चार महिने अभियान सफल भएको माओवादीको निष्कर्ष

कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको प्रचण्डको ब्रिफिङ

डिसी नेपाल
२९ माघ २०८० १६:४२

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको निष्कर्ष निकालेको छ। सोमबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समिति बैठकले समग्र रुपमा पार्टीको अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। अभियानका समिक्षा गर्दै माओवादीले कार्यकर्तालाई चार भागमा विभाजन गरेको छ।

सत प्रतिशत खट्ने कार्यकर्तालाई प्रसंसा पत्र वितरण गर्ने, ७५ देखि ८० प्रतिशत खट्ने कार्यकर्तालाई धन्यवाद पत्र दिने, ५० देखि ५५ प्रतिशत खट्ने कार्यकर्तालाई निर्देशन पत्र दिने र १५ प्रतिशत भन्दा कम खट्नेहरुलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। बैठकले तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण अभियान चलाउने निर्णय गर्दै यसलाई आन्दोलनका रुपमा वैचारिक बहस गरिने उनले जानकारी दिए।

त्यस्तै बैठकले जवस र मोर्चाहरुले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जवस र मोर्चाहरुको सम्मेलन गरेर पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्दै कोशी प्रदेशमा कांग्रेसबाट भएको अन्तर्घात र विभिन्न घटनाक्रमहरूले गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए। उनले कुटनीतिक क्षेत्र प्रभावकारी भएको र आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको प्रवक्ता सापकोटाले बताए।

बैठकमा विधान सम्मेलनबारे पनि छलफल भएको छ। माओवादीको विधान सम्मेलन फाल्गुन १ देखि ३ गतेसम्म चल्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *