अहिलेको अत्यन्त बदनाम सरकार र दलका नेताले यसतर्फ सोचेर जनताको जीवनस्तर उकास्न कुनैपनि कार्यलाई बैध गरेर भएपनि अघि बढाइयोस्। नत्र सुनको तस्करका मुख्य मालिक कहिल्यै पक्राउ नपर्ने खाली गाउँका सोझा साझा किसान गोठाला मात्र पक्राउ पर्ने नीति यो सरकारले बन्द गर्नैपर्छ।

आज किसानले लिएको ऋण वर्ष दिनमा डबल हुने अनि त्यही ऋण तिर्न नसकेर उनीहरु आत्महत्या गर्न बाध्य पार्ने पनि उही सरकारको तस्कर र दलालको मात्र हित हेरेर बनाइएका आर्थिक नीतिको कारण हो।

यदि समयमै सरकारले जनताको हितमा ठोस नीति बनाएर कार्यन्वयन नबनाउने हो भने नेपालमा युवा शून्य हुने दिन आउने छ। बाँकी भएका केही झोले पनि भड्किएर सरकारको बिरुद्धमा बिद्रोह गर्ने संभावना बढ्दै छ। सरकारले हिम्मत गरेर राष्ट्र र जनताको हितमा ठोस निर्णय गरोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *