छोटो मीठो, लामो अमिलो

लामो समय सत्तासीन रहन खोज्नु प्रायः हरेक शासकको महत्त्वाकांक्षा देखिन्छ। सत्तामा दीर्घ कालसम्म टिकिरहन यस्ता महत्त्वाकांक्षी शासकहरूले अनेकौँ प्रपञ्च रच्ने गरेका छन्।

तथापि यस्ता महत्त्वाकांक्षी शासक दुनियामा लोकप्रिय हुन सकेका छैनन्। सत्तामा टिकिरहन खोज्ने अर्थात् दीर्घ कालसम्म शासन चलाएका शासकभन्दा लघु समयावधि मात्र पदासीन शासक, प्रशासक तथा राजनेतालाई लोकले स्मरण गरेका दृष्टान्त छन्।

यस्तै पृष्ठभूमिमा नेपालमा अल्पकालीन समय मात्र राजकाज गर्ने शासक, प्रशासक तथा राजनेताले पाएको उत्साहजनक सम्मान, सम्झना र प्रशंसाका विषयको चर्चाबाट वर्तमानका राजनेताले पनि इतिहासबाट शिक्षा लिन सकुन् भन्ने मनसायप्रेरित भई निम्न दुई प्रसंगको चर्चा गर्ने आजको मेलो छ।

प्रसंग- १

जंगबहादुरले स्थापना गरेको जहानिया राणा शासन सन् १८४६ देखि १९५१ सम्म करिब करिब १०४ वर्ष टिक्यो। यस अवधिमा नौजना राणाहरूले श्री ३ महाराज हुने अवसर प्राप्त गरे। तीमध्ये सबैभन्दा बढी चन्द्रशमशेर २९ वर्ष र सबैभन्दा कम देवशमशेर ११४ दिन राजकाज चलाएका थिए।

देवशमशेर एकदमै छोटो अवधि मात्र सत्तासीन रहे पनि नेपाली जनमानसमा उनको अमिट छाप रहिआएको छ। चन्द्रशमशेरले २९ वर्षसम्म नेपालको राजकाज चलाए। उनको शासनकालमा देश र जनताले धेरै कुरा पाए तापनि नेपालीहरूको मनमा उनीप्रति सम्मान र श्रद्धा भने देखिँदैन।

देवशमशेर लोकप्रिय बन्नुका प्रमुख कारणहरू थिए, गोरखापत्रको प्रकाशन सुरु गर्नु, देशका विभिन्न स्थानमा सुझाव पेटिका राख्नु, राजधानी तथा मोफोसल दुवैतिर भाषा पाठशालाहरू खोल्नु तथा सतीप्रथाजस्तो कुप्रथालाई निरुत्साहित गर्नु।

यस्तै अन्य कतिपय नवीन कुराहरू पनि उनले गरेका थिए। चन्द्रशमशेरले पनि दासप्रथा तथा सतीप्रथाको अन्त्य गरे। त्रिचन्द्र कलेजको स्थापना गरे। पहिलो जलविद्युत् आयोजना सञ्चालनमा ल्याए। गोरखा भाषा प्रकाशनी समिति स्थापना गरे। सिंहदरबार निर्माण गर्न लगाए।

सुगौली सन्धिबाट गुमेको नेपालको प्रतिष्ठा सन् १९२३ को सन्धिबाट पुनरुत्थान गरे। फ्रान्ससँग दौत्य सम्बन्ध कायम गरे। यीलगायत देशको सामाजिक, आर्थिक र कुटनैतिक क्षेत्रमा चन्द्रशमशेरकै पालामा केही उल्लेखनीय कार्यहरू पनि भएका छन्। तथापि उनी सर्वप्रिय बन्न सकेनन्।

देवशमशेर अत्यन्त भोगी र जुवाडे व्यक्ति थिए। रसरङमा रमाउने स्वभावका र प्रशासनिक क्षमता नभएका शासक थिए। उनले आफ्नो एक सय १४ दिनको शासनकाल सिन्दुरयात्रा र स्वागत कार्यक्रममा नै बिताए। वीरशमशेरकै पालामा उठान भएका कार्यहरू उनको पालामा पूरा भएका थिए तर पनि उनकै स्तुतिगान हुँदै छ।

चन्द्रशमशेरलाई धुर्त, राज्यकोषको सम्पत्ति आफ्नो नाममा विदेशी बैँकमा जम्मा गर्ने राज्यघाती, आफ्ना छोराछोरीहरूका लागि धन सम्पत्ति थुपार्ने स्वार्थी, राणाहरू बीचमा विभाजन ल्याई २००७ साल परिस्थिति सिर्जना गर्ने प्रमुख कारक, अंग्रेजका अन्धभक्त, राष्ट्रिय स्वार्थविपरीतको परराष्ट्र नीति सञ्चालन गर्ने अदूरदर्शी शासक आदि नानाथरीका पगरी लगाइदिने गरिएको छ।

यसको मूल कारण उनको लामो शासनकाल नै थियो भन्न सकिन्छ। तसर्थ जतिसुकै राम्रो काम गरे पनि लामो समय शासनसत्तामा रहने र स्वार्थमोहबाट विमुख हुन नसक्ने व्यक्ति लोकप्रिय हुन सकेका छैनन्।

प्रसंग २

नेपालको राजनीतिमा स्थापित नाम हो, बिपी कोइराला। नेपालको पहिलो सशक्त राजनीतिक पार्टी नेपाली कांग्रेस (नेपाली कांग्रेस पार्टी स्थापना हुनुपूर्व अखिल भारतीय नेपाली कांग्रेस, नेपाल राष्ट्रिय कांग्रेस, नेपाल प्रजातान्त्रिक कांग्रेस आदि नामको राजनितिक दल) का संस्थापक सदस्य, सम्बत् २००७ देखि २०१७ सम्मको नेपाली राजनीतिका प्रमुख पात्र, महान् समाजवादी चिन्तक, नेपाली साहित्यका सर्वप्रिय सर्जक, सत्ताभित्र तथा बाहिर दुवैतिर अधिक सम्मानित र कमै मात्र विवादित व्यक्तित्व पनि हुन् विश्वेश्वर प्रसाद कोइराला।

अर्थात् उनी नेपाली इतिहासका सर्वाधिक चर्चित पात्र हुन्। उनको प्रधानमन्त्रीको कार्यकाल भने १८ महिना मात्र रह्यो। उनको प्रधानमन्त्रीत्व कालमा भूमि सुधार, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा व्यापक परिवर्तन आयो। साथै अन्य क्षेत्रमा पनि पूर्वाधार निर्माण गर्ने कार्य धेरै भए। त्यसको लेखाजोखा गर्ने पनि आजको मेलो होइन। तर, महेन्द्रको २०१७ सालको कदमले उनलाई कहिल्यै उठ्न नसक्ने गरी थेचारिदियो।

बिपी कोइरालाले सबै दृष्टिकोणले रामराज्य बनाउन खोजेका थिए भन्ने टिप्पणी पनि उपयुक्त होइन र भन्न सुहाउँदैन पनि। कुनै व्यक्ति ३२ लक्षणले युक्त हुन्छ भन्ने कुरा पनि असत्य साबित भइसकेको छ। हो, उनमा पनि केही कमी कमजोरीहरू थिए।

तथापि उनको नाम आज पनि सबै नेपालीले श्रद्धापूर्वक लिन्छन्। यसको कारण एउटै छ, उनको छोटो शासनकाल। यदि उनी लामो समयसम्म सत्तासीन रहेको भए उनको नाम पनि चन्द्रशमशेरकै काँटमा आउने थियो होला भन्ने अनुमान गर्न सकिन्छ।

बिपीले स्थापना गरेको कांग्रेस र उनैबाट दीक्षित, प्रशिक्षित, निर्देशित तथा पोषित अनुयायीहरू कालान्तरमा नेपाली राजनीतिका मियो बने। सम्बत् २०४६ पश्चात् धेरै लामो समय शासनसत्ता नेपाली कांग्रेसकै नेतृत्वमा रह्यो।

यसै पार्टीका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा तथा सुशील कोइराला जस्ता व्यक्ति प्रधानमन्त्री बन्न पुगे। यी चार महारथी मध्ये कृष्णप्रसाद भट्टराई र सुशील कोइराला कम विवादमा परेका छन्। यसको मूल कारण पनि उनीहरूको सत्ता आस्वादनको समयावधि छोटो हुनु नै हो।

सम्बत् २०४६ पछिको नेपालको राजनैतिक रंगमञ्चमा देखापरेका कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र मनमोहन अधिकारीका शासनकालमा भएका राम्रा कार्यहरूको नेपाली समाजले स्मरण गरिरहेको छ।

भट्टराईले २०४७ को संविधान जारी गर्न, आम निर्वाचन गराउन र असहज परिस्थितिमा नेपाली राजनीतिलाई निकास दिन सफल भएका जस्ता कार्य स्मरणयोग्य रहेका छन्।

मनमोहन अधिकारी आफ्नो नौ महिने कार्यकालमा वृद्धभत्ता एवं सुशासन जस्ता केही उल्लेख्य कार्यले वामपन्थीप्रति नेपाली जनमानसमा रहेको परम्परागत धारणा परिवर्तन गर्न सफल भए। विसं २०७२ सालको संविधान जारी हुनुमा मानिसहरूले सुशील कोइरालाको गुन मानेका छन्।

गिरिजाप्रसाद कोइरालाको शासनकालमा पनि सम्झनलायक धेरै कार्य भए। सबैभन्दा प्रमुख कार्यमा त माओवादीलाई राजनीतिको मूल प्रवाहमा ल्याई द्वन्द्वबाट मुलुकलाई राहत दिनु थियो। यस्तै प्रजातन्त्रको उपलब्धिलाई भुइँसम्म पुर्‍याउन पनि उनको उल्लेखनीय भूमिका रहेको थियो।

उनको योगदानको लेखाजोखा गर्नतर्फ पनि नलागौँ। यसै गरी शेरबहादुर देउवाका पनि केही असल कार्य होलान् हुँदै पनि रहलान्। तथापि किन यी दुवैको सराहना कम भयो र आलोचना बढी हुँदै छ?

यसको चित्तबुझ्दो जवाफ पनि इतिहासले नै दिएको छ। उनीहरूले सत्तामा टिकिरहन गरेका प्रपञ्च, महत्त्वाकाङ्क्षा, चालबाजी तथा राजनीतिक स्वार्थका लागि भएका घातप्रतिघात र अन्तर्घात जस्ता मुलुकलाई दीर्घकालसम्म नकारात्मक प्रभाव पार्ने प्रकृतिका कार्यहरूको सूची लामै होला; जसबाट जनमानसमा राम्रा काम बिर्सने र नराम्रा काम सम्झने अवस्था सिर्जना भयो।

वर्तमानमा पनि सबै राजनीतिक पार्टीका हस्तीहरूको प्रत्यक्षपरोक्ष कार्यशैली र महत्त्वाकाङ्क्षाका कारण उनीहरूका राम्रा कार्यहरू पनि ओझेलमा पर्दै गएको ध्रुवसत्यप्रति सम्बन्धित सबैले मनन गरेमा इतिहासमा सुनाम हुनेछ। सबै नेतालाई श्री परमेश्वरले सुबुद्धि प्रदान गरुन् । यही प्रार्थना सम्पूर्ण नेपालीजनले गरेका छन्। अस्तु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *