कोशीमा ‘फ्लोर क्रस’को माओवादी रोइलो : निर्वाचन आयोगले चिन्दैन, कांग्रेसले मान्दैन

मदन कोइराला
१४ माघ २०८० ११:२३

काठमाडौं। कोशी प्रदेशमा मुखैमा आएको मुख्यमन्त्री गुमाएको माओवादी केन्द्र राष्ट्रियसभा निर्वाचनमा पनि जित्ने बलियो आशा गरेको सिट गुमाएपछि रन्थनिएको छ।

एक सिट गुमाएको चोटमा आक्रोशित माओवादीले यसको आरोप नेपाली कांग्रेसमाथि थोपरेको छ। माओवादीले कांग्रेसलाई ‘बेइमान’को आरोप लगाएको छ। माओवादीले आफूले सिट गुमाउनुमा कांग्रेसको आन्तरिक किचलोको प्रभाव गठबन्धनमा परेको निष्कर्ष निकालेको छ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेको माओवादीका उम्मेदवार चम्पा कार्की पराजित हुँदा कांग्रेस उम्मेदवार कृष्ण सिटौला विजयी बनेपछि माओवादीले कांग्रेसको आन्तरिक किचलोका कारण पार्टीले राष्ट्रियसभामा एक सिट गुमाएको प्रतिक्रिया दिएको छ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको थियो। तर कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेको सहयोगमा आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि माओवादीले मुखैमा आएको मुख्यमन्त्री गुमाएको थियो।

गोप्य मतदानमा कसले कसलाई मत दियो भन्ने थाहा हुँदैन र थाहा पाउन पनि मिल्दैन मतदाताले आफूले चाहेअनुसार मतदान गरेको देखियो तर कांग्रेसकै मतदाताले यताउता गरेको भन्ने आधार छैन। अरु दलका जनप्रतिनिधिले पनि यताउता गरेको हुन सक्छ।

माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा मओवादी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित बनेपछि माओवादीले कांग्रेसको आन्तरिक किचलोका कारण आफ्ना उम्मेदवारले पराजय व्यहोर्नु परेको जनाएको छ।

माओवादी केन्द्रमा महासचिव देव गुरुङले कांग्रेसको आन्तरिक किचलोका कारण राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवार पराजित बनेको बनेको बताए।

‘राष्ट्रिय सभा निर्वाचनमा हाम्रो उम्मेवार किन पराजित बन्नु भयो भन्ने कुरा सार्वजनिक नै छ,’ महासचिव गुरुङले डिसी नेपालसँग भने, ‘यो विषय माओवादी भन्दा पनि कांग्रेसको आन्तरिक विषय हो। यो विषयमा उहाँहरुले जवाफ दिनुहोला।’

कांग्रेसको आन्तरिक किचलोका कारण आफ्ना उम्मेदवार पराजित बनेपनि यही कारणले गठबन्धनमा कुनै असर नगर्ने महासचिव गुरुङको भनाइ छ।

‘कांग्रेसको संस्थापन पक्षले यो विषयले गठबन्धनमा कुनै असर पर्दैन भनेर सार्वजनिक रुपमा बोल्नु भएको छ,’ उनले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्नेतर्फ सचेत हुनुपर्छ। तर यही कारणले गठबन्धनमा भने कुनै असर पर्दैन।’

तर माओवादीभित्र राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै कांग्रेससँगको गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ। विशेष गरी उपमहासचिव वर्षमान पुनले आफूहरु गठबन्धनप्रति इमान्दार भएपनि कांग्रेसले बेला बेलामा धोका दिने गरेको भन्दै गठबन्धनका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने पक्षमा उभिएका हुन्।

उपमहासचिव पुन यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष सहयोगीमा रुपमा काम गरिरहेका छन्। माओवादीभित्र एकथरी नेताहरुले कांग्रेसभन्दा एमालेसँग गठबन्धन गर्नुपर्ने तर्क गर्दै आएका छन्।

उनीहरुले ०७९ मा भएको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पार्टीलाई क्षति पुगेको भन्दै एमालेसँगको गठबन्धनले मात्रै पार्टीलाई फाइदा पुग्ने जिकिर गर्दै आएका छन्। विगतमा एमाले र माओवादीबीच एकीकरण नै भइसकको भन्दै एमाले र माओवादीबीच गठबन्धन गर्दा जनताले पनि विश्वास गर्ने दाबी गर्दै आएका छन्।

गोप्य मतदानमा मतदाता स्वतन्त्र हुन्छन् र उनीहरुले आफूलाई मन पर्ने जुनसुकै उम्मेदवारलाई मतदान गर्न पाउँछन्’ थपलियाले भने ‘मतदानमा पार्टी वा अरु कसैको निर्देशन वा दबाब पालना गर्नुपर्ने कुनै बाध्यता छैन।

तर माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल भने तत्काल वर्तमान गठबन्धनको विपक्षमा छैनन्। दाहालले गठबन्धनप्रति कांग्रेस इमान्दार रहेको भन्दै यही गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा रहेको उनी निकट एक नेताले बताए।

तर कोशी प्रदेशका गठबन्धनका नेताहरुले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनकी साझा महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारवाही गर्ने बताएका छन्। कोशी प्रदेशका माओवादी नेताहरुले कांग्रेसले राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै आएका छन्।

उनीहरुले फ्लोर क्रस गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने जनाएपनि उनीहरुको यो प्रयास गैरकानुनी हो। कानुनअनुसार राष्ट्रिय सभामा गोप्य मतदान हुने भएकाले कसले कसलाई मतदान गरेको थियो भन्ने जानकारी कसैले सार्वजनिक गर्न पाइँदैन।

कसले कसलाई मतदान गर्‍याे भन्ने कुनै मतदाताबाहेक अन्य कुनै व्यक्तिलाई थाहा भएमा उसले यो जानकारी चुहाउन पाउँदैन। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार गोप्य मतदानमा ‘फ्लोर क्रस’ वा ‘ह्वीप उल्लंघन’ जस्ता कुराको कुनै अस्तित्व नै हुँदैन।

‘गोप्य मतदानमा मतदाता स्वतन्त्र हुन्छन् र उनीहरुले आफूलाई मन पर्ने जुनसुकै उम्मेदवारलाई मतदान गर्न पाउँछन्’ थपलियाले भने ‘मतदानमा पार्टी वा अरु कसैको निर्देशन वा दबाब पालना गर्नुपर्ने कुनै बाध्यता छैन।’

थपलियाका अनुसार गोप्य मतदानमा मतदातालाई निर्देशन वा दबाब दिनुचाहिँ गैरकानुनी काम हो। र, यस्तो दबाब दिनेहरुविरुद्ध कुनै मतदाताले कानुनी उपचार खोजेमा दबाब दिनेमाथि प्रचलित कानुनअनुसार कारवाही हुन सक्छ।

माओवादीले कांग्रेसले बेइमानी गरेको आरोप लगाए पनि कांग्रेसले भने यो आरोप निराधार भएको बताएको छ। ‘गोप्य मतदानमा कसले कसलाई मत दियो भन्ने थाहा हुँदैन र थाहा पाउन पनि मिल्दैन’ कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले डिसी नेपालसँग भने, ‘मतदाताले आफूले चाहेअनुसार मतदान गरेको देखियो तर कांग्रेसकै मतदाताले यताउता गरेको भन्ने आधार छैन।  अरु दलका जनप्रतिनिधिले पनि यताउता गरेको हुन सक्छ।’

यसले गठबन्धनमै असर पर्ने माओवादीको दाबीबारे कोइरालाले यसैलाई आधार बनाएर गठबन्धनमा विवाद सिर्जना गर्न नहुने बताए।

‘उहाँहरुले गठबन्धनबारे समीक्षा गर्न चाहनुहुन्छ भने समीक्षा गर्न सकिन्छ तर यही मतदानकै विषयलाई लिएर गठबन्धनमा बेइमानी भएको वा गठबन्धनको औचित्य नभएको जस्ता बहस गर्नुको औचित्य छैन’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *