भारतसँग विवाद चर्किएका बेला माल्दिभ्सका राष्ट्रपति चीन पुगे

डिसी नेपाल
२४ पुष २०८० १४:०५
248
Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आपत्तिजनक टिप्पणी गरेको विवादका बीच माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीन पुगेका छन् ।

उनले यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । मुइज्जुको भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन धेरै सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।

पाँचदिने भ्रमणका लागि सोमबार चीन आइपुगेका मुइज्जुलाई चिनियाँ उच्च अधिकारीले स्वागत गरेका छन् । यस भ्रमणमा मुइज्जुसँग उनकी पत्नी साजिदा मोहम्मद र उच्चस्तरीय प्रतिनिधिमण्डल पनि छन् ।

मोहम्मद मुइज्जुको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्समा चीनको धेरै प्रभाव रहेको मानिन्छ। राष्ट्रपति चुनावको अभियानका क्रममा उनको पार्टीले ‘इन्डिया आउट’को नारा दिँदै माल्दिभ्समा भारतीय सेनाको उपस्थिति अन्त्य गर्ने बताएको थियो ।

मुइज्जु अघि माल्दिभ्सका राष्ट्रपतिले पदभार सम्हालेपछि पहिलो विदेश भ्रमण भारतबाट गर्थे । मुइज्जुले यो परम्परा परिवर्तन गरे। उनले पहिलो विदेश भ्रमणका लागि टर्की रोजे र अहिले चीन पुगेका छन् ।

हालै, प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरमा माल्दिभ्सका नेताहरूको टिप्पणीलाई लिएर विवाद सुरु भयो। माल्दिभ्स सरकारले आइतवार एक विज्ञप्ति जारी गर्दै उक्त बयानबाट अलग रह्यो। मिडिया रिपोर्टका अनुसार टिप्पणी गर्ने नेताहरूलाई सरकारबाट निलम्बन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *