कविता : महाशून्य
बिहान सखारै झुल्किने घामसँग माया साट्छु
दिनसगै बड्ने प्रबृत्तिहरूमा माया बाँड्दै जान्छु
अनेकौं सीमिततालाई हरपल आफैंमा लुकाउँदै
साँझको मलिन चन्द्रसँग बचेको माया साट्छु
अनि आफूसँग आफैंलाई शून्यतामा पाउँछु।।
अनेकौं अन्तरद्वन्द्वको भूमरीमा जीवन शैली
कहिले रिक्तताको अवस्थामा प्रश्नहरू बन्छ
कहिले अन्तरद्वन्द्वको भूमरीमा रूमलिन्छ
अर्थहीन यात्राको निम्ति समय आफ्नै प्रश्न बन्छ
अनि आफूसँग आफैलाई शून्यता सृजना गर्छ।।
हरेक सम्बन्धको अर्थमा बिबेकहीनता छ
र पनि अपनाउने अनौठो जीवन शैली छ
बेअर्थका रसमा जीवन अठेस मठेस हुँदा
किन्चित नाट्य शास्त्रीहरू मंचन गरिरहन्छन्
अनिआफूसँगआफैलाई शून्यतामा हिँडाइरहछन्
हरेक सम्बन्धको अपयवमा दु:ख साट्न खोज्दा
अनेकौं सफल प्रतिद्वन्द्वताहरूको जन्म हुन्छ
कतै यसले अभियान लिन्छ कतै बदला बन्छ
यो यस्तै क्रमबद्धता भित्र जीवनको शैली छ
यसै शून्यतामा शून्य जोड्दै महाशून्यता बन्दछ।।
एउटा स्वतन्त्र अस्तित्व भित्रको शून्यतामा
कैयन सपनाहरूको ठेलमठेलले मलजल गर्दै
अनन्तसम्म आफ्नै निम्ति शून्यता सृजना गर्छ
टुटेका फुटेका आस्थाहरूको बिकारहरूमा
अनेकौं शून्यतामा शून्य जोड्दै महाशून्य बन्दछ।।
विरूवा, भक्तपुर
No ads found for this position


Facebook Comment