नेपाली कांग्रेस महाधिवेशन: युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी

डिसी नेपाल
२२ असोज २०८३ ९:२१

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा प्रवासमा रहेका नेपालीहरूबीच राजनीतिक सरगर्मी बढेको छ।

यसै क्रममा नेपाली जनसम्पर्क समिति युरोप क्षेत्रबाट अंकित वलीले लोकतान्त्रिक मूल्य-मान्यता, पार्टीको आन्तरिक लोकतन्त्र र प्रवासी नेपालीका सवालहरूलाई मुख्य एजेन्डा बनाउँदै केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

वलीले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समृद्ध नेपालको लागि सबल कांग्रेस’ भन्ने नाराका साथ आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन्।

उनले पार्टीको लोकतान्त्रिक चरित्रलाई थप सबल र संस्थागत गर्दै नयाँ पुस्ताको नेतृत्वका साथै प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्नुपर्ने कुरामा जोड दिएका छन्।

पार्टीभित्र उत्तरदायी नेतृत्व, नीतिगत पारदर्शिता र विधिको शासन कायम गर्दै युवा तथा नयाँ पुस्ताको भावना अनुसार नेतृत्व प्रणालीलाई गतिशील र प्रविधिमैत्री बनाउनु उहाँको मुख्य प्राथमिकता रहेको छ।

युरोप क्षेत्रमा लामो समयदेखि नेपाली कांग्रेसको संगठन सुदृढीकरण र प्रवासी नेपालीका सामाजिक-राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका कारण वलीको पक्षमा सकारात्मक माहौल बन्दै गएको देखिन्छ।

प्रचार अभियानमा देखिएको व्यापक सक्रियता, युरोप क्षेत्रका प्रतिनिधिसँगको प्रत्यक्ष संवाद र विचार, संगठन तथा नेतृत्वबीचको समन्वयलाई बलियो बनाउने उहाँको स्पष्ट अडानका कारण उहाँलाई केन्द्रीय सदस्यको प्रतिस्पर्धी दाबेदारका रूपमा हेर्न थालिएको छ।

महाधिवेशनको अन्तिम नतिजा प्रतिनिधिहरूले खसाल्ने मतमा नै निर्भर रहने भए तापनि, हालसम्मको प्रचार शैली, सर्वसुलभ पहुँच र राजनीतिक स्पष्टताका कारण वलीको जितको सम्भावना निकै बलियो रहेको उनको पक्षको दाबी छ।

समग्रमा, नेपाली कांग्रेसलाई अझ सुदृढ बनाउन आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र प्रवासी नेपालीको सहभागितालाई केन्द्रमा राखेर अघि बढेका वलीको उम्मेदवारीलाई यतिबेला निकै अर्थपूर्ण रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *