एनसेलका लगानीकर्तालाई थरका आधारमा खेदो खन्दा आचार्यहरुको गुनासो, भन्छन् ‘उनीसँग हाम्रो गोत्र मिल्दैन’

डिसी नेपाल
२८ मंसिर २०८० १३:१८

काठमाडौं । निजी स्वामित्वको टेलिकम कम्पनी एनसेलको स्वामित्व खरिदबिक्रीमा ठूलो रकम राजश्व छली भएको आरोप लागेपछि अहिले त्यसको अनुसन्धान भइरहेको छ । सरकारले नै यो कारोबार शंकास्पद देखिएको स्वीकार गर्दै त्यसको छानबिनका लागि उच्चस्तरीय समिति नै गठन गरेको छ ।

देशमा अहिले एनसेल प्रकरण सबैभन्दा धेरै चासोको विषय बनेपछि यसको चर्चा बढ्नु र संचारमाध्यममा यो विषयले प्रमुखताका साथ स्थान पाउनु पनि स्वभाविक नै हो । तर, पछिल्लो समय यो प्रकरणको चर्चामा आफूहरुको थरलाई समेत मुछेर विभिन्न खालका आरोप र टिकाटिप्पणीहरु भएको भन्दै आचार्य थरका नागरिकहरुले आपत्ति जनाएका छन् ।

एनसेलको स्वामित्व मलेसियाको एक्जियटा कम्पनीबाट खरिद गर्ने लगानीकर्ताको नाम सतीशलाल आचार्य हो । उनको यही थरलाई लिएर सामाजिक संजालमा नकारात्मक टिप्पणी भएको भन्दै आचार्य थर भएकाहरुको संस्था आचार्य बन्धु समाज – नेपालले आपत्ति जनाएको हो ।

समाजले एक वक्तव्य नै जारी गर्दै भनेको छ ‘एक जनप्रतिनिधिले आचार्य थरको विषयमा खुला रुपमा थरकै बदनाम हुनेगरी एनसेलसँग जोडेपछि समाज विज्ञप्ति जारी गर्न बाध्य भएको हो ।’ समाजले एनसेलका लगानीकर्ता आफ्नो संस्थाको सदस्य नरहेको र उनको गोत्र समेत कौडिन्य (आचार्य थर हुनेहरुको गोत्र) नभएको पाइएको समेत दावी गरेको छ । समाजले व्यवसायी आचार्यलाई नियमअनुसार कर तिर्न पनि आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *