‘हजार सपना छोडेर’ भजन शिरोमणिको महाप्रस्थान (तस्विरसहित)

अनिल पोख्रेल
१५ फागुन २०८० १२:०६

काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएकाे छ। भजन शिरोमणिसमेत उपाधि पाएका उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो।

आचार्य गत दसैंमा लडेर घाइते भएका थिए। जसका कारण उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि घरमै आराम गर्दै आएका उनी लामो समयदेखि दूध मात्र पिएर बाँचिरहेका थिए ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको बाल्यकाल भारतको डुम्सीपाडामा बितेको थियो। धनकुटामा रोगको महामारी फैलिएपछि आचार्य परिवार त्यहाँबाट भारतको डुम्सीपाडामा बसाइँ सरेका थिए।

भक्तराजले बाल्यकालमै बुबालाई गुमाए । त्यसपछि उनको परिवारमा झनै आर्थिक समस्या आएको थियो। तथापि, आमाले चिया बगानमा मजदुरी गरेर उनलाई हुर्काएकी थिइन्। त्यतिबेला उनी आमासँग चिया बगानमा रमाउँदै गीतहरू गाउँथे।

गायक आचार्यका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत थुप्रै गीतहरू लोकप्रिय छन् । उनी भजनमा पनि त्यत्तिकै पोख्त थिए । गायक आचार्यले दर्जनौंको संख्यामा भजनहरू गाएका छन्। आचार्यले करिब ४०० वटा गीतमा स्वर तथा संगीत दिएको उनका छोरा स्वरुपले जनाएका छन् । उनको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पनि बनेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *