देश बनाउने मार्ग चित्र बनाउ

पूर्ण ओली
१० फागुन २०८० ७:३२

अहिलेको सत्ताधारीले देशमा नांगो नाच देखाइरहेका छन्। सत्ताधारीबाट देशको चौतर्फी बिनास भन्दा अरु केही नहुने प्रष्ट भइसक्यो। जुन देशमा ठूला भ्रष्टचारमा मुछिएका नेता र मन्त्री, प्रधानमन्त्रीलाई कारवाहीबाट बचाइन्छ, त्यो देशमा कसरी सुशासन हुन्छ? अनि सुशासन नभइ देश बिकास हुन सम्भव छैन।

ललिता निबास काण्डमा प्रमुख ब्यक्ति पूर्व प्रधानमन्त्रीलाई कारवाहीको दायरामा पारिएन। अहिले बिशेष अदालतबाट पूरा विवरणसहित आएको फैसलामा पहिला भ्रष्टचारमा मुछिएका भनिएका बिजय गच्छेदारसहितका मन्त्रीलाई पनि चोख्याइयो।

किनकि ती बिशेष अदालतका न्यायधीशहरु कांग्रेस र माओवादीको सिफारिसमा नियुक्ति पाएका थिए भनिन्छ। त्यसले गर्दा दलहरुले सिफारिस गरेका न्यायाधीशले दलको मात्र स्वार्थ हेर्ने कुरा प्रष्ट देखियो। अब न्यायालय पनि दलका झोलेले भरिएको त होइन भन्ने शंका जागेको छ। अदालतमा निष्पक्ष र सक्षम न्यायाधीश देखिएनन्।

अहिले भर्खर मेलेम्ची आयोजनामा भ्रष्टचार भएको भनेर करोडौंको बिगो दावीसहित मेलेम्ची आयोजनामा नियुक्त भएका पूर्व प्रमुखहरुलाई अख्तियारले भ्रष्टचारमा कारवाही अघि बढायो। ठिक छ भ्रष्टहरुलाई प्रमाणसहित कारवाही गरिनु राम्रै कुरा होला। के खानेपानी मन्त्रालयमा भएका मन्त्रीलाई यो केही पनि थाहा थिएन?

बिना मगर मन्त्री हुँदा इटालियन ठेकेदारलाई कमिसन नमिलेर भुक्तानी रोक्न दवाव दिने बिना मगरलाई कारवाहीको दायरामा ल्याउनु पर्दैन? त्यही बिषयमा मन्त्री र सचिवको बिबाद भएर सचिबलाई हटाइयो तर बिना मगर प्रचण्डकी बुहारी भनेर बचाइयो। शायद अरु मन्त्री पनि भ्रष्टचारमा संलग्न छन् भने कारवाही गरिनु पर्छ।

यो खुलमखुला नेता जोगाउ कर्मचारी मात्र फसाउ भन्ने नीति अहिलेका सबै ठूला दलका ठूला नेतासहित प्रधानमन्त्रीको देखियो। अब दलका ट्रेड युनियनका कर्मचारीको के प्रतिक्रिया आउँछ? शायद दलका झोलेबाट सरकारको बिरुद्धमा बोल्ने आँट गर्न सक्छन्? सक्तैनन् किनकि उनीहरुले कर्मचारीको भन्दा ब्यक्ति र दलका हितमा मात्र काम गर्ने गरेका छन्।

मेलेम्ची आयोजना बहुदलीय ब्यबस्था आउनासाथ चिनियाँ ठेकेदारले काम सुरु गर्न लागेको बेला तात्कालीन अर्थमन्त्री रामशरण महत बिदेशको भ्रमणबाट आउनासाथ उनले रोकेको कुरा तात्कालीन जलश्रोत सचिवले मसँग कुरा गर्नु भएको थियो।

त्यो बिषयमा ८-९ वर्ष अघि नै मैले ‘नेपाल आज अनलाइन’ पत्रिकामा लेखिसकेको थिएँ। शायद त्यतिखेर चिनियाँ ठेकेदारले निर्माण गर्न पाएको भए धेरै कम बजेटमा काठमाडौंमा मेलेम्चीको पानी जनताको घर घरमा पुगिसक्ने थियो। अब रामशरण महतहरुलाई कारवाही गर्न सकिन्छ?

बालकुमारी घटनामा बिना ठूलो कारण गोली चलाएर कोरियन भाषाको परीक्षा दिन चाहने युवा बिद्यार्थीलाई गोली हानेर मारियो। त्यसको कारणमा मन्त्री प्रकाश ज्वालाले सरकारी गाडी झण्डा हल्लाउँदै भिडमा गएर बिद्यार्थीलाई उकासेको कारण भिडले सरकारी गाडी जलाएको र प्रहरीले गोली चलाएको कुरा बाहिर आयो।

यसका प्रमुख दोषी मन्त्रीलाई तुरुन्त कारवाही गरी बर्खास्त गर्नु पर्ने होइन? कि सत्तामा दरार आउला भनेर जनतालाई झनै आक्रोशित बनाउने कार्य गर्न खोजेको हो प्रधानमन्त्री प्रचण्डले।

लघु बित्त र मिटर ब्याज तथा सहकारी पीडित जनता उपत्यका बाहिरबाट पैदल काठमाडौंसम्म हिँडेर प्रधानमन्त्रीलाई भेटेर आफ्नो समस्या बारम्बार निबेदन गरिरहनु पर्ने? यो कस्तो सरकार हो? यो कस्तो संबिधान हो। प्रदेश सरकारले के हेर्छ? स्थानीय सरकारले के गर्छ। अब यो सरकार पूरा निकम्मा भइसकेको छ।

युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने जसले देशको नाम उच्च राख्न ठूलो योगदान दिए, उनलाई करणी केशमा फसाइयो। आफ्नी युवती साथीको सल्लाहमा होटलमा एक रात बिताएरसँगै फर्किएर उनी खेल्नको लागि बिदेश गए। त्यसको धेरै पछि उनै महिलाले सन्दीपलाई करणी गरेको भनी मुद्दा हालिन्। यतिबेला सन्दीपको करियर डामाडोल भएको छ।

अर्कोतर्फ देशको राजश्व लुटेर अरबौं रकम भ्रष्टचार गर्ने नेतालाई आज एक दिन जेल सजाय नहुने यो कस्तो देश हो? त्यो रकम दुर्गम जिल्लामा अस्पताल खोली दिँदा कति गरिब जनताको उद्दार हुने थियो? यसतर्फ किन सोच्तैनन् सत्ताको ताला चाबी बोक्नेहरु? कस्तो संबिधान र कानुन छ देशमा? यसलाई आमुल परिबर्तन गर्नुपर्छ।

युवाहरु स्वदेशमा बस्न सक्तैनन्। सरकार सकेसम्म युवालाई बिदेश लखेट्न खोज्छ। अनि कसले बिकास गर्छ? शिक्षा र स्वास्थ्य गरिब जनताको लागि छैन। कृषकको खेतीमा पानी छैन। काम गर्ने युवा सबै बिदेशमा अनि यो निकम्मा सरकारलाई सत्तामा किन राख्ने?

त्यसैले अब सबैले दुर्गा प्रसाईंको अभियानलाई साथ दिनुको बिकल्प छैन। राजसंस्थाबादी मात्र होइन, ठूला दलका झोले बाहेक सबै कृषक, बिद्यार्थी, बुद्धिजिवी, कर्मचारी तथा सुरक्षा निकाय समेत यो सरकारको बिरुद्धमा उठ्नै पर्ने भयो। अब दुर्गा प्रसाईंको टिमले तस्कर र भ्रष्टको तस्बीर मात्र प्रकाशन गरेर मात्र पुग्दैन।

देशको पुरा आर्थिक एजेण्डासहित युवाहरुलाई स्वदेशमा रोकेर राख्ने बृहद कार्यक्रम ल्याउनुपर्छ। यस्तै प्रकारले सिमाना सुरक्षित गर्ने योजना गरेर खुला सिमाना नियन्त्रण गर्ने कार्ययोजना तयार गर्न आबश्यक छ।

त्यसमा भारतसँग सहकार्य गरेर पनि गर्न सकिन्छ। एवं रितले बिदेश नीति, गृह नीति, शिक्षा नीति, स्वास्थ्य नीति सबै बिषयमा बिज्ञसँग छलफल गरि जनहित र देशको हितमा कार्यपत्र बाहिर ल्याइयोस्। जसले गर्दा सर्बसाधरण जनताको पनि सहभागिता बढ्ने छ।

अहिले नै को प्रधानमन्त्री, को परराष्ट्र मन्त्री, को गृह मन्त्री, को आर्थमन्त्री भन्नु भन्दा पहिला यो भ्रष्ट र अनैतिक सरकारलाई बहिर्गमन गरियोस्। त्यसको लागि बिशाल जनदबाबको आवश्यकता पर्छ।

त्यसको लगत्तै असल र निडर तथा सक्षम नेतृत्वको छनौट गरी बिभिन्न समूहका बिज्ञबाट छनौट गरी सानो आकारको मन्त्रिमण्डल बनाएर संबिधानमा आमुल परिबर्तन गरी देशको लागि नयाँ मार्ग चित्र कोरियोस्। त्यसमा सबै भ्रष्टहरुलाई कुनै मोलाहिजा नगरी हदैसम्मको कारवाही गरी सर्वस्वहरण र जेल सजाय गरिनु पर्छ।

यसको लागि दुर्गा प्रसाईंको टिममा कुटनीतिक चातुर्यता भएको बिज्ञ सल्लाहकारहरुको आबश्यकता छ। अहिलेपनि सुन्नमा आए अनुसार धेरै बिज्ञहरुले दुर्गा प्रसाईंलाई साथ दिएपनि सबै दलसँग र दलमा भएका राजसंस्थाबादीलाई अहिलेको आन्दोलनमा समेटन् पूरा प्रयास गर्न सकिएको देखिएन। सबैको साथ लिन भद्र र शालिन ब्यक्तिहरु अघि बढेर समन्वय गरिनु पर्छ।

अब जतिदिन यो अनैतिक भ्रष्ट सरकार रहन्छ त्यति दिन यो देशका अधोगति भइरहन्छ। त्यसैले “जनता छिटो जाग भ्रष्ट र देशद्रोहीहरु छिटो भाग” को नारा देशमा घन्कियोस्। अब देश बिकासको सही विस्तृत मार्ग चित्र बनाऔं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *