अमेरिकाले नेपाली डाक्टरमाथि लान्छना लगाएको विरुद्ध डेमोक्रेटिक पार्टीका सांसद उम्मेदवारको अभियान

डिसी नेपाल
२८ माघ २०८० १०:५५

काठमाडौं। अमेरिकामा काम गर्न चाहने डाक्टरहरुलाई इजाजत पत्र प्रदान गर्नका लागि अमेरिकाको युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (युएसएमएलइ) ले नेपालमा संचालन गरेको परीक्षामा अनियमितता भएको आरोप लगाउँदै नेपाली फिजिसियनहरुको परीक्षाफल नै रद्द गरेको विज्ञप्ति जारी गरेपछि यसमा गहिरो अनुसन्धानको माग गर्दै अमेरिकी प्रतिनिधि सभामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एड्रियन पोखरेलले अभियान सुरु गरेका छन्।

युएसएमएलइले अघिल्ला वर्षहरुमा जस्तै २०२३ मा पनि नेपालमा परीक्षा संचालन गरेको थियो । धेरै नेपाली डाक्टरहरु यो परीक्षामा सहभागी भएका थिए। डाक्टरहरुले यो परीक्षामा उत्तीर्ण भएमा उनीहरुले अमेरिकाको मेडिकल बोर्डको मापदण्ड पूरा गरेको मानिन्छ र यो परीक्षा उत्तीर्ण गरेका विदेशी डाक्टरहरुले अमेरिकामा चिकित्सा अभ्यास गर्न पाउँछन्। तर, युएसएमएलइले अचानक २०२३ मा संचालित परीक्षाको नतिजा रद्द गरिएको विज्ञप्ति निकालेका थियो।

युएसएमएलइको विज्ञप्तिमा नेपाली डाक्टरहरुको परीक्षाफल अनपेक्षित रुपमा राम्रो भएकोले नेपालमा संचालित परीक्षामा प्रश्नपत्र बाहिरिएको वा यस्तै अन्य कुनै अनियमितता भएको आशंका गरिएको छ। यही आशंकाका आधारमा युएसएमएलइले पूरै परीक्षाफल नै रद्द गरेको बताउँदै यस विषयमा अनुसन्धान सुरु गरिएको बताएको छ।

युएसएमएलइले अनुसन्धानबाट कुनै पनि तथ्य वा प्रमाणको खुलासा हुनुपूर्व नै सबै नेपाली डाक्टरहरुको परीक्षाफल रद्द भएको घोषणा गरेपछि यसविरुद्ध अभियान सुरु भएको हो। परीक्षामा अनियमितता भएको आशंका गर्ने ठाउँ भए पनि अनुसन्धानबिना सबै डाक्टरहरुमाथि सामूहिक रुपमा आरोप लगाइएको र यसले नेपाली डाक्टरहरुको क्षमतामाथि नै प्रश्न उठेको भन्दै यसको विरोध भइरहेको छ।

डेमोक्रेटिक पार्टीका तर्फबाट भर्जिनियाको दशौं निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका एड्रियन पोखरेलले यस विषयमा अनुसन्धान गरिनु राम्रो कुरा भए पनि अनुसन्धानबिना सामूहिक रुपमा आरोप लगाइँदा नेपाली डाक्टरहरुको प्रतिष्ठामा आघात पुगेको उल्लेख गरेका छन्।

यस सम्बन्धमा पोखरेलले युएसएमएलइसहित नेशनल बोर्ड अफ मेडिकल एक्जामिनेशन (एनबीएमइ), एजुकेशनल कमिशन फर फरेन मेडिकल ग्रयाजुएट्स (इसीएफएमजी), फेडरेशन अफ स्टेट मेडिकल बोर्डस् (एफएसएमबी) लाई समेत पत्र लेखेका छन्। युएसएमएलइको परीक्षा एनबीएमइ र एफएसएमबीको मातहतमा संचालन हुन्छ।

पत्रमा उनले आशंका गरिएको अनियमिततालाई अनुसन्धान गरेर सुधार गर्नुपर्नेमा बिना प्रमाण नेपाली चिकित्सकहरुलाई सजाय दिइएजस्तो निर्णय गरिएको भन्दै यसको विरोध गरेका छन्। यो परिस्थितिले युएसएमएलइको परीक्षाको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताउँदै उनले यसले निश्चित समुदायका चिकित्सकहरुलाई बिना प्रमाण अन्यायपूर्ण तरिकाले लक्षित गरिएको बताएका छन्। उनले आफू यस विषयमा सहजीकरणका लागि तयार रहेको समेत उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *