सात दिनदेखि बेपत्ता ग्रीसको अवस्था अझै अज्ञात, खोजतलासका लागि परिवारको आग्रह
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देव बेपत्ता भएको सातदिन वितिसक्दा समेत अवस्था अज्ञात रहेको परिवारले जनाएको छ ।
गत बुधवार दिउँसोदेखि भाइ ग्रीसको अवस्था अज्ञात रहेको दिदी निर्मला देवले बताईन् । उनले भनिन्,‘ बेपत्ता भएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागि निवेदन दिँदा समेत अहिलेसम्म भाईको अवस्था सार्वजनिक हुन नसकेपछि घरमा चुल्हो बल्न सकेको छैन् ।’
छोराको चिन्ताले सात दिनदेखि ग्रीसका आमा बाबु निदाउन सकेका छैनन् । ग्रीसका बुबा उपेन्द्र देवले भने,‘छोराको कलेज, साथीहरू, छिमेकी, आफन्त हरेक ठाउँमा सोधपुछ गरिसके कतै पत्तो लाग्न सकेको छैन् । प्रहरीले पत्तो लगाउँछ भन्ने ठूलो आशा थियो । प्रहरीलाई सोध्दा खोज्दै छु भन्ने प्रतिक्रिया दिँदै आएको छ तर कुनै पत्तो लाग्न नसकेपछि चिन्ता झन बढ्दै गएको छ ।’
‘घरमा कोही आयो भने छोरा आयो कि भन्ने लाग्छ । कसैको फोन आउने बित्तिकै छोरा भेटिएको खबर दिएको हो कि भनेर आशा जागेर आउँछ ।’ तर त्यो आशा निराशामा परिणत हुनु बाहेक केही हुन नसकेको ग्रीसको आमाको दुखेसो छ ।
गत बुधबार दिउँसो सवा २ बजे टियुशन पढ्नका लागि निस्केका ग्रीस अझै सम्म फर्केका छैन्न । ग्रीस राजविराज स्थित रहेको मिसन कलेजमा कक्षा १२ मा अध्ययन थिए । उनी निस्केको दिन उनले ज्याकेट, स्वेटर तथा जुत्ताको समेत लगाएका थिएनन् । सधैं मोबाइल बोकेर ट्युसन जाने गरेपनि त्यसदिन मोबाइल समेत नबोकी उनी घरबाट निस्केका थिए ।
उपेन्द्रका तीन सन्तान दुई छोरी र एक छोरा छन् । ग्रीस सन्तानमा कान्छो हुन् । यता उनको परिवारले प्रशासनिक निकाय, मानवअधिकारकर्मी, पत्रकार लगायत हरेक पक्षलाई ग्रीसको खोज तलासका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment